सर्बसाधारणले अब चाँदी किन्न नपाउने, ब्यवसायीले आफै आयात गर्न पाउने




काठमाडौं । सर्बसाधारणले चाँदी किन्न नपाउने भएका छन् । यसअघि काचो सुन खरिदमा रोक लगाएको राष्ट्र बैंकले अब भने काचो चाँदी खरिदमा पनि प्रतिबन्ध लगाएको हो ।

नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै चाँदी खरिद गर्न पाउने सर्बसाधारण्को अधिकार कटौति गरेको छ । अबदेखि चाँदीका भाडाकुडा वा गरगहना मात्रै खरिद गर्न पाइने छ । काचो चाँदी किन्न पाइदैन ।

राष्ट्र बैंकको नयाँ नियमले सर्बसाधारणलाई काचो चाँदी किन्न पाइने सुबिधा कटौति गरेको राष्ट्र बैंकको विदेशी विनियम विभाग प्रमुख भिष्म ढुंगानाले जानकारी दिए । काचो चाँदी खरिद गरेर आयात ब्यापारमा भूक्तानी हुने गरेको तथ्य भेटिएपछि राष्ट्र बैंकले यस्तो ब्यवस्था गरेको हो ।

‘अब काचो चाँदी किनेर राख्न पाइदैन, आवश्यक परेको गरगहना तथा भाडाकुडा खरिद गर्न भने रोकिएको छैन,’ ढुंगानाले क्लिकमाण्डूसँग भने ।

अब चाँदीको गरगहना तथा भाडाकुडा बनाउने ब्यापारीहरुले बैंकबाट चाँदी पनि किन्न पाउने भएका छन् । तर यसरी बैंकबाट किन्ने चाँदीको सीमा भने मासिक १ केजी मात्रै छ । अर्थात ब्यापारीहरुले बैंकबाट प्रतिमहिना १ केजीका दरले चाँदी किन्न पाउने छन् ।

‘सुुनचाँदीको कारोवारमा संलग्न स–साना व्यवसायीले गरगरगहना, हस्तकला लगायतका सामान बनाउन आफुलाई आवश्यक पर्ने चाँदी बैंकहरुबाट मासिक १ किलोग्रामसम्म खरिद गर्न सक्नेछन्, वाणिज्य बैंकहरुले यसरी व्यवसायीलाई चाँदी विक्री गर्दा सम्बन्धित सुनचाँदी व्यवसायीको व्यवसाय दर्ता प्रमाणपत्र, कर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र लिई बैंक खाता मार्फत कारोवार गर्नुपर्नेछ, साथै, बैंकले यसरी चाँदी विक्री गर्दा व्यवसायीबाट खरिद गरिएको चाँदी गरगहना तथा हस्तकला लगायतका अन्य सरसामान बनाई विक्री गर्न वा त्यस्ता सामान बनाई निर्यात गर्न बाहेक अन्य प्रयोजनको लागि प्रयोग वा विक्री गर्ने छैन भन्ने स्वघोषणा समेत लिनुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख गरिएको छ ।

ब्यबसायी आफैले पनि चाँदी आयात गर्न पाउने बाटो भने राष्ट्र बैंकले खोलेको छ ।

‘सुनचाँदीको कारोवार तथा आयात निर्यात गर्न विधिवत दर्ता भएका/इजाजत लिएका नेपाली सुनचाँदी व्यवसायीले खुला बजार आयात इजाजत व्यवस्था अनुरुप बैंक ग्यारेण्टी, प्रतीतपत्र, ‘स्ट्याण्ड बाइ’ प्रतीतपत्र र ड्राफ्ट/टि.टि.को माध्यमबाट प्रचलित व्यवस्था बमोजिम चाँदी आयात गर्न सक्नेछन्, यसरी आयात गरिएको चाँदी व्यवसायी स्वयम्ले गरगरगहना, हस्तकला लगायतका सामान बनाई विक्री गर्न वा त्यस्तो बनाउने व्यवसायीलाई बिक्री गर्न र त्यस्ता सामान निर्यात गर्ने प्रयोजनको लागि मात्र प्रयोग गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।

बैंकहरुले आयात गर्ने चाँदीको मूल्य निर्धारणको मापदण्ड पनि राष्ट्र बैंकले तोकेको छ ।

‘बाणिज्य बैंकहरुले साना सुनचाँदी व्यवसायीलाई मात्र विक्री गर्ने प्रयोजनका लागि खुला बजार आयात इजाजत व्यवस्था अनुरुप बैंक ग्यारेण्टी, प्रतीतपत्र, ‘स्ट्याण्ड बाइ’ प्रतीतपत्र र ड्राफ्ट/टि.टि.को माध्यमबाट प्रचलित व्यवस्था बमोजिम चाँदी आयात गर्न सक्नेछन्, यसरी आयात गरिएको चाँदीको मूल्य निर्धारण गर्दा, अन्तर्राष्ट्रिय मूल्य र आयात गर्दा लाग्ने लागत समेतलाई दृष्टिगत गरी प्रतिष्पर्धी मूल्य निर्धारण गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।


क्लिकमान्डु