सार्क मुलुकका अर्थमन्त्रीहरुको बैठक, दक्षिण एसियाका जनताको जीवनस्तर उकास्न सहकार्य



जापान । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का अर्थमन्त्रीहरुको आज यहाँ सम्पन्न ११ औँ अनौपचारिक बैठकले दक्षिण एसियाको आर्थिक एकीकरण र दक्षिण एसियाली आर्थिक सङ्घ स्थापनामा विशेष जोड दिएको छ ।

आठवटै सदस्य देशका अर्थमन्त्री र उच्च अधिकारी सम्मिलित उक्त बैठकमा दक्षिण एसियाका एक अर्ब ७० करोड जनताको जीवनस्तर उकास्न एसियाली विकास बैंकजस्ता बहुपक्षीय निकायको सहयोग पनि उत्तिकै अपरिहार्य हुनेमा सबैको मतैक्य रह्यो ।

दक्षिण एसियाको आर्थिक समृद्धिका लागि क्षेत्रीय सहयोग प्रवद्र्धनका दिशामा केही प्रगति भएको र आर्थिक तथा वित्तीय सहयोगमा वृद्धि भएकोमा अर्थमन्त्रीहरुले प्रशन्नता प्रकट गरे।

लगानी संरक्षण तथा प्रवद्र्धन,अन्तर क्षेत्र लगानी विस्तार,सेवा व्यापारमा सहकार्य र साझेदारी, दोहोरो कर प्रणालीको अन्त्य,व्यापार सहजीकरण,जल,स्थल,वायुमार्गबाट सदस्य मुलुकलाई जोड्ने, ऊर्जा सहायता अभिवृद्धि तथा पूर्वाधार निर्माणका क्षेत्रमा पारस्परिक समन्वय एवम् सहकार्यमा पनि उनीहरुले जोड दिए ।

सार्कका अर्थमन्त्रीहरुको वर्तमान अध्यक्षका हैसियतमा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले एक दशकअघि आजकै दिन जापानको क्योटोमा सार्क देशका अर्थमन्त्रीको दोस्रो बैठक भएको स्मरण गर्दै एसियाली विकास बैंक (एडिबी) को ५० औँ वार्षिक बैठकका क्रममा सार्कका अर्थमन्त्रीहरुको बैठक आयोजना गरेकोमा एडिबीप्रतिआभार व्यक्त गरे ।

गरिबी निवारण र आर्थिक विकास सार्क र एडिबीका लक्ष्य भएको बताए । ‘दक्षिण एसियामा सहयोग प्रवद्र्धन, आर्थिक एकीकरण र उपक्षेत्रीय तहमा सञ्चालन गरेका विकासका परियोजनाबाट सार्क मुलुक लाभान्वित भएका छन्,’ अर्थमन्त्री महराले भने।

गत वर्ष इस्लामावादमा भएको सार्कका अर्थमन्त्रीहरुको बैठकले अनुमोदन गरेका कार्यक्रमहरुमा इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले क्षेत्रीयस्तरमा आर्थिक सहयोग र विकास सुनिश्चित गर्न एडिबीले थप सहयोग गर्नुपर्ने बताए ।

एडिबीका उपाध्यक्ष वेनकाइ झाङले दक्षिण एसियको आर्थिक विकास र एकीकरणका परियोजनालाई बैंकले उच्च प्राथमिकता दिएको तथा दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) मार्फत दक्षिण एसियाली देशलाई सघाइरहेको जानकारी दिए ।

सार्क राष्टलाई थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले पारस्परिक साझेदारीबाट नै आर्थिक विकासका लक्ष्य हासिल हुने बताए ।

सार्कका महासचिव अमजद हुसेन बी सियालले काठमाडौँमा सम्पन्न सार्कको १८ औँ शिखर सम्मेलनमा सार्कका सदस्य देशका राष्ट्राध्यक्ष वा सरकार प्रमुखले व्यक्त गरेका दक्षिण एसियाली आर्थिक सङ्घ, स्वतन्त्र व्यापार क्षेत्र स्थापना, साझा बजार, भन्सार सङ्घ, साझा आर्थिक तथा वित्तीय सङ्घका विषयलाई कार्यान्वयन गर्न अपरिहार्य भएको बताए।

सार्क देशमा लगानी प्रवद्र्धन एवम् संरक्षणका निम्ति भारतले तयार पारेको बहुपक्षीय मस्यौदा सम्झौतालाई लगानीसम्बन्धी सार्क उपक्षेत्रीय समूहले आगामी महिना नयाँदिल्लीमा हुने समूहको बैठकले अन्तिम रुप दिनेपनि उनले जानकारी गराए ।

बैठकमा अर्थ सचिव शान्तराज सुवेदी,अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल,टोकियोस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत कृष्णचन्द्र अर्याललगायत सहभागी थिए।


क्लिकमान्डु