बजेटपछि किन आत्तियो पुँजी बजार ?




काठमाडौं । जेठ १५ गते सार्बजनिक बिदा थियो । तर, त्यही दिन आगामी आर्थिक बर्षको लागि बजेट ल्याउनै पर्ने संबैधानिक बाध्यकारी ब्यवस्था पनि छ । सार्बजनिक बिदा भएको कारण त्यो दिन सेयर कारोबार भएन । बजेट आयो ।

चालु आर्थिक बर्षको आर्थिक सुचकांक राम्रा छन् । यो बर्षको आर्थिक बृद्धिदर ६.९४ प्रतिशत हुने सरकारको अनुमान छ । यो बृद्धिदर २२ बर्षयताकै सबैभन्दा बढी हो । र, आगामी आर्थिक बर्षमा ७.२ प्रतिशतको आर्थिक बृद्धिदर हासिल हुने सरकारको अनुमान छ ।

पुँजी बजारलाई अर्थतन्त्रको ऐनामा मानिन्छ । राम्रो सुचकांक भएको अर्थतन्त्रलाई ऐना अगाडि राख्दा ऐनामा देखिने आकृति पनि राम्रो देखिनु पर्ने हो । तर, जेठ १५ अर्थात बजेट सार्बजनिक भएको दिनयता पुँजी बजारले राम्रो देखाउँदैन । लगातार दोहोरो अंकले बजार घटिरहेको छ ।

बजेटपछि पँुजी बजार किन आत्तिइरहेको छ ? बजेट आएपछिको दिन र त्यसपछिको दोस्रो दिनको साढे १ बजेटसम्मको नेप्से परिसुचक दोहोरो अंकले घटिरहेको छ । किन ? बजेटकै कारण बजार डराएको हो ?

बजेटका कारण बजार आत्तिनुपर्ने कारण नभएको नेपाल धितोपत्र वोर्डका कार्यकारी निर्देशक निरज गिरी बताउँछन् ।

‘बजेटसँग बजार डराउनु पर्ने वा बजेटपछि आत्तिनु पर्ने कारण के छ र ? आउनु पर्ने गरी सकारात्मक कुरा प्रष्टसँग नआए पनि डराउनु पर्ने कार्यक्रम पनि छैनन्, लगानीकर्तालाई उत्साही नबनाएको हो भने पनि हतोत्साही पनि यो बजेटले बनाएको छैन,’ गिरी भन्छन् ।

धितोपत्र बोर्डले पँुजी बजारको विकासका लागि अर्थमन्त्रालयलाई सुझाव दिएको थियो । सो सुझावमा म्युचुअल फण्डमा २० हजार रुपैयाँसम्म लगानी गर्ने लगानीकर्तालाई कर छुट दिनु राम्रो हुन्छ भन्ने सुझाव बोर्डको थियो । यस्तै नेपाल स्टक एक्सचेन्जको अटोमेसन र अग्रेडेसनको सुझाव बोर्डको थियो ।

बजेटमा वोर्डका यी सुझाव समेटिएनन् ।

रियल सेक्टरलाई पुँजी बजारमा ल्याउने प्रयत्न आवश्यक रहेको बोर्डको सुझाव थियो । बजेटमा यो कुरा समेटिएको छ । पुँजी बजारमा रियल सेक्टर आउने भयो भनेर पुँजी बजार आत्तिएको हो त ?

‘रियल सेक्टर पनि पुँजी बजारमा आयो भने अहिलेका लगानीकर्तालाई के नोक्सानी हुन्छ ? झन् उनीहरुले लगानी विविधिकरण गर्न पाउँछन्, पोर्टफोलियो म्यानेजमा सहयोग पुग्छ, लगानीकर्तालाई त झन राम्रो हुन्छ,’ रियल सेक्टर पुँजी बजारमा भित्रने भयो भनेर लगानीकर्ता डराएका हुन कि भन्ने प्रश्नमा बोर्डका प्रवक्ता समेत रहेका गिरी यसो भन्छन् ।

सामान्यतः यो समय बजार बढ्ने समय हो । अघिल्ला आर्थिक बर्षहरुको यो समयमा बजार बढ्थ्यो । तर अहिले घटिरहेको छ । त्यसमा पनि बजेट पछिका २ दिन लगातार किन घटिरहेको छ ? बजारको घट्दो क्रम र बजेटबीच खास सम्बन्ध नरहेको सेयर ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मी बताउँछन् ।

‘लगानीकर्तालाई उत्साही बनाउने कार्यक्रम नआए पनि यो बजेटले हतोत्साही बनाएको छैन, बजेटका कारण लगानीकर्ता डराएका वा आत्तिका हुन् जस्तो मलाई लाग्दैन,’ एसोसिएसनका अध्यक्ष रेग्मीको भनाइ छ ।

बजेट नभए कारण के हो त ?
बोर्डका कार्यकारी निर्देशक गिरी बजेटभन्द अन्य कारण रहेको हुन सक्ने बताउँछन् । वा बजारको स्वभाविक गति अनुसार नै बजार घटबढ भइरहेको हुन सक्ने उनको विश्लेषण छ ।

एसोसिएनका अध्यक्ष रेग्मी बजेट बाहेकका २ वटा कारणले बजार घटाइरहेको बताउँछन् ।

‘पहिलो कुरा त चुनाब सरेको सर्यै छ, यसले पनि लगानीकर्तामा निरासा छाएको देखिन्छ, अर्काे महत्वपूर्ण कुरा भनेको लगानीकर्ताले ऋण पाएका छैनन्, बैंकले ऋण नदिदा लगानीकर्ताले ठूलो समस्या भोगेका छन्,’ रेग्मी भन्छन् । बुधबार साढे १ बजेसम्ममा बजार १० अंकभन्दा बढीले घटेको छ ।


क्लिकमान्डु