कुमारीको इपिएस बढ्यो, एक अर्ब प्रोभिजन गर्दा पनि एनसीसीको नाफा १६ करोड



काठमाडौं । कुमारी र एनसीसी बैंकले एक आपसमा मर्जरमा जाने सम्झौता गरे । एनसीसीमा चारवटा विकास बैंकसहित कुमारी पनि मर्जरमा जाने सम्झौताले बैंकको पुँजी आठ पुग्ने थियो ।

तर,कुमारीको विशेष साधारणसभाले एनसीसीसँग मर्जरमा नजाने निर्णय गर्यो । अहिले कुमारी बैंक भने विकास बैंक र फाइनान्स कम्पनीलाई गाभेर ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याने तयारीमा छ । चारवटा विकास बैंक गाभेको एनसीसीमा एकपछि अर्को लफडा थपिदै छ ।

शनिवार दुबै बैंकको तेस्रो त्रैमासिक अवधीको वित्तीय विवरण प्रकाशित भएको छ । वित्तीय विवरण हेर्दा कुमारीको बृद्धिदर सुस्त देखिन्छ । यस्तै एनसीसीलाई मर्जरपछिको व्यवस्थापन गर्न केही समय लाग्ने देखिन्छ ।

अपरिस्कृत वित्तीय विवरण अनुसार कुमारी बैंकले चैत मसान्तसम्म ३७ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ । एनसीसी बैंकले १६ करोड ७३ लाख खुद नाफा गरेको विवरण प्रकाशित गरेको छ ।

तीन अर्ब २६ करोड चुक्ता पुँजी भएको कुमारी बैंकले चैत मसान्तसम्ममा ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै कर्जा प्रवाह ३४ अर्ब ४८ करोड छ । बैंकले ब्याज आम्दानीबाट ८१ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष कुमारी बैंकको ब्याज आम्दानी ७५ करोड थियो ।

यता एनसीसीले भने मर्जरको कारण ब्याज आम्दानी एक अर्ब ५४ करोड रुपैयाँ प्राप्त गरेको छ । तर मर्जरकै कारण उसको खुद नाफा १६ करोडमा खुम्चेको छ । बैंकले चैत मसान्तसम्ममा सम्भावित नोक्सानी व्यवस्थाको लागि १ अर्ब रुपैयाँ छुट्याएको छ ।

बैंकले आगामी दिनमा बिग्रको कर्जा उठाउन सक्यो भने राम्रो प्रगति हासिल गर्न सक्ने देखिन्छ । चार अर्ब ६७ करोड चुक्ता पुँजी रहेको एनसीसीको निक्षेप ५५ अर्ब रुपैयाँ छ भने कर्जा तथा लगानी ४८ अर्ब रुपैयाँ छ ।

सेयर लगानीकर्तालाई लाभांश दिने सक्ने हिसाबले हेर्दा कुमारीको प्रतिसेयर आम्दानी (इपिएस) २४ रुपैयाँ ६४ पैसा छ । अघिल्लो वर्ष कुमारीको इपिएस १९ रुपैयाँ ४३ पैसा थियो । एनसीसीको इपिएस भने १० रुपैयाँ ६३ पैसा छ ।


क्लिकमान्डु