योगदानमा आधारित पेन्सन योजनाः सिपाही र हवल्दारलाई घाटा




काठमाडौं । सरकारले ल्याउन लागेको योगदानमा आधारित पेन्सन योजनाले सुरक्षा निकायमा काम गर्ने अधिकृतभन्दा तल्लो दर्जाका कर्मचारीलाई घाटा पर्ने देखिएको छ ।

अहिलेसम्म अधिकृतभन्दा तल्लो दर्जाका कर्मचारीको लागि एउटा मापदण्ड र अधिकृतदेखि प्रमुख (जनपद र ससस्त्रको महानिरिक्षक तथा सेनाको प्रधानसेनापति) सम्मको लागि अर्काे मापदण्ड अनुसारको पेन्सन प्रदान गरिदै आएकोमा अबदेखि एउटै मापदण्ड बनाउन लागिएको हो । एउटै मापदण्ड बनाउँदा अधिकृतभन्दा तल्लो दर्जाका सुरक्षाकर्मीको पेन्सन अहिलेको भन्दा कम हुनेछ ।

योगदानमा आधारित पेन्सन योजना सम्बन्धि कानुनको मस्यौदामा पेन्सनको मापदण्ड एउटै राखिएको छ । नयाँ मापदण्ड अनुसार कर्मचारीले पाउने अन्तिम दिनको तलबलाई समय अबधिले गुणा गरेर आउने अंकमा ५० ले भाग गर्दा प्राप्त हुने अंकले अबदेखि भर्ना भएर सेवा निवृत्त भएको कर्मचारीको पेन्सन रकम हुनेछ ।

अर्थात अहिले २२ हजार तलब भएको कर्मचारीले २० बर्ष जागिर खाएको रहेछ भने २२ हजारलाई २० ले गुणा गर्दा ४ लाख ४० हजार हुन्छ । अब यो अंकलाई ५० ले भाग गर्दा ८ हजार ८ सय हुन्छ । नयाँ ब्यवस्था अनुसार सरकारी कर्मचारी सेवा निवृत्त भएपछि पाउने पेन्सन भनेको ८ हजार ८ सय रुपैयाँ मासिक हो ।

यो ब्यवस्था निजामति कर्मचारी तथा सुरक्षा निकायमा कार्यरत अधिकृतभन्दा माथिल्लो दर्जाका कर्मचारीको लागि हो । अहिलेसम्म सुरक्षा निकायको अधिकृतभन्दा तल्लो दर्जाका कर्मचारीको लागि उसले प्राप्त गर्ने अन्तिम दिनको तलबलाई सेवा अवधिले गुणा गरेर ४० ले भाग गर्दा आउने अंक नै उसको पेन्सन रकम हुन्थ्यो ।

अर्थात माथिकै उदाहरण अनुसार २२ हजार रुपैयाँ मासिक तलब खाने अधिकृतभन्दा तल्लो दर्जाको सुरक्षाकर्मी २० बर्षपछि सेवा निबृत्त भए नयाँ ब्यवस्था अनुसार मासिक ८ हजार ८ सय रुपैयाँ पेन्सन हुन्छ । तर अहिलेसम्म सुरक्षा निकायमा कार्यरत अधिकृतभन्दा तल्लो दर्जाको कर्मचारीको पेन्सनको लागि ५० को साटो ४० अंकले भाग गरेर पेन्सन दिइदै आएको छ ।

अहिलेसम्मको मापदण्ड अनुसार सुरक्षा निकायमा कार्यरत कर्मचारीले सेवा निवृत्त हुदा मासिक तलब २२ हजार रुपैयाँ रहेछ र उसले २० बर्ष जागिर खाएको रहेछ भने उनको मासिक पेन्सन बढी हुन्छ । किनभने २२ हजारलाई २० ले गुणा गर्दा ४ लाख ४० हजार हुन्छ । र, त्यो अंकलाई ४० ले भाग गर्दा ११ हजार हुन्छ । अहिलेको ब्यवस्था अनुसार मासिक ११ हजार रुपैयाँ पेन्सन पाउने अधिकृतभन्दा तल्लो दर्जाको सुरक्षा निकायमा कार्यरत कर्मचारीले मासिक पेन्सन अबदेखि ८ हजार ८ सय रुपैयाँ हुन्छ । अर्थात २ हजार २ सय रुपैयाँ कम हुन्छ ।

जनपद र ससस्त्र प्रहरीमा सइभन्दा माथिल्लो दर्जाको पदलाई मात्रै अधिकृत भनिन्छ । यस्तै नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्टभन्दा माथिल्लो दर्जालाई मात्रै अधिकृत भनिन्छ ।

नयाँ ब्यवस्थाले जनपद, ससस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत सिपाही, हलल्दार, सुबेदार, असइ, सइसम्मका सुरक्षाकर्मीको पेन्सन कम हुनेछ ।

योगदानमा आधारित पेन्सन योजनामा सरकारी कोषबाट पेन्सन खाने सबै कर्मचारीको तलबबाट १० प्रतिशत रकम कट्टा गरेर कोषमा जम्मा पार्ने र त्यही कोषबाट पेन्सन दिने योजना सरकारको छ । यस्तो ब्यवस्थाले बढी तलब खाने कर्मचारीको बढी रकम कटौति हुने र पेन्सन पनि बढी आउने हुन्छ ।

अर्थात अहिले ४० हजार मासिक तलब खाने कर्मचारले पेन्सनको लागि मासिक ४ हजार रुपैयाँ दिनुपर्छ भने २० हजार रुपैयाँ तलब खानेले २ हजार रुपैयाँ दिनुपर्ने हुन्छ ।


क्लिकमान्डु