अधिकांस विज्ञापन किन महिला केन्द्रीत हुन्छन् ? अनि महिला नै मोडल किन नि ?



उदार अर्थब्यवस्थाको मर्म हो प्रतिस्पर्धा । अनि, प्रतिस्पर्धाको मेरुडण्ड हो बिज्ञापन ।

उदार अर्थब्यवस्था भन्ने बित्तिकै उपभोग्य बस्तु वा सेवाहरुको प्रतिस्पर्धात्मक उत्पादन त हुने नै भयो । उत्पादित बस्तु र सेवाको बिशेषताबारे लक्षित उपभोक्तालाई जानकारी दिन बिज्ञापन अपरिहार्य हुने नै भयो ।

उदार अर्थब्यवस्थामा जतिसुकै राम्रो बस्तु वा सेवा उत्पादन गरे पनि लक्षित उपभोक्तासम्म यसको प्रभावकारी ढंगले सुचना पुगेन भने उत्पादनले बजारमा सफलता पाउन सक्दैन ।

त्यसैले अहिले राज्य नियन्त्रित केही सिमित अर्थतन्त्र बाहेक सबै देशहरुका टेलिभिजन, रेडियो, पत्रपत्रिका आदिमा प्रतिस्पर्धात्मक बजारले उत्पादन गरेका बस्तुहरु कै बिज्ञापन हुन्छन् । पछिल्लो दशकमा सामाजिक सञ्जालको उदय पश्चात अझ सहज र सुलभ ढंगले आफ्ना बस्तु र सेवाको बिज्ञापन गर्न सकिने भएको छ ।

तर, बिभिन्न माध्यमहरुमा बज्ने वा प्रशारित हुने बिज्ञापनलाई यसो नियाल्ने हो भने अधिकांश विज्ञापन महिला उपभोक्ता लक्षित हुन्छन् । र, मोडलको रुपमा पनि महिलाकै प्रयोग गरिएको हुन्छ । छातादेखि जुत्तासम्म वा घर सजाउने सामानदेखि खानपिनको सामानसम्मको बिज्ञापनमा महिला लक्षित गरिएका हु्न्छन् ।

मोटरको बिज्ञापन वा बिदामा परिवारको घुमघामको ब्यवस्थापन गरिदिने कम्पनीको अधिकांश बिज्ञापनमा पनि महिलालाई नै लक्षित गरिएको हुन्छ । पुरुष या त हुदै हुँदैनन् वा सहायकका रुपमा मात्र पुरुषलाई सम्बोधन गरिएको हुन्छ ।

प्राकृतिक जन्मको कुरा गर्ने हो भने बिश्वमा महिला र पुरुष र महिलाको जन्मदर बराबर हुन्छ । महिलाहरुको बाल मृत्यु दर बढि भएका कारण सेक्स अनुपात पुरुष र महिलाको हकमा १०७ः१०० भएको अनुमान गरिन्छ ।

तर, महिलाहरु पुरुषको तुलनामा केही बढी बाँच्ने हुनाले यो संख्यामा केही सन्तुलन पनि छ । जे होस, बिश्वको जनसंख्यामा महिला र पुरुषको जनसंख्याको बराबर योगदान छ । अझ थोरैले भए पनि पुरुषकै धेरै होला ।

नेपाल, भारत जस्ता बिकासशील देशहरुमा त झन भ्रुण हत्याको कुरितिका कारण पुरुषको तुलनामा महिलाकोसंख्या घट्दै गइरहेको छ समेत भनिन्छ ।

तर, बिज्ञापनको बजार भने किन यति धेरै महिला केन्द्रित भएको होला ? उपभोग्य वस्तु वा सेवाहरु त महिला पुरुष दुवैले प्रयोग गर्छन् नि ।

बिभिन्न अध्ययनहरुले महिला घर गृहस्थीको ममिलामा प्रमुख निर्णयकर्ता भएको निष्कर्ष निकालेका छन् । फेथ पपकर्न नामक एक संस्थाले गरेको अध्ययनले महिलाले घरको ८० प्रतिशत पैसा माथि नियन्त्रण गर्ने र ८० प्रतिशत सामान पनि उनीहरुले नै खरिद गर्ने देखाएको छ ।

‘मार्केटिङ टु वुमेन’ नामक पुस्तकको लेखिका मार्टी बार्लीटाका अनुसार ८५ प्रतिशत घरमा उपभोग्य बस्तु खरिदको मामिलामा महिला नै प्रमुख निर्णयकर्ता हुन्छन् । नयाँ घर किन्ने सन्दर्भमा उनीहरुले ७५ प्रतिशत निर्णय गर्छन् । यसैगरी घरको खाद्य सामाग्री खरिद गर्ने सन्दर्भमा ८१ प्रतिशत निर्णय महिलाले नै गर्छन् । र, उनीहरु कम्तिमा ८० प्रतिशत घर खर्चको नियन्त्रण गर्छन् ।

‘पुरुष र महिला एकै तरीकाले संवाद गर्दैनन्, र, उनीहरु एकै तरिकाले सामान किन्दैनन्, पुरुषको ध्यान कारोबामा मात्र हुन्छ भने महिला सम्बन्ध पनि बनाउन चाहन्छन्, महिलाहरु गएको ठाउँमा सम्बन्धहरु बनाउँछन्,’ बार्लिटा भन्छिन् ।

महिलाहरु सम्बन्ध बनाउन माहिर हुनुका साथै उपभोग्य बस्तुका बारे पनि निकै जिज्ञासु हुन्छन् । यो उत्पादन वा सेवा मैले किन प्रयोग गर्ने ? यसले मेरो र मेरो परिवारको जिवन कसरी सहज बनाउँछ ? जस्ता प्रश्नहरुको महिलाले उत्तर खोज्ने प्रयास गर्छन् । त्यसैले पनि महिलाहरुको यस्तो जिज्ञासा मेटाउने प्रयास गर्न ‘बिज्ञापन गुरु’हरुले महिला केन्द्रित बिज्ञापन बनाएका हुनसक्छन् । घर गृहस्थीको मामिलामा महिलाहरुको अग्रसरताको बारे त माथि नै चर्चा गरिहालियो ।

हार्भड बिजनेश रिभ्युले सन् २००९ मा गरेको अध्ययनका अनुसार बिश्वब्यापी रुपमा महिलाहरुको उपभोग्य बस्तुमा नियन्त्रण २० ट्रिलियन डलरको थियो । सन् २०१४ मा यो अंक २८ ट्रिलियन डलर पुग्ने अनुमान थियो । हार्भड बिजनेश रिभ्युका अनुसार पारिवारिक बिदा मनाउने सम्बन्धी ९२ प्रतिशत निर्णयमा महिला हावी हुन्छन् भने ६० प्रतिशत गाडी किन्ने निर्णयमा र ५१ प्रतिशत इलेक्ट्रोनिक सामान किन्ने निर्णय महिलाहरुले गर्ने गर्छन् ।

अध्ययनहरुले खाना, फिटनेश, सुन्दरता, लुगाफाटो, बित्तीय सेवा र स्वास्थ्य सम्बन्धी बिज्ञापनहरु महिला केन्द्रित हुने देखाएका छन् ।

हार्भड बिजनेश रिभ्युले गरेको अध्ययनका अनुसार एक तिहाई पुरुषले घरायशी काममा महिलालाई मद्दत गर्दैनन् । उनीहरु घरको बारे चासो नै राख्दैनन् । यस्तो तथ्याङक देश अनुसार फरक पर्ने गरेको छ ।

जापानका महिलाहरु घरायशी काममा पुरुषको सहयोग नपाउनेमा अग्रस्थानमा पर्छन् । ७४ प्रतिशत जापानी महिला आफूले श्रीमानको सहयोग नपाउने वा एकदमै कम पाउने बताउँछन् । त्यसको ठिक उल्टो भारतीय पुरुषहरु भने महिलालाई सबैभन्दा बढि सहयोग गर्नेमा पर्छन् । ७१ प्रतिशत भारतीय पुरुषहरु महिलालाई सहयोग गर्छन् । पुरुषले जती कम सहयोग ग¥यो त्यति घर ब्यवस्थापनमा महिला सक्रिय हुने र बिज्ञापन गुरुहरुको प्रथमिकतामा पर्ने कुरा स्वभाबिक नै भैहाल्यो ।

धेरै उपभोग्य बस्तुहरुको बिज्ञापन अधबैंसे महिलाहरुमा केन्द्रित हुनुको अर्को रोचक कारण पनि छ । महिलाहरु सामान्यत आफ्ना शुरुवाती बर्षहरुमा र आफ्नो जिवनको उत्तरार्धतिर बढी खुशी हुन्छन् । उनीहरु सारै तनाव र बेखुशी हुने भनेको ४० बर्षको हाराहारीमा हो ।

उनीहरु यो उमेरमा आफ्नो घर, काम, बालबच्चा लगायत जिम्मेवारीका कारण तनावमा हुन्छन् । त्यसैले यो उमेरका महिलाहरु आफ्नो जिवन थोरै भए पनि सहज बनाउन र आफ्ना प्राथमिकताहरुमा सन्तुलन ल्याउन नयाँ उपभोग्य बस्तु वा सेवासँग सहजै आकर्षित हुन्छन् । बिज्ञापन गुरुहरुले यस तथ्यलाई केलाएका हुन सक्छन् । एजेन्सीको सहयोगमा


पुष्प दुलाल