लगानीकर्तालाई भ्रममा राख्न यस्तो गलत तथ्यांक दिन्छ नेप्सेले
काठमाडौं । कम्पनीको बजार पुँजीकरण सेयर लगानीकर्ताका लागि महत्वपूर्ण सुचक हो । तर, सामान्य लगानीकर्ताबीच कम्पनीको प्रतिकित्ता सेयर मूल्य कम्पनीको कुल बजार पुँजीकरण भन्दा महत्वपूर्ण हो भन्ने भ्रम छ ।
आधारभूत बिश्लेषण गरेर लगानी गर्ने लगानीकर्ताका लागि त झन् प्रतिकित्ता सेयर मूल्यको खासै अर्थ हुँदैन । प्राबिधिक बिश्लेषकका लागि भने कुरा केही फरक हो । तर, हामी यहाँ आधारभूत बिश्लेषण मै केन्द्रित होऔं ।
हामी प्रतिकित्ता सेयर मुल्यमा केन्द्रित नहुनुको प्रमुख कारण के हो भने यो सँधै परिवर्तन भैराख्छ । र, प्रत्येक कम्पनीको सुचिकृत सेयर संख्या फरक फरक हुने हुँदा कम्पनीहरुकाबीच तुलना गर्न र कम्पनीको कुल मुल्याङ्कन गर्न सम्भव हुँदैन ।
तर, कम्पनीहरुको मुल्याङ्कन गर्न उपयोगी यति महत्वपूर्ण सुचक नेपाल स्टक एक्सचेन्जले गलत ढंगले गणना गरेर आफ्नो वेबसाइट राख्ने गरेको छ । जसले आम लगानीकर्तालाई कम्पनीको वास्तबिक आकारका बारे सही सुचना दिंदैन ।
नेप्सेले कसरी गलत सुचना राख्यो भन्नेमा जानु भन्दा पहिले बजार पुँजीकरणका बारे केही चर्चा गरौं ।
के हो बजार पुँजीकरण ?
बजार पुँजीकरणको गणना प्रतिकित्ता सेयर मूल्यलाई सुचिकृत सेयर संख्याले गुणा गरेर पत्ता लगाइन्छ । यो अंकले कम्पनीको कुल मुल्याङकन गर्छ । अर्थात, खुल्ला बजारमा पुरै कम्पनी खरिद गर्नुपरे कति मुल्य तिर्नुपर्छ भनेर संकेत गर्छ ।
उदाहरणको लागि, कुनै कम्पनीको सेयर मुल्य २ सय रुपैंयाँ छ । र, बजारमा २ करोड कित्ता सेयर सुचिकृत छ भने २ सय रुपैंयाँलाई २ करोडले गुणा गर्दा आउने ४ अर्ब रुपैंयाँ कम्पनीको कुल बजार पुँजीकरण भयो ।
बजार पुँजीकरणको मुख्य उपादेयता भनेको कम्पनीको मुल्याङकन गर्ने र उही क्षेत्रका र उही आकारका कम्पनीकाबीच तुलना गर्ने हो ।
सेयर बजारमा सुचिकृत कम्पनीको बर्गीकरणका लागि पनि बजार पुँजीकरणको प्रयोग हुन्छ । जस्तो, बिदेशमा कम्पनीको बजार पुँजीकरणका हिसाबले ‘स्मल क्याप’, ‘मिड क्याप’ र ‘लार्ज क्याप’को रुपमा सुचिकृत कम्पनीको बर्गीकरण गर्ने गरिन्छ ।
सामान्यतः १ अर्ब डलर भन्दा कम बजार पुँजीकरण भएका कम्पनीलाई ‘स्मल क्याप’, १ अर्ब डलरदेखि १० अर्ब डलरसम्मका कम्पनीलाई ‘मिड क्याप’ र १० अर्ब डलर भन्दा बढिका कम्पनीलाई ‘लार्ज क्याप’को रुपमा बर्गीकरण गर्ने चलन अन्तराष्ट्रिय बजारमा छ ।
नेप्सेले भने यस्तो महत्वपूर्ण सुचकलाई गलत ढंगले गणना गरेर सर्वसाधारणका लागि आफ्नो वेबसाइटमा राखेको छ ।
उदाहरणको लागि नबिल बैंकलाई लिउँ । नेप्सेको वेबसाइटका अनुसार नबिलको ६ करोड १८ लाख ३५ हजार ४ सय ४ कित्ता सेयर नेप्सेमा सुचिकृत छ । र, नबिलको अन्तिम कारोबार मुल्य १४ सय ७५ रुपैंयाँ प्रतिकित्ता छ । यस हिसाबले माथि उल्लेखित सेयर संख्यालाई अन्तिम कारोबार मुल्यले गुणा गरेर नबिल बैंकको कुल बजार पुँजीकरण ९१ अर्ब २० करोड ७२ लाख २० हजार ९ सय रुपैंयाँ निकालिएको छ ।
अब ध्यान दिनुपर्ने कुरा के हो भने माथि उल्लेखित ६ करोड १८ लाख कित्ता सुचिकृत सेयर मध्ये ३० प्रतिशत सर्वसाधारण सेयरको मूल्य मात्र १४ सय ७५ रुपैंयाँ प्रतिकित्ता हो । बाँकी ७० प्रतिशत प्रमोटर सेयरको अन्तिम कारोबार मुल्य त प्रतिकित्ता १ हजार ५० रुपैंयाँ मात्र छ ।
यसरी ७० प्रतिशत प्रमोटर सेयरलाई १ हजार ५० रुपैंयाँ प्रतिकित्ताको दरले र बाँकी ३० प्रतिशत सर्वसाधारण समुहको सेयरलाई १४ सय ७५ रुपैंयाँ प्रतिकित्ताले गुणा गरेर आएको अंकको योग नेप्सेमा उल्लेखित बजार पुँजीकरण भन्दा धेरै कम ७३ अर्ब रुपैयाँको हाराहारी मात्र हुन्छ । अर्थात नेप्सेको वेबसाइटमा उल्लेखित ९१ अर्ब रुपैंयाँ भन्दा झण्डै १८ अर्ब रुपैंयाँले कम ।
यसको मतलब नबिल बैंकको वास्तबिक मुल्याङ्कन नेप्से आफैंले १८ अर्ब रुपैंयाँ हाराहारीले बढाइदिएको छ । जुन सचेत लगानीकर्तामाझ भ्रम छर्न पर्याप्त छ ।
अब नेपालको एकमात्र अन्तराष्ट्रिय बैंक स्ट्यान्डर्ड चार्टड बैंकलाई हेरौं । नेप्सेमा बैंकको ३ करोड ७४ लाख ९८ हजार ७६ कित्ता सेयर सुचिकृत छ । र, अन्तिम कारोबार मुल्य २२ सय ८१ रुपैंयाँ प्रतिकित्ता छ । यो हिसाबले नेप्सेले बैंकको कुल बजार पुँजीकरण ८५ अर्ब ५३ करोड ३१ लाख ११ हजार ३ सय ५६ रुपैंयाँ निकालेको छ ।
तर, यसमा पनि महत्वपूर्ण कुरा के हो भने नेप्सेमा सुचिकृत कुल सेयर संख्याको ७५ प्रतिशत सेयर प्रमोटरको हो । र, २५ प्रतिशत सेयर मात्र सर्वसाधारण समुहको सेयर हो, जसको मुल्य २२ सय प्रतिकित्ता हो ।
प्रमोटर सेयरको मूल्य सामान्यतः सर्वसाधारण समुहको भन्दा कम हुन्छ । नेप्सेको उदाहरणले कमसेकम त्सस्तै देखाउँछन् । त्यसैले नेप्सेले निकालेको स्ट्यान्डर्ड चार्टडको कुल बजार पुँजीकरण पनि आधारभुत रुपमै गलत छ । त्यसमा प्रमोटर र सर्वसाधारण समुहको सेयरलाई फरक फरक मुल्यको आधारमा गणना गरेको छैन ।
सही सुचनाको आधारमै सामान्य लगानीकर्ताले लगानी गर्ने हो । तर, सरकारी संयन्त्रकै यस्तो कमी कमजोरीकाबीच सेयर बजार कसरी परिपक्व होला ? र, लगानीकर्ताले कसरी आफुलाई सु–सुचित गर्दै लग्लान भन्ने प्रश्न महत्वपूर्ण छ ।