काठमाडौं । संघीय संरचना अनुसार नेपालमा पहिलो पटक बजेट आउदै छ । देश संघीय संरचनामा गएपछि आउने बजेटलाई निकै प्राथमिकता साथ हेरिएको छ ।
देशमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सकिएको छ । दोस्रो चरणको निर्वाचन हुने चरणमा छ । निर्वाचन आचारसंहिताका कारण यसपटको बजेटमा राजनीतिक र लोकप्रिय कार्यक्रम हुने छैनन् ।
बजेटका बारेमा आम जनताको चासो हुन्छ । राजनीतिक दलहरुको प्रतिष्ठाको बिषय पनि बन्ने गरेको बजेट बारे सर्बसाधारणको भने त्यति चासो नहुने देखिएको छ ।
बजेटबारे सर्बसाधारणले कस्तो चासो राखेका रहेछन् भनेर हामीले काठमाडौंमा सामान्य काम गरिरहेका केही सर्बसाधारणसँग कुरा गरेका थियौं ।
काठमाडौंमा भारी बोकेर आफ्नो गुजारा चलाउदै आएका दोलखाका ४२ वर्षीय हरिबहादुर बस्नेत आज बजेट आउने कुरा थाहा भएको बताउछन् । सरकारले हरेक वर्ष ल्याउने गरेको बजेटबारे उनले सुन्दै आएका छन् । तर, सरकारले ल्याउने बजेटले गरिब दुखीलाई छुन नसकेको उनको बुझाइ छ ।
‘बजेट आएपनि हामीलाई केहि हुने हैन, भारी नबोकि खान पाउँदैनौ, बजेट भन्दा हामीलाई खान दिने नाम्लोको चासो बढी छ,’ हातको नाम्लो देखाउदै बस्नेतले भने ।
विगत ३० वर्षदेखि काठमाडौंमा जुत्ता सिलाउने पेशा गर्दै आएका सर्लाहीका ५५ वर्षीय पुनितराम चमार आफूलाई बजेट आउने कुरा थाहा नभएको बताउँछन् ।
‘फुटपाथमा बसेर काम गरिरहेको छु, सरकारले काम गर्नका लागि उपयुक्त स्थानको व्यवस्था गरिदिए हुन्थ्यो, त्यस्तो व्यवस्था भएमा हामीलाई अलिक सजिलो हुने थियो, बजेट के हो, कहिने आउछ भन्ने थाहा भएन,’ चमारले भने ।
साइकलमा प्लास्टिकको झोलाका व्यापार गर्ने सर्लाहीका ३८ बर्षीय सन्तोषकुमार गुप्ता बजेट आउने बारे आफूलाई जानकारी नभएको बताउँछन् ।
‘बजेट भन्ने कुरा त सुनेको हो, तर, यो बजेटको काम के हो भन्ने मलाई केही थाहा छैन,’ गुप्ताको भनाइ छ ।
‘बजेट आएपनि नआएपनि हामीलाई हुने केही हैन, हाम्रो सामानको विक्री हुनु पर्यो, गरि खान पाउनु पर्छ,’ गुप्ताले भने ।
सिन्धुलीका ३२ वर्षीय विष्णुकुमार श्रेष्ठ देश विकासका लागि बजेट एकदमै महत्वपूर्ण भएको बताउँछन् । बजेट विशेष गरी शिक्षा, स्वास्थ्य, सडक र पुर्वाधार केन्द्रित हुनु पर्ने श्रेष्ठको धारणा छ ।
‘देशको प्रमुख समस्या भनेको बेरोजगारी हो, युवालाई दिर्घकालीन लाभ हुने किसिमको योजना बजेटबाट पास हुनु पर्छ,’ श्रेष्ठले भने ।
फुटपाथमा बेलुन र कट एण्ड क्याण्डीको ब्यापारी २० बर्षीय रौतहट निवासी चन्दन यादवलाई बजेट भनेको के हो भन्ने थाहा छैन ।
कट एण्ड क्याण्डीको साथीसँगको पार्टनसिपमा आफै उत्पादन गर्ने गरेको र बेलुन भारतबाट ल्याएर बेच्ने गरेको उनी बताउँछन् ।
२ कक्षासम्म अध्ययन गरेको बताउने यादव ग्राहकले आफ्नो सामान किनदिए राम्रो हुने बताए ।
प्रतिक्रिया