सरकारको घोषणा: ७ वर्षमै नेपालको उर्जामा ५५ खर्ब लगानी 



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि उर्जा क्षेत्रमा ६२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । तर, बजेटमै आगामी ७ वर्षमा उर्जामा ५५ खर्ब रुपैयाँभन्दा बढी रकम लगानी गर्ने कार्यक्रम घोषणा गरेको छ ।

‘उज्यालो नेपाल अभियान’ अन्तर्गत ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम मार्फत् ७ वर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गरिनेछ,’ अर्थमन्त्रीले सोमबार संसदमा प्रस्तुत गरेको बजेट भाषणमा भनिएको छ ।

सरकारी लक्ष्यअनुसार काम हुने हो भने १ वर्षमा उर्जा क्षेत्रमा ८ खर्ब रुपैयाँ लगानी हुनुपर्छ । ८ खर्ब भनेको आगामी आर्थिक वर्षको देशको कूल बजेटको ६० प्रतिशत हो भने यो रकम हालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को ३२ प्रतिशत हो ।

नेपालमा जलविद्युत उत्पादन हुन थालेको १ सय ५ वर्ष भयो । यो अवधिमा करिब १००० मेगावाट मात्रै विद्युत उत्पादन भएको छ । यो कूल विद्युत उत्पादन क्षमताको १ प्रतिशतभन्दा कम हो ।

सरकारी तथ्यांकअनुसार नेपालमा १ मेगावाट विजुली निकाल्न औषतमा १८ करोड रुपैयाँ लाग्छ । मुद्रास्फितिका कारण यो लागत बढ्न पनि सक्छ ।

मुद्रास्फिति नजोडी भन्ने हो भने पनि सरकारले घोषणा गरेको १७ हजार मेगावाट बिजुली उत्पादन गर्नका लागि ३० खर्ब रुपैयाँभन्दा बढी लगानी गर्नुपर्ने हुन्छ ।

उत्पादित बिजुलीलाई उपभोक्तासम्म पुर्याउनका लागि उत्तिकै ठूलो धनरासी खर्च गर्नुपर्छ । १७ हजार मेगावाट बिजुलीलाई उपभोत्तासम्म पुर्याउन ट्रान्समिसनलाइन र वितरण प्रणालीमा २५ खर्ब रुपैयाँभन्दा बढी लगानी गर्नुपर्ने हुन्छ ।

अहिलको अवस्थालाई आधार मानेर विश्लेषण गर्ने हो भने सरकारको यो महत्वकांकक्षी घोषणा पूरा हुने देखिँदैन ।

विश्व बैंक भन्छ- १३ वर्षमा ८५०० मेगावाट, २७ खर्ब लगानी

हालको अवस्थालाई विश्लेषण गरेर विश्व बैंकले नेपालले आगामी १३ वर्षमा अर्थात् सन् २०३० सम्ममा ८ हजार ५ सय ७१ मेगावाट बिजुली उत्पादन गर्ने प्रतिवेदन सार्वजानिक गरेको छ ।

विश्व बैंकले केही दिनअघि सार्वजानिक गरेको ‘क्लाइम्बिङ हाइयर टुवार्ड अ मिडिल–इनकम नेपाल’ नामक प्रतिवेदनमा आगामी १३ वर्षमा नेपालमा विद्युत उत्पादनमा १५ खर्ब र प्रसारणलाइन तथा वितरण प्रणालीमा १२ खर्ब रुपैयाँ लगानी हुने उल्लेख छ ।

विश्व बैंकका अनुसार सन् २०३० सम्ममा नेपालले ३७ सय मेगावाट विद्युत उत्पादन क्षमताका ५ वटा आयोजनाहरु निर्माण गर्नेछ । यी आयोजनामा ७ खर्ब २ अर्ब रुपैयाँ लगानी हुनेछ ।

त्यसैगरी, सन् २०३० सम्ममा ३३ सय ६५ मेगावाट विद्युत उत्पादन क्षमताका ९ जलविद्युत आयोजना सम्पन्न भइसक्नेछन् । यी आयोजनामा ६ खर्ब ४ अर्ब रुपैयाँ लगानी हुनेछ ।

सोही अवधिमा १०० मेगावाटभन्दा साना १५ सय ६ मेगावाट विद्युत उत्पादन क्षमताका १ सय १७ वटा आयोजना सम्पन्न भइसक्नेछन् । यी आयोजनामा १ खर्ब ४ अर्ब रुपैयाँ लगानी हुनेछ ।

यो उत्पादन भएको बिजुलीलाई उपभोक्तासम्म पुर्याउनका लागि प्रसारण लाइन र वितरण प्रणालीमा ११ खर्ब ६ अर्ब रुपैयाँ लगानी हुने विश्व बैंकले जनाएको छ । यसरी सन् २०३० सम्ममा नेपालको उर्जा क्षेत्रमा कूल २७ खर्ब लगानी हुने विश्व बैंकको तथ्यांक छ ।

तर, विश्व बैंकले आगामी १३ वर्षमा हुने देखेको कामभन्दा दोब्बर बढी काम ७ वर्षमै गर्ने सरकारले घोषणा गरेको हो ।

१ सय ५ वर्षमा १००० मेगावाट मात्रै

नेपालमा जलविद्युत उत्पादन हुन थालेको १ सय ५ वर्ष भयो । यो अवधिमा करिब १००० मेगावाट मात्रै विद्युत उत्पादन भएको छ । यो कूल विद्युत उत्पादन क्षमताको १ प्रतिशतभन्दा कम हो ।

एक अध्ययन अनुसार नेपालको कूल जलविद्युत उत्पादन क्षमता ८३ हजार मेगावाट हो, यो बाहेक हावा, सौर्यलगायतबाट पनि ठूलो मात्रामा विजुली उत्पादन गर्न सक्ने संभावना छ ।

सन् १९११ मा ५ सय किलोवाट उत्पादन क्षमताको फर्पिङ जलविद्युत आयोजना सुरु भएपछि नेपालमा जलमार्फत विद्युत उत्पादन गर्न थालिएको हो । फर्पिङ जलविद्युत आयोजना दक्षिण एशियाकै सुरुवाती चरणको आयोजना हो ।

नेपाल प्रतिव्यक्ति जलविद्युत उत्पादन क्षमताका हिसाबले विशवकै धनी देशहरुको सूचिमा अग्र स्थानमा आउँछ । तर, नेपालले त्यसको उपयोग गर्न सकेको छैन ।

तसर्थ, यस्तो इतिहास रहेको नेपालमा सरकारले आगामी ७ वर्षमा १७ हजार मेगावाट बिजुली निकाल्छु भन्दा पत्याउन सक्ने बलियो एउटा पनि आधार देखिँदैन ।

किनभने यति ठूलो मात्रामा विजुली उत्पादन गर्नका लागि बिजुलीमा मात्रै नभई अन्य आवश्यक पूर्वाधारमा समेत ठूलै लगानी गर्नुपर्ने हुन्छ । न त अहिले यो हदसम्मको ठूलो लगानी आउने वातावरण नै छ ।

०४६ सालको राजनीतिक परिवर्तनदेखि चर्चामा रहेका ठूला आयोजना पञ्चेश्वर, अरुण तेस्रो, माथिल्लो कर्णाली लगायतका आयोजनाहरुको अवस्था अझै के हुने भन्ने अन्योलमै छ ।

आफ्नो धरातल विर्सिएर ‘हामीले यस्तो घोषणा गरेका थियौं तर सरकारमा नभएकाले कार्यान्वयन गर्न पाएनौं’ भन्दै जनतालाई झुक्याएर सस्तो लोकप्रियता कमाउनका लागि सरकारमा बस्नेहरु यस्ता घोषणा गर्ने रोगबाट ग्रस्त छन् ।


पुष्प दुलाल