न्यून आर्थिक बृद्धिदरका बाबजुद नेपालले कसरी घटायो गरीबी ?



काठमाडौं । पछिल्लो समयमा नेपालले गरीबी र आर्थिक असमानताको न्यूनीकरणमा ठूलो प्रगती गरेको छ । नेपालको दक्षिण एसियाली मुलुकहरुको तुलनामा बेरोजगारी दर कम छ । र, श्रम शक्तिमा महिलाहरुको सहभागिता बढि छ । समावेशी बिकासको सुचांकमा नेपाल ब्राजिल, भारत जस्ता देशहरु भन्दा पनि अघि छ ।

नेपालको संरचनागत समस्याहरुलाई समेत मध्यनजरमा राखेर हेर्ने हो भने त अझ नेपालको उपलब्धी अभुतपूर्व नै देखिन्छ । नेपाल भुपरिवेष्ठित देश हुनु आफैंमा बिकासका लागि प्राकृतिक अबरोध हो । यसका अलावा लामो राजनीतिक संक्रमणका बावजुद नेपालले ‘मिलेनियम डेभलप्मेन्ट गोल्स’ का धेरै लक्ष्यहरु प्राप्त गरेको छ ।

तर, आफ्ना छिमेकीहरुले तीब्र आर्थिक बृद्धि गर्दै गर्दा नेपालको जुम्सो आर्थिक बृद्धिदर आफैंमा स्वीकार्य बिषय भने होइन । पछिल्ला बर्षहरुमा नेपालको आर्थिक बृद्धिदर भुटान र अफ्गानीसतानको भन्दा पनि कम रहेको छ । आतंकबाद र दशकौं लामो गृहयुद्धको चपेटामा परेका पाकिस्तानका र श्रीलङ्काको भन्दा पनि नेपालको आर्थिक बृद्धि कम रहको छ ।

नेपालको यस्तो अनौठो बिकास उपलब्धी उच्च र निरन्तरको रेमीट्यान्सको माध्यमबाट ब्याख्या गर्न सकिन्छ । बिश्वको धेरै देशहरुमा आर्थिक बृद्धि तिब्र भएको छ, तर गरीबी न्युनीकरण भने भएको छैन । यसको मतलब आर्थिक लाभ सिमित उच्च बर्गमा मात्र सिमित भएको छ ।

तर, नेपालमा भने यसको ठ्याक्कै यसको उल्टो भएको छ । मानव स्रोतको निर्यात र उनीहरुले पठाएको रेमीट्यान्सको कारण यस्तो भएको हो । सन् १९९६ मा ४ जनामा एक जनाले नेपालमा कुनै न कुनै रुपमा रेमीट्यान्सको पैसा उपभोग गर्थे भने सन् २०११ सम्म आइपुग्दा २ जनामा १ जना भन्दा पनि बढिले रेमीट्यान्सको पैसा उपभोग गर्ने गरेका थिए ।

यसको मतलब नेपालले प्राप्त गर्ने रेमीट्यान्समा तिब्र बृद्धि भएको छ । सन् १९९० मा नेपालको रेमिट्यान्स जीडीपीको १ प्रतिशतभन्दा कम थियो भने सन् २०१५ सम्म आइपुग्दा ३० प्रतिशतको हाराहारी पुगेको छ ।

तर, केही सकारात्मक असरका बावजुद विभिन्न कारणले यो नेपाली अर्थतन्त्रका लागि दिगो वाञ्छनीय र उपयुक्त बाटो भने होइन । यसले नेपालको आर्थिक बृद्धिलाई बाह्य अनुकुलतासँग जोड्छ । यसका अलावा बढ्दो रेमीट्यान्सले आयात बढाउनुका साथै नेपाली मुद्राको सटही दर पनि बढाउँछ, जसले फेरी पनि आयातलाई नै प्रोत्साहन गर्दछ ।

ठूलो संख्याको बैदेशीक रोजगारीका कारण देश भित्रै रोजगारी सृजना गर्ने दबावमा पनि कमी आएको छ । त्यसैले नेपाल अन्तत उच्च बैदेशीकीकरण र न्यून आर्थिक बृद्धिको चपेटामा फसेको छ ।

तराइ, पहाड र हिमालमा बाँडिएको नेपालको जटिल भौगोलीक अवस्थितीले पनि नेपालको बिकासमा चुनौती थपेको छ । भुकम्प जस्ता प्रकृतिक प्रकोपले पनि नेपाललाई ठूलो असर पुर्याइरहेको छ । यसका अलावा जटिल राजनीतिक संक्रमणले पनि नेपालको खुट्टा तानेकै हो ।


पुष्प दुलाल