सेयर बजारको सुधार र वित्तीय स्थायित्वका लागि रबिन्द्र भट्टराईले दिए राष्ट्र बैंकलाई ५ सुझाब



नेपालको सेयर बजारलाई सरकारको बित्तीय नीतिले भन्दा राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिले बढी प्रभावित पर्ने गरेको छ । यसकारण पनि सेयर बजारका लगानीकर्ता मौद्रिक नीतिलाई नजिकबाट नियाल्ने र प्रतिक्षामा रहन्छन् ।

मुद्रास्फीति, ब्याजदर तथा मौद्रिक सन्तुलन कायम राख्ने लक्ष बोकेर आउने मौद्रिक नीतिमा यो बर्ष केहि नयाँ अपेक्षा गर्न सकिन्छ ।

१. नेपाल राष्ट्र बैकले मौद्रिक नीतिमा मार्जिन कारोबारलाई समावेश गर्नु पर्छ । जस अन्तर्गत लगानीकर्ताले ब्रोकर कम्पनीबाट ऋण लिएर सेयर किन्न सक्छन् । सेयर बजारको नाडी छामेका हालका गभर्नरले यो बिषयलाई प्राथमिकतामा राख्ने अपेक्षा गर्न सकिन्छ ।

२. यो मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थालाई सहायक कम्पनी मार्फत सेयर ब्रोकरको काम गर्न बाटो खुला गर्नुपर्छ । बैक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ ले यसमा बाटो खुला गरिसकेको छ ।

३. बैक तथा वित्तीय संस्थाले प्रदान गर्ने ऋणको व्याज गणनाविधिमा एकरुपता कायम गर्न आवश्यक छ । किस्ताबन्दि (इन्स्टलमेन्ट) कर्जामा बैंक तथा वित्तीय संस्थाहरुले किस्तामा व्याजको गणना कसैले मासिक रुपमा चक्रबृत्ति (कम्पाउन्डिङ) गर्छन् । कसैले त्रैमासिक कसैले अर्धबार्षिक । यसमा एकरुपता कायम गर्न किस्तालाई मासिक भूक्तानी र ब्याज अर्धबार्षिक (हाफएयर्ली) चक्रबृत्ति गर्ने कानुनी व्यवस्था गर्नुपर्छ । ब्याजदर प्रतिस्पर्धात्मक भए पनि किस्ता गणना बिधिमा एकरुपता कायम गर्न आवश्यक छ ।

४. वित्तीय बजारमा ब्याजदरलाई नियन्त्रण गर्न दुई फरक नीति अवलम्बन गर्न सकिन्छ । पहिलो, अन्तर बैंक ब्याजदरमा नियन्त्रण गर्न ब्याजको आधार दर बनाउनु पर्छ । यदि उक्त आधार ब्याजदरभन्दा अन्तर बैंक व्याजदर माथि गए राष्ट्र बैंकले आधार दरमा बैंकलाई कर दरमा राष्ट्र बैकले पैसा प्रस्ताव गर्ने र यदि निश्चित दर भन्दा तल गए बजारबाट राष्ट्र बैंकले पैसा तानेर ब्याजदरमा अत्याधिक गिरावट हुनबाट रोक्ने । यसो गरेमा ब्याजदरमा स्थायित्व कायम हुन जान्छ । दोस्रो, सरकारको खातामा भएको पैसालाई ब्याजदर नियन्त्रण गर्ने प्रयोजनका लागि बैक तथा वित्तीय संस्थामा जम्मा गर्ने र झिक्ने काम राष्ट्र बैंकले गर्नुपर्छ । यसले पनि बजारमा ब्याजदरमा सन्तुलन कायम गर्न सक्छ ।

५. निक्षेप सुरक्षणमा पनि नेपाल राष्ट्र बैंकले ध्यान दिन आवश्यक छ । अहिले कुनै बैंक टाट पल्टिए उक्त बैंकमा कुनै ब्यक्तिको खातामा रहेको दुई लाख रुपैयासम्मको निक्षेपको सुरक्षण हुने व्यवस्था छ । अब निक्षेप सुरक्षणमा थप पहलको आवश्यक छ । यदि परोपकारी कामका लागि कुनै अक्षय कोष स्थापना गरिएको रहेछ भने उक्त कोषको बीमा गरिनु पर्छ । र, त्यसमा राखिएको पुरै रकमको बीमा गरिनुपर्छ । यसमा कुनै सिमा तोकिनु हुदैन ।
भट्टराई सेयर बजार विश्लेषक हुन ।


क्लिकमान्डु