आयात-निर्यातको व्यापार गर्न साउन १ देखि ‘एक्जिम कोड’ अनिवार्य




काठमाडौं । आयात निर्यातको व्यापार गर्न निकासी पैठानी संकेत नं. अर्थात् एक्जिम कोड लिनुपर्ने भएको छ । सरकारले साउन १ गतेदेखि आयात–निर्यातको व्यापार गर्न एक्जिम कोड अनिवार्य गरेको हो ।

यस्तो व्यापार गर्न व्यापारीसँग न्यूनतम १० लाख रुपैयाँ पुँजी हुनैपर्ने व्यवस्था गरिएको छ ।

भन्सार विभागले व्यवसायीहरुलाई एक्जिम कोड लिन आउन सार्वजानिक सूचना नै प्रकाशित गरेको छ ।

व्यापारीहरुले www.exim.customs.gov.np लग इन गरी बैंक ग्यारेन्टीको सक्कल प्रमाणपत्र वा आन्तरिक राजस्व कार्यालयले जारी गरेको पत्र र बैंकले जारी गरेको सिफारिसपत्र सम्बन्धी भन्सार कार्यालयहरुमा बुझाउन वा हुलाकमार्फत पठाउन वा आफैं उपस्थित भई विभागमा बुझाउन सकिने भन्सार विभागले जनाएको छ ।

‘निकासी पैठारी संकेत नम्बर प्रदान गर्ने सम्बन्धी कार्यविधी २०७३’ लागू गर्दै वैदेशिक व्यापारमा नयाँ व्यवस्था गरिएको हो । तर निर्यात मात्रै गर्ने व्यवसायीले भने कति पनि चुक्ता पुँजी राख्नु पर्ने छैन ।

एक पटकमा ५० हजार रुपैयाँसम्मको वस्तु आयात गर्ने व्यवसायीले यो कोड लिनु नपर्ने विभागले जनाएको छ ।

एक्जिम कोड कार्यान्वयनमा आएपछि तेस्रो मुलुकबाट नेपाल आउने सामान ल्याउन भारतीय बन्दरगाहामा अहिले लाग्दै आएको समय ३ देखि ५ दिनले छोटिने छ ।

यो व्यवस्था कार्यान्वयनमा आइसकेपछि भविष्यमा व्यवसायीलाई कुनै समस्या नहुने भन्सार विभागले जनाएको छ ।

फारम भर्दा के के चाहिन्छ ?

-हस्ताक्षरसहितको प्रणालीबाट जारी हुने निवेदनपत्र
-व्यवसाय वा उद्योग दर्ता प्रमाणपत्र (नविकरणसहितको कम्तीमा चुक्ता पुँजी १० लाख रुपैयाँ भएको)
-स्थायी लेखा नम्बर प्रमाणपत्र
-अन्तःशुल्क लाग्ने वस्तुको कारोबार गर्ने भए सो सम्बन्धी इजाजतत्र
-कुनै कारोबार गर्न छुट्टै अनुमतिपत्र चाहिने भए सो अनुमतिपत्र
-आवेदकको बैंक खाता रहेको बैंकले जारी गरेको अनुसूची-२ बमोजिमको सिफारिसपत्र,
-नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र क वर्गका वाणिज्य बैंकले जारी गरेको न्यूनतम एक वर्ष अवधि भएको पैठारीको हकमा ३ लाख रुपैयाँ मूल्य बराबरको बैंक जमानत वा सम्बन्धित व्यक्तिको बैंक खातामा रहेको रकममध्ये बैंक जमानतका लागि रकम रोक्का राखी सो बापत वाणिज्य बैंकले जारी गरेको न्यूनतम एक वर्ष अवधि भएको ३ लाख रुपैयाँ बराबरको नगद सुरक्षणबापत जारी भएको बैंक जमानतपत्र । तर, निकासी कारोबार मात्र गर्नेको हकमा बैंक जमानत आवश्यक नपर्ने ।

एक्जिम कोड आवश्यक नपर्ने व्यक्ति तथा संस्थाहरु

-१ पटकमा ५० हजार रुपैयाँ मूल्य बराबरको मालबस्तु पैठारी गर्ने र ५ लाख रुपैयाँ मूल्यसम्मको निकासी गर्ने व्यक्ति ।
-मन्त्रालय, विभाग र सरकारी कार्यालयहरु ।
-संवैधानिक अंगहरु ।
-गाउँपालिका, नगरपालिकालगायतका स्थानीय निकायहरु ।
-गैरव्यवसायीक सार्वजानिक संस्थानहरु ।
-कुटनीतिक नियोग तथा व्ययिक्तहरु ।
-संयुक्त राष्ट्र संघ र यसका विशिष्टीकृत निकायहरु ।
-झिटीगुण्टा र भारी आदेश आकर्षित हुने यात्रुहरु ।
-मेला, प्रदर्शनी तथा यस्तै समारोहहरु आयोजनाका लागि आवश्यक मालबस्तु निकासी एवं पैठारी गर्ने व्यक्ति ।
-कर छुट पाउने परोपकारी एवं सामाजिक गैरसरकारी संस्थाहरु ।
-निकासी र पैठारीका लाािग दर्ता हुनु नपर्ने भनी आवश्यकताअनुसार अनुमति प्रदान गरिएका व्यक्ति तथा संस्थाहरु ।


पुष्प दुलाल