महानगरका सडक अब रातभरी झिलिमिली, विज्ञापन राख्ने बाटो पनि खुल्यो




काठमाडौं । अब काठमाडौं महानगरपालिकाका सडकमा बत्ती नबाली गाडी चलाउन सकिने हुने भएको छ । महानगरपालिकाभित्रको सडकमा सोलार जडान गरेपछि रात्रीको समयमा सबारीको लाइटमा भर परेर सबारी चलाउनु पर्ने बाध्यता हट्ने भएको हो ।

महानगरपालिकाको सडक झिलिमी बनाउनका लागि बिके ट्रेडर्स एण्ड सप्लायर्सले १२ सय ८५ वटा सोलार प्यानल काठमाडौंका सडकमा जडान गरिरहेको छ ।

सोलार बत्तीले महानगरपालिका झिलिमिली बनाउन लागिएको काठमाडौं महानगरपालिकाको योजना अधिकृत रमेश घिमिरेले जानकारी दिए ।

‘काठमाडौंका सडकलाई उज्यालो बनाउन सोलार बत्ती राख्न लागिएको हो, सडक उज्यालो भएमा रात्रीको समयमा हुने अपराधमा कमि आउनुका साथै शहर सुन्दर देखिने छ,’ घिमिरेले क्लिमाण्डूसँग भने ।

सार्वजनिक निजी साझेदारी अन्तरगत सप्लायर्सले २०७३ कात्तिकदेखि सडकमा जडान गरिरहेको छ । सोलार प्यानलको लागत २४ करोड ३७ लाख रुपैयाँ छ ।

सार्वजनिक निजी साझेदारी अन्तरगत सप्लायर्सले २०७३ कात्तिकबाट सौर्य बत्ती जडान गर्ने स्वीकृति पाएको र आगमी मंसिरसम्म जडान कार्य सम्पन्न गर्नुपर्ने शर्त राखिएको अधिकृत घिमिरेले जानकारी दिए । यसरी जडान गरिएका सडक बत्ती अबको १० बर्षपछि महानगर अन्तरगत आउने ब्यवस्था गरिएको छ ।

कहिलेसम्ममा राखिसकिन्छ सडकमा सोलार बत्ती ?
सम्झौतामा आगामी कात्तिकसम्ममा सोलार प्यालन राखिसक्नु पर्नेछ । तर, प्राविधिक काम भएकाले दक्ष जनशक्तिको अभाव देखिएकाले थप ६ महिना कार्य अवधि थप गरिएको बिके ट्रेडर्स एण्ड सप्लायर्सका निर्देशक रोसन श्रीवास्तवले जानकारी दिए ।

कहाँ कहाँ राखिन्छ सोलार बत्ती ?
कलंकी, त्रिपुरेश्वर, थापाथली चोक, माइतिघर चोक, केशरमहल चोक, ठमेल क्षेत्र, क्षेत्रपाटी, सोह्रखुट्टे चोक, बालाजु हुँदै नयाँ बसपार्क क्षेत्रसम्ममा ४ सय सोलार बत्ती राखिने छ ।

दरबारमार्ग महेन्द्र शालिक चोक, काठमाडौं प्लाजा, कृष्ण पाउरोटी चोक, ज्ञानेश्वर चोक, मैतिदेवी–बत्तिसपुतली सडक खण्ड, मैतिदेवी डिल्लीबजार पुतलीसडक खण्डसम्म ३ सय वटा सोलार बत्ती राखिने महानगरले जानकारी दिएको छ ।

पुरानो बानेश्वर चोकबाट नयाँ बानेश्वर, शंखमुल पुल, तीनकुने, कोटेश्वर, जडिबुटी, नरेफाट, पुरानो बानेश्वरबाट भिमसेन गोला हुँदै सिनामंगल चोकसम्म ३ सय ८५ वटा बत्ती राखिने छ ।

अनामनगर हनुमानथान, बिजुली बजार, नयाँ बानेश्वर खण्ड, गौशला, चाबहिल, चुच्चेपाटी, बौद्ध हुँदै जोरपाटीसम्म २ सय वटा बत्ती राखिने छ ।

यी ठाउँमा राखि सकियो सोलार
हाल सोलार बत्ती बानेश्वर–तीनकुने खण्डमा राखिसकेको छ । बानेश्वर–पुरानो बानेश्वर खण्डमा बत्ती राख्ने कार्य तीब्र गतिमा हुदै गरेको निर्देशक श्रीवास्तव बताउँछन् ।

महानगरलाई बार्षिक १ करोड ११ लाख रोयल्टी
महानगरपालिकाले रोयल्टी मार्फत १ करोड ११ लाख ८० हजार रुपैयाँ पाउँछ । सप्लायर्सले महानगरपालिकाको सडकमा १ हजार २ सय ८५ वटा सोलार प्यानल जडान गरिरहेको छ । एक सोलार प्यानलको बार्षिक ८ हजार ७ सय रुपैयाँ रोयल्टी मार्फत महानगरपालिकाले पाउने सम्झौतामा उल्लेख भएको अधिकृत घिमिरेले जानकारी दिए ।

ग्लोसाइन विज्ञापन शुल्क कति ?
महानगरपालिका र सप्लायर्सबीच २ बाइ ३ फिटको दुईतर्फ ग्लोसाइन विज्ञापन राख्ने सहमति छ । २ बाइ ३ फिटको ग्लोसाइन विज्ञापन राखिएमा हालको दर अनुसार एउटा पोलको विज्ञापन शुल्क १२ हजार रुपैयाँ हुने राजश्व विभागका शाखा अधिकृत शुसिल ज्ञवाली बताउँछन् ।

महानगरपालिकाले थप १ करोड ५४ लाख रुपैयाँ विज्ञापन शुल्क बापत पाउछ ।

विज्ञापन साइजमा बिवाद
सप्लायर्सका अधिकृत श्रीवास्तव ३ बाइ ४ फिट साइजको ग्लोसाइन विज्ञापन बोर्ड राखिने बताउँछन् । श्रीवास्तवका अनुसार २ बाइ ३ फिट साइजको ग्लोसाइन विज्ञापन बोर्ड राख्दा घाटा हुने देखिन्छ । यसैकारण महानगरपालिकालाई अर्को पत्र पठाएर ३ बाइ ४फिट साइजको ग्लोसाइन विज्ञापन बोर्ड राख्न स्वीकृति लिइसकिएको श्रीवास्तवले दाबी गरे ।

कस्तो गुणस्तरको छ सोलार ?
एक पटक फुल चार्ज भएमा ५ दिनसम्म घाम नलागे पनि पूर्ण क्षमतामा बत्ती बल्ने निर्देशक श्रीवास्तवले जानकारी दिन्छन् ।

‘सोलारमा लिथिएम ब्याट्रीको प्रयोग गरिएको छ, थोरै प्रकाशमा पनि ब्याट्री चार्ज हुन्छ,’ श्रीवास्तवले भने ।

सोलार प्यानलको आयु कति ?
सोलार प्यानलको आयु २५ वर्षको हुने निर्देशक श्रीवास्तव जानकारी दिन्छन् । ‘सोलार प्यानलको आयु २५ वर्षको हो, समय समयमा देखिने प्राविधिक समस्या समयमै निवारण गर्नसकिए ब्याट्री २५ वर्षसम्म फेर्नु पर्दैन,’ श्रीवास्तवले भने ।

सोलार राख्दा सप्लायर्सलाई के फाइदा ?
काठमाडौं क्षेत्रमा रहेका घर, कम्पाउण्ड, छत, बिजुलीको पोल, सडकमा राखिएको डिभाइडर आदिमा रहेका पर्चा, पम्प्लेट, भित्तेलेखन, अनधिकृत विज्ञापन बोर्ड, बोर्डिङ्गले वातावरण र दृश्य प्रदुषण भएकाले काठमाडौं महानगरपालिकालगायत ९ वटा कार्यालयलाई विपक्षी बनाई सर्वोच्च अदालतले २०७२ भदौ १६ गते अन्तिरिम आदेश जारी गरेको थियो । सो आदेशमा महानगर क्षेत्रमा पर्चा पोष्टर टास्न नपाइने भनिएको थियो ।

सोलार बत्तीको पोलमा ग्लोसाइन विज्ञापनका लागि महानगरपालिकासँग स्पेस किनेको निर्देशक श्रीवास्तवले जानकारी दिए ।

‘हामीले महानगपालिकासँग विज्ञापन राख्ने ठाउँ किनेको हो, हामीले प्रतिपोल बार्षिक ८ हजार ७ सय रुपैयाँ रोयल्टी र विज्ञापन मार्फत बार्षिक ७ हजार २ सय रुपैयाँ महानगरपालिकालाई बुझाउछौं,’ श्रीवास्तवले भने ।

सप्लायर्सले महानगरपालिकासँग किनेको विज्ञापन स्पेस अन्य कम्पनीलाई बचेर फाइदा कमाउने हो ।


क्लिकमान्डु