सातै प्रदेशमा पेट्रोलियम भण्डारण केन्द्र बनाउने प्रक्रिया अघि बढ्यो




काठमाडौं । नेपाल आयाल निगमले देशका विभिन्न ७ सहरमा ५ लाख ३० हजार किलोलिटर क्षमताको पेट्रोलियम पदार्थ भण्डारण केन्द्र बनाउन लागेको छ ।

पेट्रोलियम पदार्थको अभाब कम गर्न र भण्डारण क्षमता विस्तार गर्न देशको पूर्वदेखि पश्चिमसम्मका ७ सहरमा भण्डारण केन्द्र बनाउन लागिएको निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

सरकारले आगामी आर्थिक बर्षको बजेटमा पनि देशका सातै प्रदेशमा गरी कम्तिमा ९० दिनमा माग धान्न सक्ने गरी पेट्रोलियम पदार्थ मौज्दात राख्ने कार्यक्रम ल्याएको छ ।

‘पेट्रोलियम पदार्थको मौज्दात कम हुँदा केही दिन आपूर्ति रोकियो भने पनि हाहाकार हुने अबस्था छ, यो समस्या समाधान गर्नको लागि देशका प्रमुख ७ सहरमा भण्डारण केन्द्र बनाउन लागिएको हो,’ भट्टराईले क्लिकमाण्डूसँग भने ।

निगमले प्रदेश नम्बर १ मा ९० हजार किलोलिटर, प्रदेश नम्बर २ मा ६१ हजार किलोलिटर, प्रदेश नम्बर ३ मा २ लाख १८ हजार किलोलिटर, प्रदेश नम्बर ४ मा ३२ हजार किलोलिटर, प्रदेश नम्बर ५ मा १ लाख १ हजार किलोलिटर, प्रदेश नम्बर ६ मा ६ हजार किलोलिटर र प्रदेशन नम्बर ७ मा २२ हजार किलोलिटर क्षमताको भण्डारण केन्द्र स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

निगमले दिएको जानकारी अनुसार झापाको चारआलीमा ८० हजार किलोलिटर, विराटनगरमा १० हजार किलोलिटर सर्लाहीको लालबन्दीमा २० हजार किलोलिटर क्षमताको भण्डारण केन्द्र बनाउन लागेको छ ।

यस्तै अमलेखगन्जमा ४० हजार किलोलिटर, चितवनको लोथरमा ८० हजार किलोलिटर, धादिङको बट्टारमा ५८ हजार किलोलिटर, ललितपूरमा फास्ट ट्रयाकको आसपासमा ८० हजार किलोलिटर र तनहूमा ३३ हजार किलोलिटर क्षमताको भण्डारण केन्द्र बनाउन लागिएको छ ।

निगमका अनुसार भैरहवामा ९० हजार किलोलिटर, दाङमा ११ हजार किलोलिटर, सुर्खेतमा ६ हजार किलोलिटर र धनगढीमा २२ हजार किलोलिटर क्षमताको भण्डारण केन्द्र बनाइने भएको हो ।

नयाँ भण्डारण केन्द्र बनाउने भनिएको अधिकांशमा ठाउको पहिचान भइसकेको र टेण्डर प्रक्रिया पनि सुरु भएको भट्टराईले जानकारी दिए ।

सरकारले आगामी आर्थिक बर्षको बजेटमा नेपाललाई ४५ दिनको माग धान्न सक्ने ग्यासको पनि मौज्दात राख्ने भनिएको छ । तर सरकारले अहिलेसम्म ग्यास भण्डारण केन्द्र निर्माणको प्रक्रिया भने सुरु गरेको छैन ।


क्लिकमान्डु