‘जग्गामा लगानी गरेको भए अर्बपति बन्ने रहेछु, अब न पैसा बाँकी रह्यो न त बैंक नै’




काठमाडौं । आइतबार बिहान अन्नपूर्ण होटलमा सेन्चुरी बैंकसँग मर्ज भएका अन्य २ बिकास बैंकको एकिकृत कारोबार सुभारम्भ गर्ने कार्यक्रम थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपाल पनि सहभागी थिए । यस्तै सेन्चुरी कमर्शियल बैंकका संचालक र ब्यवस्थापन तहका उच्च कर्मचारी हुने नै भए । मर्ज हुदै गरेका इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकका संचालक र उच्च ब्यवस्थापन तहका कर्मचारी पनि थिए ।

कार्यक्रम संचालन गरिरहेका ब्यक्तिले इन्नोभेटिभ डेभलपमेन्ट बैंकका अध्यक्ष देबेन्द्र राउतलाई आफ्नो धारणा राख्न रोष्टममा बोलाए । मर्जर प्रक्रियाप्रति आफ्नो पूर्ण सहमति रहेको राउतको भनाइ थियो ।

‘हाम्रो लक्ष्य ठूलो बैंक बन्ने थियो, हामी रुपन्देहीको सिद्धार्थनगरमा खुलेका थियौं, हामी सेन्चुरी बैंकसँग मर्ज हुन सफल भयौं, अब हामी नेपालभरको बैंक बन्यौं, हाम्रो लक्ष्य पूरा भयो,’ राउतले खुसी ब्यक्त गर्दै यसो भने ।

त्यसपछि बोल्ने पालो अरनिको डेभलपमेन्ट बैंकका अध्यक्ष नारायण कपूर पाठकको आयो । नेपाल राष्ट्र बैंकमा ३० बर्ष विताएर २०६२ सालमा बाहिरिएका पाठकको भाषणमा राष्ट्र बैंकको नीति नियमको बचाउ होला भन्ने स्वभाविक अनुमान धेरैको थियो ।

तर, उनले राष्ट्र बैंकको नीतिको बचाउ वा समर्थन गरेनन् । उल्टै विलौना गरे । राष्ट्र बैंकको नीतिले आफ्नो पैसा पनि सकिएको र अहिले बैंक पनि सकिएको उनको गुनासो थियो ।

‘२०६२ सालमा राष्ट्र बैंकबाट अबकाश पाउँदा मसँग ४० लाख रुपैयाँ थियो, त्यसबेला त्यो पैसाले भक्तपूरमा ६ रोपनी जग्गा आउँथ्यो, मलाई जग्गा किनौं कि जस्तो पनि लागेको थियो, तर ३० बर्ष राष्ट्र बैंकमा काम गरेको मान्छे भएकोले बैंकिङ क्षेत्रमै केही गर्नुपर्छ भनेर यता लागियो,’ उनले ब्यक्तिगत कुरा सुनाउन लागे ।

उनले २०६३ सालमा ४० लाख रुपैयाँमा भक्तपूरमा जग्गा किनेको भए सो जग्गाको अहिले मूल्य झण्डै १ अर्ब रुपैयाँ बराबर हुने पाठकले सुनाए । त्यो बेलामा आफूसँग भएको ४० लाख रुपैयाँले ६ रोपनी जग्गा आउने र अहिले सो जग्गाको मूल्य प्रतिआना १० लाख रुपैयाँ भइसकेको पनि पाठकको भनाइ छ ।

पाठक अध्यक्ष बनेर २०६३ सालमा अरनिको डेभलपमेन्ट बैंक खुलेको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी कम्तिमा पनि ४ गुणाले बढाउने नीति लिएपछि पुँजी पुर्याउन नसक्ने अबस्थामा अरनिको पुग्यो । राष्ट्र बैंकको नीतिको कारण आफूसँग अहिले पैसा पनि नभएको र बैंक पनि आफ्नो हातबाट गएकोले पाठकलाई दुःख लागेको हो ।

उनले ३० बर्ष राष्ट्र बैंकमा विताएकोले देशका सबै भागमा वित्तीय पहुँच नपुगेकोमा चिन्ता लागेको र वित्तीय सेवा ग्रामीण क्षेत्रसम्म पुर्याउन बैंक खोलेको बताएका थिए । तर उनको बैंक काभ्रेको धुलिखेलमा थियो । र, अर्काे कुरा जुन बेलामा अरनिको डेभलपमेन्ट बैंक खुलेको थियो, त्यो समयमा घरजग्गा कारोबार उच्च विन्दुमा पुगेको थियो भने बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य असाध्यै आकाशिएर बैंक खोल्नेहरु रातारात धनी बनेका थिए ।


क्लिकमान्डु