बैंकिङ प्रणालीमा ४८ अर्ब तरलता, चुनाब सकियो,- अब कति पुग्ला ?




काठमाडौं । लामो समयसम्म लगानी योग्य पुँजी (तरलता) अभावको चापमा परेको बैंकिङ क्षेत्रलाई पछिल्ला २ महिना भने तरलताको सहज अवस्था छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा ४८ अर्ब रुपैयाँ तरलता छ । यो भनेको पर्याप्त होइन, तर सहज अबस्था भने हो ।

‘अहिले बैंकिङ प्रणालीमा तरलताको अवस्था सहज छ, चुनाबपछि अझ बढी सहज हुन्छ,’ राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले क्लिकमाण्डूसँग भने ।

बैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा अर्बौं रकम खर्च भएकाले त्यो रकम बैंकिङ सिस्टममा फर्किएपछि तरलता अझ धेरै सहज हुने राष्ट्र बैंकका अधिकारीहरुको बुझाइ छ ।

पहिलो चरणको स्थानीय निकायको निर्वाचनमा ६०/७० अर्ब रुपैयाँभन्दा बढी खर्च भएको अनुमान छ ।

तरलताको अवस्था सहज भएपनि पछिल्ला केही दिनमा अन्तर बैंक व्याजदर भने केही बढेको प्रबक्ता पौडेलले बताए ।

अहिले एक बैंकले अर्को बैंकसँग लिने सापट अर्थात् अन्तर बैंक कारोबारको व्याजदर ४ प्रतिशत पुगेको छ । एक/डेढ महिनाअघि यस्तो व्याजदर १ प्रतिशतसम्म झरेको थियो ।

तर, गत पुस/माघ तिर बैंकिङ प्रणालीमा ऋणात्मक तरलता भएको अवस्थामा भने अन्तर बैंक कारोबारको व्याजदर साढे ७ प्रतिशतसम्म पुगेको थियो ।

हाल वाणिज्य बैंकहरुले १९ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १६ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

चुनाबपछि थप ३०/४० अर्ब रुपैयाँ तरलता बढ्ने उनको अनुमान छ । जसअनुसार जेठ अन्त्यतिर बैंकिङ प्रणालीमा ८०/९० अर्ब रुपैयाँ तरलता हुने देखिन्छ । जेठ ३१ मा दोस्रो चरणको चुनाब भयो भने फेरि असार र साउनमा तरलता फालाफाल हुनसक्ने बैंकरहरु बताउँछन् ।

तरलता बढे पनि जेठ र असार आर्थिक वर्षको अन्तिम महिना भएकाले बैंकहरु कर्जा विस्तारमा भन्दा ऋण असूलीमा विषेश जोड दिन्छन् ।
तर, वासलातको आकार ठूलो देखाउन कतिपय बैंकहरुले यो अवधिमा पनि आकर्षक व्याज दिएर निक्षेप तान्छन् ।

बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा निक्षेपकर्ताले बढी व्याज पाउँछन् । तर, ऋणको व्याजदर महंगो हुने भएकाले बैंकबाट ऋण लिएर उद्योग व्यवसाय गर्नेहरु भने निरुत्साहित हुन्छन् ।

तरलता बढेसँगै व्याजदर घट्ने र स्थानीय निकायको निर्वाचनसँगै तुलनात्मकरुपमा मुलुकमा बढी राजनीतिक स्थायित्व हुने हुँदा आगामी आर्थिक वर्षमा नयाँ उद्योग व्यवसायहरु थपिने अनुमान लगाउन सकिन्छ ।


पुष्प दुलाल