कस्तो होला अब कतारी अर्थतन्त्रको भविष्य ?



कतार र उसका अन्य छिमेकी राष्ट्रहरुबीच देखिएको कुटनीतिक दरारले ब्यापार र लगानीको बातावरणमा सुस्तता ल्याई अर्बौं डलरको क्षति गर्नसक्ने देखिएको छ ।

तेलको घट्दो मुल्यसँग पौंठेजोरी खेल्दै गरेको यस क्षेत्रका लागि यो निकै महङ्गो साबित हुनसक्ने देखिएको छ ।

तर, सरकारी कोषमा ३ सय ३५ अर्ब अमेरिकी डलर भएको कतारलाई साउदी अरब, इजिप्ट, युएई र बहराइनले बन्द गरेका हवाई, स्थल र जलमार्गका कारण निम्तिन सक्ने आर्थिक मन्दीसँग लड्न केही सहज पनि हुनसक्छ ।

साउदी अरबले कतारतर्फको स्थलमार्ग बन्द गरेपछि कतारले हालै बिस्तार गरेका बन्दरगाहहरुले कच्चा तेल र ग्यासको आपूर्तिमा कतारलाई ठूलो मद्दत पुर्याउन सक्छन् । यी बन्दरगाहबाट कतारले २.७ अर्ब डलरको ब्यापार नाफा गरेको थियो ।

कतारको मुख्य सेयर बजार सूचक ७ प्रतिशतले घटेको छ । दुबईको पनि सेयर बजार ०.७ प्रतिशतले घटेको छ भने साउदी अरबको चाँही कारोबारको शुरुवाति समयमा केही घटेपनि अन्ततः ०.५ प्रतिशतले बढेको छ ।

कतारको सडक र सुपरमार्केटहरुमा सामान्य समयको भन्दा केही फरक र तिब्र गतिबिधि देखिन थालेको छ । सरकारी अधिकारीहरुका अनुसार बिहान ११ बजे देखि ग्राहकहरुको संख्यामा तेजी आएको छ ।

‘पछि छुट्नुभन्दा आफू र आफ्ना परिवारलाई चाहिने सामानको जोहो गर्नु र थुपार्नु नै अहिलेको समयमा उपयुक्त हुन्छ,’ एक ग्राहकले अलजजिरा च्यानललाई बताए ।

बैदेशिक मुद्रा सटही केन्द्रहरुमा पनि निकै भिडभाड देखिन थालेको छ । बैंकका ब्यवस्थापकहरुले त्यस्तो असामान्य स्थिति नआइसकेको बताएका छन् ।

तर, अवस्था लम्बिदैं गए ‘गल्फ कोअपरेसन काउन्सिल’ (इराक र कतार बाहेकका अरबी देशहरुको संगठन) का केही अर्थतन्त्रहरुले ठूलो आर्थिक जोखिमको सामना गनुपर्ने हुनसक्छ ।

अहिले बिश्वभर चिन्ता र चासोको बिषय भनेको तेल र ग्यासको मुल्य नै हो । तर, बिज्ञहरु भने यस कुटनीतिक संकटले तेल र ग्यासको मुल्यमा खासै असर नपुर्याउने बताउँछन् ।

दुबई, दोहा, अबुधाबी जस्ता पर्यटकीय र ब्यापारिक केन्द्रहरुले ठूलो घाटा ब्यहोर्नुपर्ने हुन सक्छ, यदि यो कुटनीतिक दरार लम्बिदैं गएमा ।

‘गल्फ कोअपरेसन काउन्सिल’ (जीसीसी) लगायत कतार पनि तेल र ग्यासको आपूर्तिमा धेरै भर पर्ने देशहरु हुन् । तर, यी देशहरुको एक—आपसमा भने ब्यापारिक र लगानीको सम्बन्ध त्यति धेरै छैन । यसले पनि यिनीहरुबीच बिग्रेको सम्बन्धबाट आउन सक्ने आर्थिक मन्दीलाई केही हदसम्म नियन्त्रण गर्छ ।

कतार युएईको ठूलो ब्यापारिक साझेदार हो । तर, बिश्वब्यापी रुपमा भने ५ औं ठूलो मात्र हो ।

यसैगरी साउदी अरब र अन्य जीसीसी राष्ट्रहरु कतारी सेयर बजारमा ५ देखि १० प्रतिशत कारोबारको मात्र प्रतिनिधित्व गर्दछन् । यसको मतलब यिनीहरुले कतारी सेयर बजारबाट आफ्नो सबै लगानी निकाले पनि बजार डुबी चाँही नहाल्ने देखिन्छ ।

केही बिदेशी बैंकरहरु यदि यो दरार कायम रहेमा पूरै खाडी क्षेत्रले ऋण लिनका लागि बढी परिश्रम गर्नुपर्ने बताउँछन् ।

‘यदि दरार केही समय कायम रहेमा यहाँबाट समस्या अन्यत्र पनि फैलन सक्छ’, नाम नबताउने सर्तमा एक अन्तराष्ट्रिय बैंकरले बताए ।

साउदी अरब, युएइ र बहराइनले सन् २०१४ मा पनि ८ महिनाका लागि आफ्ना राजदुतहरु फिर्ता बोलाएका थिए । तर, यातायात संयन्त्र भने बन्द गरिएको थिएन ।

अहिले बिश्वभर चिन्ता र चासोको बिषय भनेको तेल र ग्यासको मुल्य नै हो । तर, बिज्ञहरु भने यस कुटनीतिक संकटले तेल र ग्यासको मुल्यमा खासै असर नपुर्याउने बताउँछन् ।

‘कतार कच्चा तेलको ठूलो निर्यातकर्ता भएका कारण तेलको मुल्यमा केही असर पर्न सक्छ, तर, असर भने सामान्य नै हुने देखिएको छ, संसारभर मागको तुलनामा आपूर्तिको अवस्था सन्तुलनमै रहेको हुनाले असर सामान्य हुने भएको हो’, अलाभान बिजनेसका अलेस्टर न्युटनले भने । एजेन्सीको सहयोगमा


क्लिकमान्डु