बाँदर ब्यापारीको कथा र सेयर बजार



एकादेशमा एउटा गाउँ थियो । चारैतिर पहाडले घेरेको कचौरा आकारको त्यो गाउँ वरिपरी घना जंगल थियो । वा भनौ, जंगलको काखमै थियो त्यो गाउँ ।

गाउँलेहरु जंगलसँग घाँसपात, काठ दाउरा लगायत फलफूलसम्मका लागि आश्रित थिए । सभ्यताको बिकाससँगै उनीहरुले जंगलका केही भाग मासेर खेती किसानी पनि शुरु गरे । सागसब्जी र अन्नपातका लागि पनि खासै समस्या थिएन ।

सानो गाउँ, थोरै जनसंख्या तर, प्रचुर प्राकृतिक स्रोतका कारण उनीहरुको आर्थिक स्थिति पनि उकासिंदै गयो । केही नगद वा जिन्सी पनि बचत गर्न थालेका थिए । गाउँमा शान्ति र हाँसीखुसी नै थियो ।

बाँदर ब्यापारीको आगमन
यसैबीच गाउँमा एकदिन कुनै सहरबाट आएको जस्तो देखिने ब्यापारी पस्यो । उसले गाउँलेहरु सबैलाई भेला पारेर आफू गाउँ पस्नुको उद्देश्य सुनायो । उसको उद्देश्य थियो बाँदर किन्ने ।

गाउँलेहरुले मनोरञ्जनका लागि केही बाँदर घरमै राखेको बारे उसले चाल पाएको थियो । र, नजिकै जंगल पनि भएको तथा आवश्यक परे थुपै बाँदर समाउन सकिने भएकाले आफू यस गाउँमा आएको उसले बतायो । प्रत्येक बाँदर सय रुपैयाँमा किन्ने प्रस्ताव उसले गर्यो ।

कुनै काम नलाग्ने बाँदर, त्यसमा पनि बेलाबेला अन्नबालीमा उछलकुद मच्चाएर नोक्सान पुर्याउने बाँदर १०० रुपैंयाँमा बेच्न पाइने भएपछि गाउँलेहरु हर्षित भए ।

अनि कसैले आफूले घरमा राखेको त कसैले जंगलको छेउछाउबाट समातेर प्रतिबाँदर १०० रुपैंयाँको दरले त्यो ब्यापारीलाई बेचे । ब्यापारी खुशी भयो । गाउँलेहरु पनि फोकटमा केही अतिरित्त आम्दानी गरेकोमा मख्ख भए ।

सेयर बजारमा पनि यस्ता धेरै ‘बाँदर सेयरहरु’ हुन्छन् । जसको आधारभूत मूल्यांकन कौडी बराबर पनि हुँदैन ।

त्यसको तीन महिना पछि त्यो ब्यापारी फेरि गाउँ आयो । उसले आफूलाई अझै धेरै बाँदरको आवश्यकता भएको बतायो । र, यसपाली १०० रुपैंयाँ होइन, प्रतिबाँदर २०० रुपैंयाँमा खरिद गर्ने बतायो । गाउँलेहरु खुसी नहुने कुरै भएन । महिलाहरुलाई खेतीपाती र घरबारको काम सुम्पेर पुरुषहरु बाँदर समाउन जंङ्गल पसे । थुप्रै बाँदरहरु समाए । र, प्रतिबाँदर २०० रुपैंयाँको दरले बेचे । गाउँलेहरुमा खुसीको सीमा थिएन । उनीहरुको आर्थिक अवस्था निकै माथि आउन थालेको थियो । खेतीपाती चलेकै थियो । त्यसमाथि बाँदरको अतिरित्त आम्दानी थपियो ।

यसैबीच गाउँलेहरु एकापसमा पनि बाँदर किनबेच गर्न थाले । केही महिना अघि कौडीको भाउमा पनि नबिक्ने बाँदरको मुल्य गाउँमै पनि २०० रुपैंयाँ पुगिसकेको थियो ।

बाँदर ब्यापारीको पुनरागमन
त्यसको केही महिना पछि ब्यापारी फेरि गाउँ पस्यो । यसपाली ऊ पहिलेजस्तो सामान्य ढंगले बाँदर किन्न मात्र नभएर गाउँलेहरुका लागि ठूलो सपना पनि लिएर आयो ।

‘बाँदरको छालाबाट सहरमा मान्छेका लागि चाहिने महङ्गा महङ्गा औषधी बन्न थालेको छ, जुन बिदेशमा समेत निर्यात हुन्छ । त्यसकारण अब म जती पनि बाँदर किन्न सक्छु । सहरमा बाँदरको मागको कुनै सीमा छैन । तपाईंहरु जति सक्नुहुन्छ त्यती बाँदर जम्मा पारेर राख्नुस् । र, अबदेखि म तपाईंहरुलाई २०० सय होइन, प्रतिबाँदर ४०० रुपैंयाँ दिनेछु,’ उसले भन्यो ।

त्यसपछि ऊ तीन महिना पछि आउने र जम्मा भएका सबै बाँदर ४०० रुपैंयाँको दरले किन्ने बाचा गरेर गयो ।

अब गाउँलेहरुको पूरै ध्यान बाँदर संकलन गर्नेमा केन्द्रित भयो । यति सजिलो तरिकाले पैसा कमाउन सकिने भएपछि खेत बारी किन खोस्रनु ? अब पुरुषहरु मात्र नभएर महिला केटाकेटीहरु समेत बाँदर संकलन गर्ने काममा लागे । ससुराली, माइती, मावली र आफन्तहरुलाई पनि गुहारे । पुरुषहरु घनाजंङ्गल पसे । कोही अरु गाउँ छिरे । खेतीपाती ठप्प भयो । भोकले कराएका गाई बाख्रालाई आहारा खुवाउने कोही भएन । बालीनाली सखाप भयो, गाईबस्तु सिक्रा जस्ता हुन थाले ।

गाउँ नै यसरी बाँदरमय भएको बेला सहरबाट गाउँ घुम्न ३ जना युवाहरु आए । उनीहरुले गाउँलेहरु यसरी सबै काम छोडेर बाँदरको पछाडी लाग्नुको कारण सोधे । गाउँका बुज्रुकहरुले सबै बेलीबिस्तार लगाए । त्यसपछि युवाहरुले आफुले गाउँलेहरुलाई मद्दत गर्न सक्ने बताए ।

‘हामीसँग धेरै बाँदरहरु छन् । तपाईंहरुलाई चाहिए जति हामी उपलब्ध गराउन सक्छौं । तर, हामी प्रत्येक बाँदरको ३ सय ५० रुपैंयाँ लिन्छौ,ं’ उनीहरुले भने ।

गाउँलेहरुले नमान्ने कुरै थिएन । ३ सय ५० मा लिएर १ महिनामै ४ सय रुपैंयाँमै बेच्न पाउने भएपछि उनीहरु हौसीए । गाउँलेहरुले सहमति जनाएपछि २ जना युवाहरु बाँदर लिएर आए ।

गाउँलेहरु भने ३५० रुपैंयाँको दरले बाँदर किन्न पैसाको जोहो गर्न थाले । उनीहरुले गाई बस्तु बेचे, जम्मा भएको अन्नपात जिम्मा लगाए । जग्गा जमिन बेचे, महिलाहरुले नाक, कान बुच्चै बनाए ।

केही दिन पछि ती युवाहरु बाँदर लिएर आए । बाँदरहरु निकै धेरै थिए । गाउँलेहरुले पहिले १०० र २०० रुपैंयाँमा बेचेको भन्दा पनि धेरै । उनीहरुले आफ्नो सारा सम्पत्ति खर्च गरेर, ऋण काढेर र बचत मासेर ३५० रुपैंयाँको दरमा ती सबै बाँदर किने । युवाहरु लाखौं रुपैंयाँ जम्मा पारेर हिंडे ।

गाउँलेहरु अब ब्यापारी आउँछ र सबै बाँदर ४०० रुपैंयाँको दरमा किनेर लैजान्छ भनेर बाटो हेरेर बसे । १ महिना बित्यो आएन । २ महिना बित्यो आएन । ३ महिना बित्यो आएन । बर्षौं बितिसक्यो तर, न त्यो ब्यापारी आयो न उनीहरुलाई बाँदर भिडाउने युवाहरु नै देखापरे । गाउँभरी बाँदर नै बाँदर छन् । कराएर सुत्न बस्न दिंदैनन् । गाइबस्तु छैनन् । खेतबारी बाँझैं छन् । अन्न पात छैन । छ त केवल ऋण र बाँदर ।

३५० रुपैंयाँ हालेर किनेको बाँदरको भाउ कौडी बराबर भएको छ । कसैले सिंत्तैमा पनि लैजादैंन ।

सेयर बजारमा पनि यस्ता धेरै ‘बाँदर सेयरहरु’ हुन्छन् । जसको आधारभूत मूल्यांकन कौडी बराबर पनि हुँदैन । तर, माथिको छ्ट्टु ब्यापारीले बाँदरको भाऊ बढाए झैं बजारका ठूला र खेलाडी भनिने लगानीकर्ताहरुले अनेक हल्ला चलाई यस्ता सेयरहरुको मूल्य माथि लैजान्छन् । र, अझै बढ्ने भ्रम छर्छन् । अन्ततः उनीहरु त्यही उच्च मूल्यमा बेचेर निष्कन्छन् । र, साना लगानीकर्ताहरुलाई खाल्डामा हाल्छन् ।

अहिलेको नेपाली सेयर बजारमा पनि यस्ता धेरै सेयरहरु छन्, जसका आधारभूत अवस्था कमजोर छन् । तर, बिभिन्न कारणले मूल्य उच्च छन् ।

सेयर मूल्य भनेको कम्पनीको आधारभूत बिश्लेषणका अलावा डर, त्रास, भावना र सपनाको पनि संयुक्त अभिब्यक्ति हो । त्यसकारण सेयर खरिद गर्दा मूल्यमा मात्र ध्यान दिई आगामी दिनमा मूल्य बढ्ने आशमा मात्र सेयर किने बाँदर बटुले झैं हुनसक्ने अवस्थालाई नकार्न सकिन्न ।