होटलको आइपिओ ल्याउँछौं, निजी उद्योगको त सकिँदैनः उद्योगी शशिकान्त अग्रवाल



औद्योगिक घराना एमएस ग्रुपका प्रवन्ध निर्देशक शशिकान्त अग्रवालले लगानी विविधिकरण गरिरहेका छन् । उत्पादनमूलक उद्योगमा स्थापित भएका अग्रवाल व्यापार हुँदै सेवा क्षेत्रमा लगानी विस्तार गरिरहेका छन् । विश्वप्रख्यात म्यारियट होटलको चेन नेपालमा भित्र्याएको एमएस ग्रुप चिनी र धागो उद्योगमा नेपालको पायोनियर मानिन्छ । होटल क्षेत्र ग्ल्यामर भएकाले आफू होटल खोल्न आकर्षित भएको अग्रवाल बताउँछन् । उद्योगी अग्रवालसँग निजी क्षेत्रका समस्या, सम्भावना उनको योजना तथा नेपालमा लगानीको वातावरण जस्ता विषयमा क्लिकमाण्डुका लागि आशीष ज्ञवाली र पुष्प दुलालले गरेको कुराकानीको सम्पादित अंशः

उद्योगमा लगानी गरेर सफल भइरहेको बेला सेवा क्षेत्रमा किन प्रवेस गर्नुभयो ?

सेवा क्षेत्रमा उद्योगमा जस्तो नाफामा उताचढाव हुँदैन । तर, सेवा क्षेत्र भनेको बाघको सवारी हो । झरेपछि आफुलाई बोकेको बाघले खाइदिन्छ । सेवा उद्योगमा क्वालिटीलाई ध्यान दिनुपर्छ । अर्कोकुरा उद्योग र होटलमा केही फरक छ । हामीले होटल चलाउन विश्व विख्यात ब्राण्ड म्यारियटलाई दिएका छौं । म्यारियटले संसारमा ८ हजारभन्दा बढी होटलको व्यवस्थापन गर्छ । जेडब्लु म्यारियटले न्यूयोर्कमा होटल खोल्नुभयो । अहिले म्यारियटले विश्वभर होटलको व्यवस्थापन मात्र गर्ने गर्छ । म्यारियटले यसमा निश्चित प्रतिशत रोयल्टी अरु खर्च लिन्छ । आफुले व्यवस्थापन लिन नपरेकोले होला, उद्योगभन्दा होटल सजिलो लागेको छ । आफैं चलाउँदा यो पनि सजिलो नहुन सक्थ्यो होला ।

माओवादी द्धन्द्ध सुरु भएपछि नेपालमा भएका धेरै होटल बन्द भए । नयाँ कुनैपनि आएन । माओवादी शान्ति प्रक्रियामा आएपछि होटलमा लगानी बढ्न थालेको हो । म घुमिरहने व्यक्ति, थाइल्याण्डमा यतिका पर्यटक जान्छन् । त्यहाँ यस्तो केही छैन । नेपालमा यतिधेरै क्षेत्र छन् जसलाई मार्केटिङ गर्ने हो भने पर्यटकको संख्या बढाउन सकिन्छ । पर्यटन तथा होटल क्षेत्र ग्ल्यामर पनि हो । म्यारियट बन्दै गरेको बेला मैले सर्लाहीमा डेढ अर्बमा चिनी कारखाना खोल्दै थिएँ । अर्को एउटा धागो कारखाना पनि हामी थप्दै थियौं । यस बारेमा मलाई कुनै पत्रकारले संचारमाध्यमले प्रश्न गरेनन् । त्यो पनि ठूलो रोजगारी दिने क्षेत्र हो । एउटा उद्योगपतिको पहिचानमा उहाँको होटल पनि छ भन्ने भएको छ । यसमा ग्ल्यामर पनि छ, यसले पनि केही तानेको होला ।

दुई वर्ष अगाडि सबै चिनी कारखाना घाटामा थिए । अघिल्लो वर्षपनि पाँच देखि ६ वटा कारखाना घाटामा थिए ।

अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले तपार्इंहरुसँग नेपालमा पहिलो पटक होटल क्षेत्रमा साझेदारी गरेको छ । किन अइएफसीसँगको सहकार्य रोज्नुभयो ?

आइएफसीले हामीहरुलाई साढे ५ मिलियन डलर दिइसक्यो । आइएफसीले बुद्ध एयरपछि निजी क्षेत्रमा धेरैपछि म्यारियट होटलमा लगानी गरेको हो । नेपाल घुम्न आउने देश भएको हुँदा आइएफसीको साझेदारीमा विश्वमा सन्देशपनि दिएको छ । आइएफसी विश्व बैंक अन्तर्गतको संस्था भएको र यसले नेपालमा होटल खोल्नको लागि ऋण दिनुको अर्थ नेपालमा पर्यटन व्यवसाय सुधार हुन थालेको संकेत हो ।

होटलमा अहिले सबै जसो औद्योगिक घरानाको लगानी छ । होटलको संख्या बृद्धि अनुसार पर्यटक नआए लगानी असुरक्षित हुने खतरा हुँदैन ?

कुनै पनि व्यवसायमा जोखिम नहुँने भन्ने कुरा हुँदैन । सबै खालका व्यवसायमा जोखिम हुन्छ । नेपालको राम्रो पाटो भनेको अहिले हाम्रोमा आउने विदशी पर्यटक भनेको ६ लाख मात्र हो । नेपालको हिमाल संसारबाट हेर्न आउने उत्कृष्ट गन्तब्य हो । जापानमा माउन्ट फुजी भन्ने छ । उनीहरुले यसको राम्ररप् प्रचार गरेका छन् । माउन्ट फुजीजस्ता हिमाल नेपालमा धेरै छन् । हिमाल, ट्रेकिङ, ¥याप्टिङ, जंगल सफारीदेखि धार्मिक पर्यटक नेपालमा भित्र्याउन सकिन्छ । यसको ठूलो सम्भावना छ । यस्तै काठमाडौं उपत्यकाका पुरानो दरबार हेर्नुहोस्, त्यसको कलाशैली साच्चिकै हामी हरेक दिन देख्नेलाई हेर्न मन लागिरहेको हुन्छ ।

हामीकहाँ पर्यटकको संख्या बढाउन सरकारले गर्ने काम र सकारात्मक सोचमा बृद्धि हुनुपर्छ । विमानस्थलमा सुधार, बाटोघाटोमा सुधार गर्नुपर्ने हुन्छ । अहिलेको ६ लाखबाट १० लाख र ५ वर्षभित्रमा २० लाख पर्यटक पुर्याउन कुनै ठूलो कुरा होइन । पर्यटनको प्रवद्र्धन गर्ने हो भने नेपालमा अहिले जति होटल आउन लागेको छ, त्यो केहीपनि होइन । तर, अहिलेको अवस्थामा हुँदैन ।

उद्योगको बारेमा धेरैले प्रश्न गरेनन् भन्नुभयो, नयाँ खोलेका उद्योगसहित चिनी उद्योग कसरी चल्दैछ त ?

सर्लाहीको हाम्रो कारखाना संचालनमा आइसकेको छ । उद्योग राम्रोसँग चलेको छ । सर्लाहीमा लगाएको हाम्रो उद्योगमा नेपालमै पहिलो पटक चिनी उद्योगमा नयाँ प्रविधि प्रयोग भएको छ । चिनीको उत्पादनमा चुना र सरफल प्रयोग हुन्छ । यसले स्वास्थ्यलाई हानी गर्ने गर्दैन । तर, युरोप र अमेरिकामा यसको प्रयोग हुन छाडेको छ । हामीले सर्लाहीमा खोलेको कारखानामा चुना र सरफल प्रयोग हुँदैन । त्यसैले हाम्रो उद्योगबाट उत्पादन भएको चिनी औषधी उद्योगबाट माग बढी छ । हाम्रो उद्योगबाट चिनी उत्पादन नहुँदासम्म औषधी कम्पनी वियर उत्पादक कम्पनीहरुले यस्तो चिनी विदेशबाट आयात गर्ने गरेका थिए । हामीले आन्तरिक माग पुर्याउन सकेका छौं ।

चिनी उद्योगी र उखु उत्पादक किसानबीच जहिलेपनि विवाद हुन्छ । किसान पैसा पाएनौं भन्छन्, उद्योगीहरुले किन किसानलाई पैसा नदिएका ?

उद्योगीले उखु किसानको पैसा नदिनु भनेको ठूलो अपराध हो । नेपालमा अहिले १३ वटा चिनी कारखाना संचालनमा छन् । १३ वटा चिनी कारखानामा भुक्तानीको समस्या भनेको एउटा वा दुईवटा उद्योगमा मात्र रहेको छ । त्यसलाई हामीले जहिलेपनि जनराइज्ड गरेर चिनी उद्योगीले किसानको पैसा दिएनन् भन्यौं । कुन उद्योगमा भुक्तानीको समस्या छ भन्नुपर्छ । १३ वटा उद्योगमा एउटा वा दुईवटामा भुक्तानी समस्या आयो होला ।

अरु चिनी कारखाना र किसानबीच मूल्य निर्धारणमा केही असमझदारी हुने गर्छ । किन्नेले सस्तोमा किन्न खोज्ने र बेच्नेले महंगोमा बेच्न खोज्ने स्वभाविक प्रक्रिया हो । यसमा हाम्रो भनाई मुल्य तोक्दा अन्तर्राष्ट्रिय बजारलाई हेरेर गर्नुपर्छ भन्ने हो । नेपालभन्दा भारतमा चिनी महंगो भयो भने नेपालबाट भारततर्फ जान्छ । भारतमा सस्तो भयो भने नेपालमा आउने गर्छ । अनौपचारिक व्यापार रोक्न सरकारले केही पनि गर्न सक्दैन । अघिल्लो वर्षपनि सरकारले एकलौटी उखुको मुल्य तोक्यो । यसमा अदालतमा मुद्दापनि विचाराधिन छ ।

स्वदेशी चिनी उद्योगीसँग उपभोक्ताको गुनासो छ । साल्ट ट्रेडिङले चिनी बिक्री नथाल्दासम्म तपाईहरुले मुल्यमा मनपरी गर्नुहुन्छ नि ?

यो डिमान्ड एण्ड सप्लाईको कुरा हो । माग बढी भएपछि स्वभाविक रुपमा मूल्य बढ्छ, आपूर्ति बढी भएपछि मूल्य घट्छ । साल्ट ट्रेडिङको चिनी आएपछि आपूर्ति बढ्छ । त्यसपछि मूल्य घट्नु स्वभाविक हो । हाम्रो चिनी कारखाना एक सय दिन मात्र चल्छ । त्यो बेला चिनीको मुल्य घट्छ भने त्यसपछि क्रमिक रुपमा बढ्दै जान्छ । दुई वर्ष अगाडि सबै चिनी कारखाना घाटामा थिए । अघिल्लो वर्षपनि पाँच देखि ६ वटा कारखाना घाटामा थिए । चिनीको मुल्यमा अन्तराष्ट्रिय बजारमा उतारचढाव हुन्छ । ६ सय डलर पुगेको चिनी अहिले ३ सय भन्दा तल झरेको छ । उद्योगमा कहिले नाफा हुन्छ, कहिले घाटा हुन्छ । यो स्वभाविक प्रक्रिया पनि हो ।

धागो उद्योग नेपालमा खासै चल्न सकेन । तपाईको आफ्नो अनुभव कस्तो छ ?

सरकारी उद्योगको कुरा नगरौं । हाम्रो बाहेक तीनवटा उद्योग चलेको छ । धागो उद्योग चल्नको लागि कपडा उद्योग चल्नुपर्छ । नेपालमा १० देखि २० वर्षमा ठूलो औद्योगिक विकास भएको छ । तर, सबैभन्दा ठूलो ग्याप कपडामा छ । अहिलेपनि ९० प्रतिशत कपडा विदेशबाट आउने गर्छ । भन्सारको रेकर्डमा ५०० करोडको कपडा आएको देखिन्छ । तर, नेपालमा १० अर्बदेखि १५ अर्ब रुपैयाँको कपडा आयात हुन्छ । अनौपचारिक माध्यमबाट हुने आयात नियन्त्रण गर्ने हो भने १० वटा धागो कारखाना चल्न सक्छ । टेक्स्टाइल उद्योग भनेको मदर अफ अल इन्डष्ट्री भन्छ । संसारमा औद्योगिकरणको सुरुवात यही उद्योगबाट हुने गर्छ । नेपालमा पनि बिराटनगरमा जुट मिल र टेक्स्टाइलको उद्योग सुरु भएको थियो । कपडा विकास गर्न सक्यौं भने हामीले रोजगारी सिर्जना गर्न सक्छौ । म आफूपनि कपडा उद्योगबाट व्यवसाय सुरु गरेको थिएँ । अहिले कपडामा धेरैको चासो बढेको छ । म केही दिन अगाडि बुटवल गएको थिए । त्यहाँपनि धेरैको चासो देखे ।

कपडा उद्योगको विकासको लागि सरकारले के गर्नुपर्छ ?

हामीलाई हेर्न सजिलो र उद्योगको प्रतिस्पर्धा हुने भारतसँग हो । भारत सरकारले जिएसटी ल्याएपछि यसको प्रभाव यहाँ पर्छ । भारत सरकारले कपडा उद्योगलाई धेरै सहुलियत दिएको छ । राष्ट्रिय प्राथमिकता उद्योगमा राखेर ३० हजार करोड भारुको टेक्सटाइयल अपग्रेडेशन फन्ड बनाएको छ । त्यो पैसा १ प्रतिशत ब्याजदरमा उद्योगको प्रविधि परिवर्तन गर्नको लागि दिएको हुन्छ । हाम्रो सरकारले केहीपनि दिदैन । नेपालमा मेसिन बन्दैन । नेपालमा मेसिन ल्याउँदापनि ५ प्रतिशत भन्सार लिन्छ । सरकारले कच्चा पदार्थ र तयारी वस्तुको आयातको भन्सारमा धेरै सुधार गरेको छ । तर, अझै सुधार गर्नुपर्ने कुरा बाँकी छ ।

अहिले तपाई लुभु थैबमा जानु भयो भने घरघरमा टेक्साइटलको काम हुन्छ । यसमा प्रविधि परिवर्तन गर्ने हो भने कस्ट पनि घट्छ उत्पादन पनि बढ्छ । अहिले सुति कपडाको नाममा पोलिस्टरको कपडा भित्रिन्छ । हाम्रोमा सुती कपडा गरीबले लगाउने भन्ने बुझाई छ । तर, खासमा सुती कपडामा गरीबले लगाउन सक्दैन । गरीबले पोलिस्टर लगाउने हो । हाम्रोमा पोलिस्टरको नाममा कटन कपडा भित्रिन्छ ।

तपाईको रियलस्टेटमा पनि लगानी छ । भूकम्पपछि रियलस्टेट क्षेत्र उकासिएको छैन । कस्तो छ अवस्था ?

भूकम्प आएपछि १० तला भवनमा बस्न सकिदैन भन्ने हल्ला चल्यो । यती ठूलो भूकम्प आयो । एउटा पनि हाइराइज अपार्टमेन्टबाट कसैको पनि मृत्यु भएन । पर्खाल भत्केर मात्र एकजनाको मृत्यु भएको छ । मल्टी स्टोरेज घरहरु केहीपनि भएको छैन । आजको प्रविधिले भूकम्प थेग्न सकिन्छ । अहिले फेरि अपार्टमेन्टमा मानिसहरु बस्न थालिसकेका छन् । बंगलाको बढी डिमान्ड छ । हाम्रो पनि केही बेच्न बाँकी छ । बिक्री भइरहेको छ । हाउजिङ बोर्डको सिस्टम छ । यसमा कडाई छ । मल्टी स्टोरेज घरमा संसार भर बसेका छन् । मल्टी स्टोरेज घरमा आगलागी हुँदा भने समस्या हुने छ । २५ तलामा आगलागी भयो भने कसरी निभाउने त्यसमा समस्या छ ।

सरकारले औद्योगिकरणको लागि जग्गा छुटउनुपर्छ । अहिले विगगन्ज, बिराटनगरमा १ कठा किन्न १५ देखि २० लाख रुपैयाँ पर्छ ।

अबचाहीँ अपार्टमेन्ट लगानी नगर्ने ?

हामीहरु भक्तपुरमा कोलनी निर्माण गर्दै छौं । भक्तपुरको ठिमीमा हाम्रो १७ रोपनी जग्गा छ । त्यहाँ ५५ वटा अत्याधुनिक बंगला निर्माण गर्दैछौ । यसको न्यूनतम मुल्य ३ करोडदेखि ४ करोड पुग्छ ।

अन्य क्षेत्रमा पनि लगानी गर्दै हुनुहुन्छ ?

नक्सालमा हाम्रो होटल ८ देखि ९ महिनामा संचालनमा आउँनेछ । भवन निर्माणको काम सकिसकेको छ । अहिले फोकस होटल नै हो । मेरो सानो भाइ छन् । उनको छोरा लण्डनबाट एमबिए गरेर नेपाल फर्किएका छन् । उनलेले अध्ययन गर्दै छन् । त्यसपछि थप लगानी गर्छौं ।

उपत्यका बाहिर पनि होटल खोल्ने कुरा थियो । के भइरहेको छ ?

बुटवलमा हामी होटल खोल्दै छौं । बुटवलमा थ्री स्टार होटल खोल्ने तयारी छ ।

उद्योगको वातावरण अब सुधार आउनेमा कत्तिको आशावादी हुनुहुन्छ ?

अहिले काठमाडौंमा मात्र लोडसेडिङ घटेको हो । बिराटनगर बिरगन्जमा त्यो समस्या छ । ६ घण्टा अहिलेपनि लोडसेडिङ छ । लोडसेडिङ भएन भने उद्योगको विकास हुन्छ । सरकारले उद्योगको बारेमा डेप्थ स्टडी गर्नुपर्छ । कुन उद्योगलाई बढी प्राथमिकता दिएको छ कुनलाई दिएको छैन त्यसलाई अध्ययन गर्नुपर्छ । हामीले रुग्ण उद्योगको पुनउद्धार गर्ने भन्छौं । किन उद्योगलाई रुग्ण हुन दिने । उद्योगले तिर्ने भ्याटले नै उद्योग समस्यामा परेको नपरेको थाह भइहाल्छ । त्यो भएपछि समस्या समाधान गरे हुन्छ । सरकारले यसमा प्रोएक्टिभ रोल खेल्नुपर्छ ।

उद्योग खोल्न जग्गा अत्याधिक समस्या हुँदैछ । यसलाई कसरी समाधान गर्ने ?

नेपालमा उद्योग खोल्न जग्गा सबैभन्दा ठूलो समस्या हो । नेपालमा जग्गाको बर्गीकरण भएको छैन । आवासीय एरियामा उद्योग खोलेपनि हुन्छ । हस्पिटल खोलेपनि हुन्छ । भारतमा जमिनको बर्गीकरण छ । सरकारले औद्योगिकरणको लागि जग्गा छुटउनुपर्छ । अहिले विगगन्ज, बिराटनगरमा १ कठा किन्न १५ देखि २० लाख रुपैयाँ पर्छ । मेरो चिनी कारखानामा ५० देखि ६० बिगाह जग्गा छ । त्यसको लागत डेढ अर्बभन्दा बढी पर्छ । मेसिन लगाउन डेढ अर्बपर्छ । भनेपछि जग्गाको लागि बढी लागत तिनुपर्ने हुन्छ ।

जग्गाको बर्गीकरण गर्न नसक्ने अवस्थामा पुगेको हो ?

गर्न नसक्ने कुरा हुँदैन । यो नीति निर्माणमा बस्नेले गर्नुपर्ने कुरा हो । यसमा बृहत छलफल गर्नुपर्छ ।

तपाईं नेपाल भारत उद्योग वाणिज्य संघको उपाध्यक्ष पनि हुनुहुन्छ, पछिल्लो समय भारतबाट आउने लगानी घटेको छ । कारण के हो ?

भारतीयहरुलाई नेपालमा लगानी गर्दा के फाइदा हुन्छ । अहिले भारतीय लगानीमा खोलेका नेपालका उद्योगहरुले राम्रो फाइदा लिएका छैनन् । जतिबेला भारतीय लगानी नेपालमा आएको थियो । त्यो बेला भारतमा नियन्त्रणमुखी नीति थियो । अहिले भारतमा सबै सुविधा पाइन्छ । अहिले भारतमा कसैले चिनी उद्योग खोलेको छ भने उसलाई ४० करोड रुपैयाँ सहुलियत दिन्छ । उद्योगलाई पैसा दिने होइन । उद्योग खोल्ने क्षेत्रमा बाटो, किसानलाई सिँचाई सुविधा सबै दिन्छ । औद्योगिक व्यवसाय ऐनमा भएका सुविधा पनि हामीले पाएका छैनौं । नेपालबाट जतिपनि नेता भारतमा जान्छन्, लगानी गर्न भन्छौं । लगानी सम्मेलन भयो, प्रतिबद्धता आउने कुरा एउटा हो, तर, वास्तविकतामा लगानी भएको छैन ।

मैले सुरुमा उद्योग लगाउँदा ५० देखि ६० करोड लगानी थियो । त्यसबाट कमाएर थप उद्योग लगायौं । कुनै उद्योगको भ्यालु ५० देखि ६० करोड होला । कसैको २०० करोड होला ।

नीतिको व्यवहारिक कार्यान्वयन नहुँदा लगानी आएको हो ?

हाम्रोमा कानून भएपनि त्यसको कार्यान्वयन राम्रो छैन । भएको सुविधा उद्योगहरुले पाएका छैनन् । एक स्थानमा सुविधा लिने परिपाटी छैन । एउटा उद्योग चलाउनको लागि अनुमति लिन पाँच महिना लाग्ने गर्छ । भारतमा अहिले अवस्था धेरै सुधार भएको छ । नेपालमा भन्दा बढी सुविधा भारतमा पाएपछि भारतीयहरु लगानी गर्न किन आउँछन् ।

संविधान पनि आयो । स्थानीय तहको निर्वाचन भयो । अब कत्तिको आशवादी हुनुहुन्छ ?

संविधान पनि आयो । स्थानीय निर्वाचन भयो, त्यो राम्रो भयो । तर, पुरानो संविधानले उद्योगलाई राम्रो सुविधा दिएको थियो । औद्योगिक व्यवसाय ऐनलाई अरु ऐनले नकाट्ने भन्ने थियो । त्यो ऐन कार्यान्वयन नै भएन । नयाँ संविधान र स्थानीय निर्वाचन ऐन कार्यान्वयनको ग्यारेन्टी भएको छैन । संविधानमा सबै जनताले आंकक्षा गरेको कुरा आयो । तर, यो हुँदैमा देशको औद्योगिक विकास हुन्छ भन्ने हुँदैन । संघीयतामा गएपछि राज्य अनुसार लगानी भित्र्याउन प्रतिस्पर्धा हुनुपर्यो ।

तपाईको अहिले कति लगानी छ ?
यो भन्न गाह्रो कुरा हो । मैले सुरुमा उद्योग लगाउँदा ५० देखि ६० करोड लगानी थियो । त्यसबाट कमाएर थप उद्योग लगायौं । कुनै उद्योगको भ्यालु ५० देखि ६० करोड होला । कसैको २०० करोड होला, त्यो भन्न सकिन्छ ।

नेपालका व्यवसायीले किन आफ्नो लगानीको बारेमा भन्न सक्दैनन् ?

यो प्रश्न निकै जटिल हो । मेरो रिलायन्स स्पेनिङ मिलमा १० करोड लगानी थियो । त्यसको नेटवर्थ अहिले ४ अर्ब पुगेको छ । यसमा कति लगानी पुग्यो भन्ने भन्न सजिलो छैन । हामीले पुनः मुल्यांकन गर्दैनौ । हामीले पब्लिक लिमिटेड गर्दा यसलाई रिभ्यालुयसन गर्ने हो ।

धितोपत्र बोर्डले उत्पादनमूलक उद्योगहरुले पनि सर्वसाधारण सेयर जारी गर्न पाउने नीतिगत व्यवस्था गरेको छ । तपाईले चलाएका निजी उद्योगहरु पब्लिकमा जानसक्ने सम्भावना कत्तिको छ ?

बडो महत्वकाक्षीं योजना लिएर जाँदा पब्लिकमा जाने हो । पब्लिकमा जाँदा राम्रो त राम्रो हुन्छ । वाचडग तयार हुन्छ । पब्लिकले सचेत बनाउँछ । नेपालमा दुर्भाग्यले उत्पादनशील उद्योगहरु पब्लिक भएका उद्योगको इतिहास धेरै खराब छ । हामीलाई पब्लिकमा जान अलिकति हिचकिचाट छ ।

एउटा सफल धनी व्यवसायीलाई अगाडि राख्ने र १०० जनालाई उहँँको बारेमा तपाईको धारणा के छ भन्यो भने ९९ जनाले उप्रति नेगेटिभ हुन्छ, एकजना मात्र पोजेटिव हुन्छ भन्नु भएको थियो ।

उद्योगीहरुलाई पब्लिकबाट आउने संचालकसँग डर लागेको हो ?

पब्लिकबाट आउने संचालक आएपनि बहुमत हाम्रो नै हुने हो । त्यसमा डर छैन । नेपालमा पनि अहिले कर्पोरेट सिस्टम सुरु भएको छ । अहिले चाटर्ड एकाउन्टेन्टहरु जिम्मेवार भएका छन् । अहिले धेरै पारदर्शीता भएको छ । भोलि सरकारले पब्लिकमा जानुपर्ने नियम ल्यायो भने जानुपर्छ । अहिले बैंकमा कर्जाको ब्याजदर अत्याधिक महंगो छ । यस्तै अवस्था रह्यो भने पब्लिकमा जानुपर्ने पनि हुन्छ ।

तपाईको आफ्नो विचार के छ ?

हामी नक्सालको होटललाई पब्लिक बनाउने सोचेका छांै । अरु उद्योगलाई पब्लिकमा लैजाने सोचाई छैन ।

निजी क्षेत्र कहिलेसम्म कन्जरभेटिभ भएर चल्ने ? तपाईहरु जस्तो नाम चलेका उद्योगीहरु पब्लिकमा गएदेखि त अरु पनि आउने थिए, होइन ?

पहिलो हुनको लागि उद्योगको सेयर पब्लिकमा जारी गर्ने कुरा हुँदैन । पब्लिकमा जाँदा मलाई के फाइदा हुन्छ, व्यवसायीले हेर्ने त्यही हो । पब्लिकमा जाँदा आयकरमा छुटको घोषणा सरकारले गरेको छैन । भोलि उद्योग नचल्ला त्यो डर कायम हुन्छ ।

धेरै व्यवसायीले कमाउन सकिएन भन्छन्, के नेपालमा कमाई नभएकै हो ?

नेपालमा धेरै लो प्रोफाइलमा बस्न रुचाउँछन् । जहासम्म कमाए नकमाएको कुरा उसको प्रगति र लगानी बृद्धिले देखाएको हुन्छ । हामी धागो उद्योगमा लगानी थप्ने सोच्दौ छौं । नेपालमा यति कमाए भन्नलाई संक्रिणता छ । कर तिरेर कमाए पनि नेगेटिभीटी आउँछ । केही दिन अगाडि गभर्नर चिरन्जिबी नेपालले भन्नु भएको थियो । एउटा सफल धनी व्यवसायीलाई अगाडि राख्ने र १०० जनालाई उहँँको बारेमा तपाईको धारणा के छ भन्यो भने ९९ जनाले उप्रति नेगेटिभ हुन्छ, एकजना मात्र पोजेटिव हुन्छ भन्नु भएको थियो । हाम्रोमा नेगेटिभ सोचाई बढी छ ।

उद्योग चलाउँदा अहिले भोग्नु परेको प्रमुख समस्या के हो ?
समस्या धेरै छन्, कुनलाई अगाडि भन्ने । यसलाई बजारको साइज, ब्याजदरको कुरा आउला र तुलनात्मक लाभको कुरा आउला । मैले ब्याजदर महंगो भयो, विजुली भएन भन्ने कुरा उद्योगको पुरानो समस्या हो । यो नौलो कुरा होइन ।


क्लिकमान्डु