भाषण अनुसारको आर्थिक उपलब्धि हासिल गरे त मोदीले ?



सन् २०१४को मे महिनामा ऐतिहासिक जनसमर्थनका साथ नरेन्द्र मोदी भारत सरकारको प्रधानमन्त्री बनेका थिए । उनको प्रमु्ख चुनावी मुद्दा आर्थिक विषयवस्तु थिए । लगानीकर्ताहरुले लगानीमैत्री बातावरणको आशा गरेका थिए भने १ सय २५ करोड भारतीयहरुले थप रोजगारी र गरीबी न्युनीकरणको अपेक्षा गरेका थिए ।

उनले सत्ता सम्हालेको ३ बर्ष बितिसकेको छ । के मोदीले आफ्ना बाचाहरु पुरा गरे त ? तथ्याङ्कहरुले भ्रम सृजना गर्न सक्छन् । तर, यसको आफ्नै महत्व पनि छ । यहाँ तथ्याङ्कहरु र बिभिन्न सूचकहरुको माध्यमबाट मोदी सरकारको उपलब्धीको बिश्लेषण गरिएको छ ।

जीडीपी

अल्पसंख्यकहरु माथि हिंसा भड्काएको आरोप लागेको मोदी सरकारलाई जीडीपीले केही राहत दिएको छ । भारतले गत ३ बर्षमा ७ प्रतिशतको जीडीपी बृद्धि गरेको छ । कतिपय त्रैमासहरुमा भारतले यस सूचाङ्कका आधारमा चीनलाई समेत उछिनेको छ ।

तर, जनस्तरमा खासै केही सुधार नआएकाले यस बृद्धिको अर्थ छैन भन्ने आवाज पनि उठिरहेको छ । जीडीपीको गणना गर्ने प्रक्रियामा पनि केही फेरबदल गरिएको छ, जसले जीडीपीको आकार बढाउने ठूलो मद्दत गरेको छ । केही अर्थशास्त्री र राजनीतिक बिश्लेषकहरुले गणना गर्ने प्रक्रियाको परिवर्तन र त्यसको समयलाई लिएर आवाज उठाएका छन् ।

मुल्यबृद्धि

मुल्यबृद्धिले मोदी सरकारलाई ठूलो राहत दिएको छ । मोदी प्रधामन्त्री भएको समयमा भारतको मुल्यबृद्धि ८.३३ प्रतिशत थियो । गत अप्रिल महिनामा भारतको मुल्यबृद्धि २.९९ प्रतिशत थियो ।
तरकारीको मुल्यबृद्धि पनि १०.७२ प्रतिशतबाट ८.५९ले नकारात्मकमा झरेको छ । खाद्य मुल्यबृद्धि ८.८९ प्रतिशतबाट ०.६१ प्रतिशतमा आइपुगेको छ । तर, यसको जस कसलाई दिने भन्ने प्रश्न पनि नउठ्ने होइन । धेरैले तेलको मुल्यमा आएको गिरावटलाई मुल्य घट्नुको प्रमुख कारणको रुपमा अथ्र्याएका छन् । जब कच्चा तेलको मुल्य बढ्छ, तब मोदीको कठिन परिक्षा आरम्भ हुने देखिन्छ ।

औद्योगिक उत्पादनको सुचाङ्क

मोदी सरकारको समयमा औद्योगिक गतिबिधि कमजोर देखिएको छ । अर्थतन्त्रमा उपभोक्तको मुड बताउने टिकाउ उपभोग्य बस्तुहरुको उत्पादन कमजोर देखिएको छ ।

टिकाउ उपभोग्य बस्तुहरुको उत्पादन सन् २०१४को मे महिनाको ११.१ प्रतिशतबाट सन् २०१७ को मार्चसम्म आइपुग्दा ०.८ प्रतिशतले नकारात्मक रहेको छ ।

सेन्सेक्स

भारतीय सेयर बजार मोदीसँग निकै आकर्षित रहेको सबैले जानेकै कुरा हो । मोदीले चुनाव जित्ने बित्तिकै मुम्बई स्टक एक्सचेन्जको सूचाङ्क सेन्सेक्स १५ सय अंकले बढेको थियो ।

गत ३ बर्षमा सेन्सेक्सको न्युनतम बिन्दु २२ हजार ९ सय ५१ बाट बढेर ३१ हजार हाराहारी पुगिसकेको छ । सन् २०१४को मे सेन्सेक्स २४ हजार हाराहारी थियो । यसबीच सेयर लगानीकर्ताको सम्पत्ति २७.३ प्रतिशतले बढेको छ । मुम्बइ स्टक एक्सचेन्जको कुल बजार पूँजीकरण हाल २ ट्रिलियन अमेरिकी डलर भन्दा बढी छ ।

प्रत्यक्ष बैदेशिक लगानी

मोदीले सत्ता सम्हाले यताको ३ बर्षमा भारतमा १ सय ५० अर्ब डलर भन्दा बढीको प्रत्यक्ष बैदेशिक लगानी आएको छ । अघिल्लो सरकारको पालामा अर्थात सन् २०११ देखि २०१४ सम्मका भारतमा १ सय १७ अर्ब डलरको प्रत्यक्ष बैदेशिक लगानी भित्रिएको थियो ।

निर्यात

मोदीको पालामा भर्खरै मात्र निर्यातले केही गति लिन थालेको छ । गत ३ महिनामा औसत निर्यातमा २१ प्रतिशतको बृद्धि भएको छ । यो भन्दा अघिको तथ्याङ्क भनृ कमजोर छन् ।

सन् २०१४को अन्त्य देखि सन् २०१६को मे सम्म निर्यातमा तिबै गिरावट आएको छ । अहिले केही सुधारउन्मुख देखिए पनि अमेरिका जस्ता राष्ट्रहरुले अपनाएको कडा नीतिका कारण आगामी दिनमा पनि निर्यातमा ठूलो बृद्धि हुने देखिंदैन । निर्यातमा आएको कमीसँगै आयातमा भने बृद्धि भएको छ । ब्यापार घाटा १३.२ अर्ब डलर पुगेको छ ।

खराब कर्जा

बढ्दो खराब कर्जाको समस्या मोदी सरकार र भारतीय रिर्जभ बैंकको टाउको दुखाइको बिषय भनेको छ, पछिल्लो ३ बर्षमा । सन् २०१४को जुन महिनामा खराब कर्जा २.३४ लाख करोड भारु थियो भने अहिले त्यो बढेर ६.४६ लाख करोड भारु पुगिसकेको छ ।

रिर्जभ बैंक अधिकारीका अनुसार बिभिन्न समस्याग्रस्त कर्जालाई पनि समेट्ने हो भने यो संख्या २० लाख करोड भारु पुग्नेछ ।


पुष्प दुलाल