देशले लगानी गरेको कम्पनीको सेयर खोस्टा, ब्यक्तिगत लगानीको कम्पनीको १० रुपैयाँको सेयर प्रतिकित्ता ७० हजार
काठमाडौं । नेपाल र भारतमा उस्तै खालका र एउटै क्षेत्रका दुई कम्पनी थिए, टायर बनाउने कम्पनी । नेपाली कम्पनीका सेयरधनीहरुको सेयर प्रमाणपत्र या त हरायो या झोंकमा च्यातेर फालिसके । उता त्यस्तै कम्पनीमा लगानी गर्ने भारतीय कम्पनीका सेयरधनीहरु भने करोडपति वा अर्बपति भैसकेका छन् ।
सन् ९० को दशकमा बुझ्ने भैसकेका र सहरबजारमा बस्ने प्रायः सबै नेपालीलाई गोरखकाली टायरको बारेमा थाहा छ । टायरको प्रयोग गरेर गुणवत्ताका आधारमा भन्दा पनि तत्कालीन चर्चित नायिका कृष्टि मैनालीले ‘इन्डोर्स’ गरेका कारण गोरखकाली टायर र त्यसको बिज्ञापन निकै चर्चित थियो ।
सन् १९८५ मा ‘आयो गोरखकाली’ नाराका साथ स्थापना भएको गोरखकाली रबर उद्योगद्धारा निर्मित यस टायर जन—जनको मुखमा बास गर्नुको अर्को कारण यसले नेपालीहरुको सांस्कृतिक चेतनामा गरेको संक्रमण पनि हो ।
गोरखाको प्रसिद्ध मन्दिर ‘गोरखकाली’ र नेपालीहरुले बिश्व युद्धहरुमा बिरता देखाउँदै कमाएको नाम ‘गुर्खाज’ सँग मिल्दोजुल्दो भएका कारण पनि गोरखकाली टायरले नेपालीहरुको मनमा सहजै बास गरेको हो ।
सन् १९८५ मा नेपाल सरकारको अग्रसरतामा सार्वजनिक, निजी र एसियाली बिकास बैंकको सहकार्यमा यो कम्पनीको स्थापना भएको थियो ।
कम्पनीको बार्षिक ८४ हजार ठूला गाडीको र ४० हजार साना गाडीको टायर उत्पादन गर्ने क्षमता छ । तर, अहिले यो उद्योगबाट टायर उत्पादन हुन छाडिसकेको छ ।
सर्वसाधारणहरुले यो टायर कम्पनीमा सेयर लगानी पनि गरेका थिए । अहिले त्यो सेयर प्रमाणपत्र कागजको खोस्टो भन्दा पनि सस्तो भैसकेको छ ।
‘मैले हालसालै घर सफा गर्दा गोरखकाली रबर उद्योगको सेयर प्रमाणपत्र फेला पारें । दुखका बेला पैसा जोहो गरेर किनेको सेयर यसरी खोस्टामा परिणत हुँदा चित्त दुख्यो अनि जलाइदिएँ,’ नयाँ बजार बस्ने कम्पनीका सेयर धनी संजीव रावत भन्छन् ।
अन्तराष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न नसक्दा कम्पनीको उत्पादन बन्द हुने अवस्था आएको हो । साथै समय अनुसार ‘ट्युबलेस’ टायर उत्पादन गर्ने प्रबिधि नल्याउँदा पनि कम्पनी बन्द हुने अवस्थामा पुगेको हो ।
‘करोड खर्च गरेर केही मेसिन ल्याउन सकेमात्र पनि उद्योगबाट टायर उत्पादन हुन सक्थ्यो,’ उद्योगका निमित्त महाप्रबन्धक कामेश्वर यादव भन्छन् ।
कम्पनीले उत्पादन गरेको धेरै टायरहरु पनि बिक्रि नभएर त्यसै स्टोरमा थन्किएका छन् ।
सरकारको लगानी रहेका धेरै उद्योगहरुको हालत यस्तै छ । बुटवल धागो, हरिसिद्धि ईंटा, नेपाल वायुसेवा निगम, हेटौंडा सिमेन्ट आदि कम्पनीहरु यसका उदाहरण हुन् ।
नेपाल सरकारको अग्रसरतामा खोलिएको कम्पनीले थोरै पैसा लगानीको अभावमा उत्पादन नै बन्द गरेर सारा सर्वसाधारण सेयरधनीहरुको पैसा डुबाउँदै गर्दा भारतको टायर बनाउने एक कम्पनी ‘एमआरएफ टायर’ भने भारतीय सेयर बजारकै सबैभन्दा महङ्गो सेयर भएको छ ।
अहिले एमआरएफको सेयर मुल्य प्रति कित्ता ७० हजार भारु हाराहारीमा कारोबार भैरहेको छ । कम्पनीको प्रतिकित्ता फेस भ्याल्यु १० भारु हो । यसको मतलब कम्पनीमा १० भारुको दरले १ लाख भारु लगानी गरेका लगानीकर्ताको सम्पत्ति अहिले ७० करोड भारु भैसकेको छ ।
बेलुन र कण्डम बनाउन खोलिएको यो कम्पनी अहिले भारतको सबैभन्दा ठूलो टायर निर्माता कम्पनी भएको छ । कम्पनीको बजार पूँजीकरण ४ अर्ब डलर भन्दा बढि भैसकेको छ ।
कम्पनीले सन् २०१६ मा ३.१ अर्ब डलरको कारोबार गरेको छ । ५ बर्ष अघि कम्पनीको कारोबार १.४ अर्ब डलर थियो । कम्पनीले सस्ता चिनीयाँ टायरहरुको दबदबाबा बाबजुद मोटरसाइकल र कारको सेग्मेन्टमा कम्पनी पहिलो नम्बरमा रहन सफल भएको छ । एमआरएफले भारतीय टायर बजारको २४ प्रतिशत हिस्सा ओगट्छ ।
सन् १९४६ मा चेन्नईका एक युवा के एम म्यामेनले एमआरएफको शुरुवात गरेका थिए । उनले आफ्नो परिवारबाट पाएको १४ हजार भारुबाट कम्पनी शुरु गरेका थिए । शुरुमा उनी सडकमा बेलुन बेच्थे भने पछि खेलौना, कण्डम, पञ्जा र टायरको ब्यवसाय गर्न थाले ।
गत बर्षदेखि भारत जर्मनीलाई उछिनेर बिश्वको चौथो टायर बजार बनेको छ । यसले भारतीय बजारमा एमआरएफ अझै बढ्दै जाने नै देखिन्छ ।
नेपालमा पनि गाडीको बजार नबढेको होइन । बैंकहरुले गाडी ऋण परिचालन गर्न थालेदेखि नै ब्यक्तिगत र ब्यवसायिक प्रयोगका लागि गाडीको प्रयोग निकै बढेको छ ।
एमआरएफको पनि करिब ७० प्रतिशत आम्दानी नयाँ गाडीको लागि नभएर पुराना गाडीका लागि फेरिने टायरबाट नै हो । यो अवसर नेपालमा पनि नभएको होइन । तर, एउटा ब्यक्तिको अग्रसरता र सोचमा अघि बढको कम्पनीले आफ्ना सेयरधनीहलार्ई करोडपति बनाउँदै गर्दा त्यही क्षेत्रमा र त्यस्तै अवसरका बावजुद त्यस्तै अर्को कम्पनीका सेयरधनीहरुले सेयर प्रमाणपत्र पोल्नु पर्ने अवस्था भने निकै बिडम्बनापूर्ण हो ।