ब्रोकर संघले भन्योः भ्याटको बिषय नटुंगिदासम्म सेयर कारोबार गर्न सकिदैन




काठमाडौं । धितोपत्र दलाल ब्यवसायी संघले मूल्य अभिबृद्धि कर (भ्याट) को बिषय नटुंगिदासम्म सेयर कारोबार खुल्ला गर्न नसकिने बताएको छ ।

बिहिबार अपरान्ह संघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रियराज रेग्मीले अबको कारोबारमा भ्याट लिने नलिने र लिदा कुन विधि र प्रक्रियाबाट लिने भन्ने अन्यौल उत्पन्न भएकोले यो बिषय टुंगो नलागेसम्म कारोबार खुलाउन नसकिने बताए ।

कर कार्यालयले भ्याटमा दर्ता हुन र यसअघिको कारोबार कमिसनको भ्याट तिर्न हामीलाई पत्र पठाएको छ, धितोपत्र कारोबार नियामवलीले भ्याट उठाउन दिदैन, यस्तो अबस्थामा भ्याट लिने नलिने तथा लिए कुन विधि र प्रक्रियाबाट लिने भन्ने प्रष्ट नभएसम्म सेयर कारोबार गर्न अप्ठेरो भएकोले आज (बिहिबार) कारोबार बन्द गरेका हौं, यो बिषय टुंगिने वित्तिकै कारोबार खुल्ला हुन्छ, अध्यक्ष रेग्मीले भने ।

कर कार्यालयले विगत ४ बर्षदेखिको ब्रोकर कमिसनको भ्याट तिर्न ब्रोकरलाई पत्राचार गरेपछि ब्रोकरले बिहिबार सेयर कारोबार बन्द गरेका छन् । महालेखा परीक्षकको कार्यालयले विगत ४ बर्षदेखिको ब्रोकर कमिसनमा भ्याट नलिएको भन्दै सम्बन्धि कर कार्यालयहरुलाई भ्याट उठाउन भनेको छ । कमिसनमा उठाउनु पर्ने १३ प्रतिशतका दरले हुने रकम सम्बन्धित कर कार्यालयको बेरुजुमा महालेखाले राखेको छ । महालेखाको यही निर्देशनका आधारमा कर कार्यालयले ब्रोकर कमिसनमा भ्याट तिर्न ब्रोकरलाई पत्राचार गरेको हो ।

भ्याट ऐन २०५२ का अनुसार सेयर ब्रोकर ब्यवसाय कर छुट हुने ब्यवसायमा नपरेको भन्दै महालेखाले विगत ४ बर्षदेखि नै त्यस्तो रकम असुल गर्नुपर्ने उल्लेख गर्दै आएको थियो ।

तर धितोपत्र बोर्डले सेयर कारोबार पनि वित्तीय सेवा भएको र वित्तीय सेवामा भ्याट छुट भएको आधारमा ब्रोकरले भ्याट तिर्नु नपर्ने भनेपछि यो विवाद हुदै आएको थियो । कर अधिकारीहरु भने सेयर ब्रोकर ब्यवसाय कर छुटको लिस्टमा नपरेको भन्दै भ्याट तिर्नुपर्ने अडानमा पुगेका हुन् ।

भ्याट ऐन २०५२ का अनुसार उपभोक्ताले भ्याट तिर्नुपर्छ । यस्तो भ्याट रकम ब्यवसायीलाई भ्याटमा दर्ता गरेर उनीहरुले विक्री गर्ने बस्तु तथा सेवाको मूल्यमा मूल्य अभिबृद्धि भएको आधारमा त्यस्तो रकमको १३ प्रतिशत रकम तिर्नुपर्छ । सो ऐन अनुसार भ्याटमा दर्ता भएपछि भ्याट उठाउन पाइने र त्यसरी उठाएको रकम ब्यवसायीले सरकारलाई बुझाउने ब्यवस्था छ ।

तर धितोपत्र दलाल ब्यवसायी अहिलेसम्म भ्याटमा दर्ता भएका छैनन् । भ्याटमा दर्ता नभएका कारण ब्यवसायीले भ्याट उठाएका छैनन् । महालेखाले विगत ४ बर्षदेखिको भ्याट असुल गर्न भनेको र ब्यवसायीले भ्याट नउठाएको कारण यस्तो रकम कसरी तिर्ने भन्ने दुबिधामा ब्यवसायी परेका छन् ।

ब्रोकरलाई भ्याटमा दर्ता गरेर भ्याट उठाउन थालिए त्यस्तो रकम सेयर खरिदकर्ताले तिर्नुपर्ने हुन सक्छ । लगानीकर्ताले तिर्ने रकम ब्रोकर कमिसनको १३ प्रतिशत हो । तर ब्रोकरले उठाएको कमिसन रकम धितोपत्र बोर्ड र नेप्सेले पनि लिने भएकोले बोर्ड र नेप्सेले लिने रकममा पनि भ्याट उठाउने वा ब्रोकरले प्राप्त गर्ने कमिसनमा मात्रै उठाउने भन्ने अन्यौल छ ।

धितोपत्र कारोबार नियमावलीमा ब्रोकरले लगानीकर्तासँग लिन पाउने कमिसन तथा शुल्क खुलाएर निश्चित रकम तोकिएको छ । त्यस्तो कमिसन तथा शुल्कमा भ्याट रकम उल्लेख छैन । नियमावलीले तोकेभन्दा बाहेकको शुल्क वा कमिसन उठाउन ब्रोकरलाई बन्देज गरिएको छ । ब्रोकरले भ्याट उठाउनु पर्ने भएमा सो नियमावली नै परिवर्तन गर्नुपर्ने हुन्छ ।

र, यसरी भ्याट लाग्न थालेपछि सेयर कारोबार अहिलेको भन्दा केही महंगो हुनेछ ।


क्लिकमान्डु