अधिकांश मन्त्रालयको वेबसाइट अपडेट हुन सकेन, आफ्नो मन्त्रीको बारेमा जानकारी छैन




काठमाडौं । नयाँ सरकार गठन भएको करिब एक महिना बित्न लाग्दा पनि विभिन्न मन्त्रालयहरुलाई आफ्नो मन्त्री को हो भन्ने जानकारी नै नभएको देखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा जेठ २४ गते नयाँ सरकार गठन भएको थियो । जसमा हाल सिमित संख्यामा मात्र मन्त्रीहरु नियुक्त गरिएको छ । देउवा सरकारमा असोज १५ गतेसम्म ३ जना उपप्रधानमन्त्री तथा ४ जनालाई मन्त्रीमा नियुक्त गरिएको छ भने अन्य मन्त्रालय प्रधानमन्त्री आफैंले राखेका छन् ।

 

प्रधानमन्त्री देउवाले विजयकुमार गच्छदारलाई उपप्रधानमन्त्रीसहित संङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय दिएका छन् भने उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय कृष्णबहादुर महराको जिम्मामा छ । त्यसैगरी गोपालमान श्रेष्ठले उपप्रधानमन्त्रीसहित कानुन, न्याय, तथा संसदीय मामिला र शिक्षा मन्त्रालयको जिम्मेबारी सम्हालेका छन् ।

देउवा मन्त्रीमण्डलमा ज्ञानेन्द्रबहादुर कार्की अर्थ, फरमुल्लाह मंसुर श्रम तथा रोजगार, जनार्दन शर्मा गृह तथा प्रभु साह सहरी विकास मन्त्रालयका मन्त्री छन् । अन्य मन्त्रालयहरु भने प्रधानमन्त्रीले आफैं लिएको नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले आपूर्ति, उद्योग, ऊर्जा, कृषि विकास, खानेपानी तथा सरसफाई, जनसंङ्ख्या तथा वातावरण, पशुपंक्षी विकास, भूमिसुधार तथा व्यवस्था, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा समाजकल्याण, युवा तथा खेलकुद, रक्षा, वन तथा भू–संरक्षण, बाणिज्य, विज्ञान तथा प्रविधि, शान्ति तथा पुनर्निमाण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहकारी तथा गरिबी निवारण, सामान्य प्रशासन सिँचाई, सूचना तथा संचार र स्वास्थ्य मन्त्रीको जिम्मेबारी समेत सम्हालेका छन् ।

प्रधानमन्त्रीले २२ वटा मन्त्रालयको जिम्मेबारी आफैंले लिएपनि कतिपय मन्त्रालयहरुलाई आफ्नो मन्त्री को हो भन्ने जानकारी नै नभएको मन्त्रालयहरुको वेबसाइट हेर्दा थाहा हुन्छ ।

सबै मन्त्रालयहरुले मन्त्रीको तस्विर र उनको परिचय निकै तामझामका साथ वेबसाइटमा राख्ने गरेको पाईन्छ । तर अहिले भने कयौं मन्त्रालयलाई आफ्नो मन्त्रालय प्रधानमन्त्री आफैंले लिएका छन् भन्ने जानकारी नै नभएको देखिन्छ ।

उदाहरणको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा प्रधानमन्त्रीको कार्य विभाजनमा परेको र सबैभन्दा पहिलो नम्बरमा लेखिएको आपूर्ति मन्त्रालयको आधिकारिक वेबसाइटमा नै मन्त्री को हो भन्ने जानकारी छैन् । आपूर्ति मन्त्रालयको वेबसाइटमा मन्त्रीको तस्विर र जानकारी राख्ने स्थान खाली छ भने त्यसको छेउमा सचिवको नाम र फोटो राखिएको छ । अझ रमाईलो विषय भनेको मन्त्रालयको वेबसाइटमा भएको लिंकहरुमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटको लिंक पनि राखिएको छ । तर, उनै प्रधानमन्त्रीले आफ्नो मन्त्रालयको जिम्मेबारी लिएको जानकारी मन्त्रालयलाई छैन ।

त्यस्तै अवस्था चौथो नम्बरमा रहेको कृषि विकास मन्त्रालयको पनि रहेको छ । मन्त्रीको नाम राख्ने स्थानमा सरकारी निशान छाप राखिएको छ भने त्यसको ठिक तल सचिवको नाम र तस्विर रहेको छ । कृषि विकास मन्त्रालयको आधिकारिक वेबसाइटमा अन्य सबै जानकारी भएपनि आफ्नो मन्त्रालय कसको मातहतमा छ भन्ने जानकारी राखिएको छैन । जबकि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा कृषि विकास मन्त्रालय प्रधानमन्त्री देउवाको मातहतमा रहेको उल्लेख छ ।

आफ्नो मन्त्रालयका प्रधानमन्त्रीको मातहतमा रहेको जानकारी अन्य मन्त्रालयहरुलाई पनि नरहेको देखिन्छ । जसमा जनसंख्या तथा वातावरण मन्त्रालय, पशुपंक्षी विकास, भूमिसुधार तथा व्यवस्था, भौतिक पूर्वाधार तथा यातायात, युवा ताथ खेलकुद, वन तथा भू–संरक्षण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन,सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयको रहेको छ ।

यो हेर्दा अधिकांश मन्त्रालयहरु आफ्नो हालको मन्त्री प्रधानमन्त्री देउवा रहेको बारेमा अनभिज्ञ रहेको स्पष्ट हुन्छ । तर पनि सबै मन्त्रालयहरुले राखेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटको लिंकमा गएर हेर्दा पनि उनको मातहतमा रहेको मन्त्रालयको बारेमा सहजै जानकारी हुन्छ ।

अझ रमाईलो विषय प्रधानमन्त्री देउवाको मातहतमा रहेको विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा रहेको छ । सो मन्त्रालयको वेबसाइटमा यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहालको निजी वेबसाइटको लिंक राखेको देखिन्छ । मन्त्रालयको वेबसाइटमा रहेको लिंकहरुमध्ये पहिलो नम्बरमा नै यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहालको निजी वेबसाइटको लिंक अझैपनि राखेको देखिन्छ ।

विज्ञान प्रविधिको विकासमा सरकारी निकायले चासो नदिएको गुनासो गर्ने मन्त्रालय आफैं सूचना प्रविधिको क्षेत्रमा अपडेट नभएको देखिन्छ ।

त्यसैगरी विज्ञान तथा प्रविधि मन्त्रालयको पुरानो वेबसाइटमा भने यो लिंक देखिँदैन । र, अधिकांश मन्त्रालयहरुले यो मन्त्रालयको पुरानो वेबसाइटको लिंक दिएको देखिन्छ ।


क्लिकमान्डु