६ अर्बको ठेक्कामा ३ अर्ब क्षतिपूर्ति !



काठमाडौं । ६ अर्ब रुपैयाँको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार आयोजनको ठेक्का लिएको स्पेनीस कम्पनी कन्स्ट्राक्टोरा सान्जोसे ३ अर्व क्षतिपूर्ती मागेको छ ।

समयमा काम सम्पन्न गर्न नसकेको भन्दै गत मंसिर २४ गते नागरिक उड्डयन प्राधिकरणले कम्पनीसंग ठेक्का सम्झौता तोडेको थियो ।

सान्जोसेले २ अर्ब ९१ करोड ८२ लाख ४१ हजार रुपैयाँ क्षतिपूर्ती दिनुपर्ने माग नागरिक उड्डयन प्राधिकरणसंग गरेको छ । ६ करोड १० लाख अमेरिकी डलर अर्थात तत्कालिन अवस्थाको करिब ६ अर्ब रुपैयाँको काम गर्ने गरी ठेक्का पाएको सान्जोसेले योजना सक्न दिएको तीन वर्षको समयमा निकै थोरै प्रगति गरेको भन्दै ठेक्का सम्झौता तोडिएको थियो ।

एसियाली विकास बैङ्क (एडीबी)को आठ करोड अमेरीकी डलरको ऋण सहयोगमा विमानस्थलको क्षमता विस्तार गर्न काम अगाडी बढाइएको थियो । एडीबीको विमानस्थलको विस्तारका लागि ७ करोड डलर ऋण र एक करोड डलर अनुदान दिएको थियो ।

सन् २०२८ सम्मको गुरुयोजनाअनुसार त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुका लागि २९ लाख र अन्तराष्ट्रियतर्फ ६३ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता विस्तार गर्ने योजना थियो । तर पहिलो चरणको काम सम्पन्न गर्ननै अलमल भएको छ ।

सान्जोसेले प्राधिकरणमा नेपाल मध्यस्तता परिषद्ले समेत सान्जोसेको पक्षमा फैसाला गरेको बताउँदै क्षतिपूर्तीको लागि माग गरेको हो । मध्यस्तता परिषद्ले सहमति विपरित सान्जोसेलाई निकालेको पाइएको भन्दै ठेक्का पाएको कम्पनीको पक्षमा फैसाला गरेको छ ।

सान्जोसेले सोही फैसलालाई आधार मान्दै प्राधिकरणमा १५ करोड १८ लाख ८९ हजार रुपैयाँ व्याज सहित २ अर्ब ९१ करोड ८२ लाख ४१ हजार रुपैयाँ क्षतिपूर्ती माग गरेको हो ।

प्राधिकरणले ठेक्का तोडेपछि सान्जोसे अन्यय परेको भन्दै परिषद्मा उजुरी दिन पुगेको थियो । प्राधिकरण, एसियाली बिकास बैंकको ज्याक परामर्शदाता तथा सान्जोसेबीच सन् २०१६ मार्च १० मा ४ सय ५७ दिन सम्म म्याद थप्ने सहमति भएको तर समय पुरा नहुँदै ठेक्का तोडेको आरोप लगाउँदै सान्जोसेले उजुरी दिएको थियो । सो सहमति अनुसार अझै समय नसकिएको तर बीचमै प्राधिकरणले ठेक्का तोडेको आरोप सान्जोसेले लगाएको छ ।

ठेक्का तोडिएपछि प्राधिकरणले दिएको अग्रिम भुक्तानी १ अर्व ६० करोड रुपैयाँ सान्जोसेले रोक्का गरेको थियो । प्राधिकरणले उच्च अदालत पाटनमा उक्त रकम फुकुवा हुनुपर्ने मुद्दा दायर गरेको थियो । उच्च अदालतले उक्त रकम प्राधिकरणलाई फुकुवा गर्न अन्तरिम आदेश दिएको थियो । तर अन्तिम फैसला भने अझै आएको छैन ।

सान्जोसेले कति क्षतिपूर्ती माग दावी गरेको भन्ने आफुलाई जानकारी आइनसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले बताए । ‘मध्यस्तता परिषद्को फैसलाको विषयमा प्राधिकरणले पुनः अपिल गरेर अगाडी बढ्ने छ,’ श्रेष्ठले भने । सान्जोसेले समयमा काम नगरेपछि प्राधिकरणले बाध्य भएर ठेक्का तोडेकोले क्षतिपूर्तीको विषयमा ऐन, नियम कानुन बोल्ने श्रेष्ठले बताए ।

सान्जोसेले तीन वर्षको अवधिमा १६ प्रतिशत काम गरेवापत करीब ९६ करोड रुपैयाँ भने भुक्तानी लगेको प्राधिकरणको भनाई छ ।

सन् २०२८ सम्मको गुरुयोजनाअनुसार त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुका लागि २९ लाख र अन्तराष्ट्रियतर्फ ६३ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता विस्तार गर्ने योजना थियो । तर पहिलो चरणको काम सम्पन्न गर्ननै अलमल भएको छ । योजनामा अत्याधुनिक टर्मिनल भवन, ट्याक्सी वे, ट्याक्सी पार्किङ लगायत रहेका छन ।

एसियाली विकास बैंक (एडीबी)को १० करोड अमेरिकी डलर (१० अर्ब रुपैयाँ)को विमानस्थल सुधार गुरुयोजनाअनुसार धावनमार्ग तथा पार्किङ विस्तारको काम थालिएको हो । गुरुयोजना अनुसार ६० करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।


क्लिकमान्डु