अब फेसबुक र ट्वीटर फ्रिमा चलाउन दिन नपाईने



काठमाडौं। इन्टरनेट सेवा प्रदायकले कुनैपनि वेबसाइटहरु कुनैपनि अफरको नाममा निशुल्क दिन नपाउने भएका छन् ।

नेपाल दूरसंचार प्राधिकरणले कुनै वेबसाइटलाई फाइदा वा बजार प्रबद्र्धनमा सहयोग पुग्ने गरि इन्टरनेट सेवा प्रदायकले निशुल्क चलाउन पाइने व्यवस्था गर्न नहुने कानून बनाउन लागेको हो ।

यसको लागि प्राधिकरणले इन्टरनेट तटस्थता (नेट न्यूट्रालिटी) को नयाँ नियम बनाउने भएको छ । पछिल्ला दिनहरुमा विभिन्न अफरको नाममा निश्चित वेबसाइटहरु निशुल्क प्रयोग गर्न दिने गरेको भन्दै यसलाई नियमन गर्न निर्देशिका बनाउन लागिएको जानकारी दिएको छ ।

हाल नेपालमा यस्तो किसिमको कुनैपनि नियम कानून नभएको हुँदा यसको बारेमा अध्ययन गरेर निर्देशिका बनाउने प्राधिकरणको भनाई छ ।

प्राधिकरणले पहिलो चरणमा परामर्शदाता नियुक्त गरेर इन्टरनेट तटस्थताको अध्ययन गर्न लागेको प्राधिकरणका निर्देशक तथा सूचना अधिकारी पुरुषोत्तम खनालले जानकारी दिए ।

उनले आगामी दिनमा इन्टरनेट तटस्थतालाई ध्यान दिएर निर्देशिका बनाउने तयारी गरिएको बताए ।

‘पछिल्ला दिनहरुमा विभिन्न कम्पनीहरुले सिमित वेबसाइट चलाउँदा छुटको नाममा निशुल्क सेवा दिने गरेको पाईएको छ, नेट न्यूट्रालिटीको बारेमा अहिलेको अवस्थाको के छ भनेर अध्ययन गर्न लागिएको हो,’ उनले क्लिकमाण्डूसँग भने ।

प्राधिकरणले निर्देशिका बनाउन र अध्ययन गराउनका लागि परामर्शदाता नियुक्त गर्ने प्रकृया शुरु गरेको छ । परामर्शदाताले दिएको अध्ययन प्रतिवेदनको आधारमा प्राधिकरणले निर्देशिका बनाउने छ ।

हाल विभिन्न सेवा प्रदायकहरुले हचुवाको भरमा इन्टरनेट प्रयोग गर्दा विभिन्न वेबसाइटलाई छुट दिने गरेको भन्दै यो निर्देशिका ल्याउन लागिएको प्राधिकरणको भनाई छ ।

‘सेवा प्रदायकहरु फ्रि हुन थालेको हुँदा यो व्यवस्था ल्याउन लागिएको हो,’ खनालले भने ।

पछिल्ला दिनहरुमा मोबाइल सेवा प्रदायकहरुले विशेषरुपमा डाटा प्रयोगकर्ताहरुलाई आकर्षित गर्न विभिन्न वेबसाइट प्रयोग गर्दा छुट दिने वा निःशुल्क दिने गरेको पाईएको छ ।

छिमेकी मुलुक भारतमा पनि केही समयअघि फेसबुक कम्पनीले इन्टरनेट सेवा उपलब्ध गराउँदा फेसबुक निशुल्क गरेको भन्दै निकै आलोचना भएको थियो । त्यसपछि भारतीय नियामक निकायले इन्टरनेट तटस्थताको छुटै कानून बनाई लागू गरेको छ ।

नेपालमा पनि केही समयअगाडि केही मोबाइल सेवा प्रदायकहरुले फेसबुक, ट्विटर र यूट्यूब जस्ता समाजिक संजाल प्रयोग गर्दा इन्टरनेटको पैसा नलाग्ने अफर ल्याएका थिए ।

 

 

 

 


क्लिकमान्डु