ओभरड्राफ्ट कर्जा साढे ३ खर्ब, ९० प्रतिशत लगानी घरजग्गा र सेयर बजारमा



काठमाडौं । ६/७ महिना अघिदेखि लगानी योग्य रकम (तरलता) अभाबको समस्यामा परेको बैंकिङ क्षेत्रले कर्जा विस्तार गर्न सकिरहेको छैन ।

तरलता अभाव भएसँगै बैंकहरुले प्रयोजन नखुलाई व्यक्तिगत विश्वासका आधारमा दिने ओभरड्राफ्ट लोन दिन पनि लगभग बन्द गरेका थिए ।

करिब ६/७ महिना भयो ओभरड्राफ्ट कर्जा ठप्प जस्तै छ । पछिल्लो महिना त झन् घट्दो अवस्था छ ।

ओभरड्राफ्टमा गएको ९० प्रतिशत कर्जा घरजग्गा र सेयर बजारमा लगानी हुने गरेको छ, ओभरड्राफ्ट कर्जा बढ्दा घरजग्गा र सेयर बजारमा त्यसको प्रभाव देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार ०७४ बैशाख महिनामा बैंकहरुले ३ खर्ब ४३ अर्ब २० करोड रुपैयाँ ओभरड्राफ्ट कर्जा दिएका छन् ।

०७३ बैशाख मसान्तमा बैंकहरुले २ खर्ब ७७ अर्ब १० करोड रुपैयाँ कर्जा विस्तार गरेका थिए भने ०७३ असार मसान्तमा यो बढेर २ खर्ब ९४ अर्ब ३० करोड रुपैयाँ पुगेको थियो ।

गत कात्तिक/मंसिरदेखि बैंकहरुमा तलता अभावको समस्या देखिएको थियो । यो समस्यासँगै बैंकहरुले कर्जा बिस्तार गर्न सकिरहेका थिएनन् ।

०७३ मंसिरमा ओभरड्राफ्ट लोन ३ खर्ब ३६ अर्ब १० करोड रुपैयाँ थियो । पुस महिनामा पनि ओभरड्राफ्ट कर्जा केही बढ्यो । र, ३ खर्ब ४१ अर्ब ३० करोड रुपैयाँ पुग्यो ।

माघ महिनामा पनि यो कर्जा खासै बढ्न सकेन । जम्मा १ अर्बले मात्रै बढेर ०७३ माघ मसान्तमा ओभरड्राफ्ट कर्जा ३ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ पुग्यो । फागुनमा फेरि १ अर्बले घट्यो । फागुन मसान्तमा ओभरड्राफ्ट कर्जा ३ खर्ब ४१ अर्ब ३० करोड रुपैयाँमा झर्यो ।

फागुनको तुलनामा चैतमा ओभरड्राफ्ट कर्जा केही बढ्यो । राष्ट्र बैंकका अनुसार बैंकहरुले ०७३ चैतमा ३ खर्ब ४६ अर्ब रुपैयाँ ओभरड्राफ्ट कर्जा विस्तार गरे ।

ओभरड्राफ्टमा गएको कर्जाको ९० प्रतिशत घरजग्गा र सेयर बजारमा जाने गरेको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनी बताउँछन् ।

‘ओभरड्राफ्टमा गएको ९० प्रतिशत कर्जा घरजग्गा र सेयर बजारमा लगानी हुने गरेको छ, ओभरड्राफ्ट कर्जा बढ्दा घरजग्गा र
सेयर बजारमा त्यसको प्रभाव देखिन्छ,’ पंगेनीले क्लिकमाण्डूसँग भने,- ‘अहिले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्याका कारण ओभर ड्राफ्ट कर्जा बढ्न नसक्दा त्यसको प्रभाब सेयर बजारमा देखिएको हो ।’

तर, ओभरड्राफ्टमा जति कर्जा गएको छ, त्यसको ९० प्रतिशत घरजग्गा र सेयर बजारमा लगानी भएको पंगेनीले बताए । राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाई गरेपछि ओभरड्राफ्ट ऋण लिएर सेयर बजारमा लगानी गर्नेहरुको संख्या बढेको पंगेनीको भनाई थियो ।


पुष्प दुलाल