नबिल र नेपाल इन्भेष्टमेन्टमध्ये कुन बैंकको सेयर किन्दा राम्रो ?




काठमाडौं । नेपालका सबैभन्दा राम्रो, ठूलो र बलियो बाणिज्य बैंकको सेयर किन्ने सोचमा हुनुहुन्छ ? हो भने एकछिन सोच्नुस् है । नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकको कडा प्रतिस्पर्धाले कुन बैंक सबैभन्दा राम्रो भनेर निष्कर्षमा पुग्न एकछिन घोत्लनै पर्ने भएको हो ।

नबिल र नेपाल इन्भेष्टमेन्टबीच नाफा लगायत अन्य महत्वपूर्ण सूचकहरुमा तीब्र प्रतिस्पर्धा देखिएका कारण सेयर लगानीकर्तालाई कुन बैंकको सेयर छान्ने भन्ने दुबिधा हुने देखिएको छ ।

सेयर लगानीकर्ताहरुका लागि सामान्यतः मुल्य आम्दानी अनुपात र प्रतिसेयर आम्दानीले धेरै अर्थ राख्छ । मुल्य आम्दानी अनुपात जति कम भयो र प्रतिसेयर आम्दानी जति बढि भयो उनी सेयर आकर्षक मानिन्छ ।

इन्भेष्टमेन्टको मुल्य आम्दानी अनुपात कम भएका कारण कम जोखिम देखिन्छ भने नबिलको प्रतिसेयर आम्दानी बढि भएका कारण आर्कषक देखिन्छ ।

रिर्टन अफ इक्वीटीको हिसाबले पनि इन्भेष्टमेन्ट नबिल भन्दा तल छ । तर, रिर्जभमा भर्खर ठूलो रकम जम्मा गरेका कारणले मात्र इन्भेष्टमेन्टको रिर्टन अफ इक्वीटी कम देखिएको हो, जसको धेरै अर्थ हुदैन ।

नबिलको ५७.८५ प्रति सेयर आम्दानी छ भने इन्भेष्टमेन्टको ३६.२४ मात्र छ । तर, सेयर मूल्य हेर्दा नबिलको सेयर मुल्य इन्भेष्टमेन्टको भन्दा झण्डै दोब्बर छ ।

मुल्य आम्दानी अनुपात नबिलको २७ गुणा छ भने इन्भेष्टमेन्टको २२ गुणाको हाराहारी छ ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म नबिल बैंकले २ अर्ब ६८ करोड रुपैयाँ नाफा गरेको छ भने नेपाल इन्भेष्टमेन्टले २ अर्ब ३७ करोड रुपैयाँ नाफा गरेको छ ।

गत बर्ष सोही अबधिको भन्दा नबिल र इन्भेष्टमेन्टले ३०.७६ र २९.८१ प्रतिशतले खुद नाफा बढाएका छन् । खुद नाफाको बृद्धिदर इन्भेष्टमेन्टको भन्दा नबिलको सामान्य बढी छ । तर यो एक बर्षबीचको खुद नाफा बृद्धिदरको मात्रै तुलना गरिएको हो ।

नबिलले संचालन नाफा ३५.२४ प्रतिशतले बढाएर ४ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ । उता इन्भेष्टमेन्टले पनि संचालन नाफा ४१.९८ प्रतिशतले बढाएर ३ अर्ब ४५ करोड रुपैयाँ पुर्याएको छ । संचालन नाफाका हिसाबले नबिल केही अगाडि छ ।

जगेडा कोषको हकमा नबिलसँग ८ अर्ब रुपैंयाँ रहेको छ भने एफपिओ जारी गर्दा प्रिमियमबाट ठूलो रकम उठेका कारण इन्भेष्टमेन्टसँग जगेडाकोषमा झण्डै १० अर्ब रुपैंयाँ छ । एफपिओबाट उठेको पैसा जगेडाकोषमा भएका कारण भावी दिनमा नबिलको भन्दा इन्भेष्टमेन्टको बोनस सेयर दिने क्षमता बढि देखिन्छ । इन्भेष्टमेन्टले एस डेभलप्मेन्ट बैंक पनि खरिद गरेका कारण जगेडाकोषमा थप रकम बढ्ने देखिन्छ । नबिलसँग यो सुबिधा छैन ।

ब्यवसाय बृद्धिको हकमा कुरा गर्दा नबिलले निक्षेप संकलन ३.३० प्रतिशतले बढाएको छ । यस्तै इन्भेष्टमेन्टले ६.३७ प्रतिशतले निक्षेप बढाएको छ । हाल नबिलको निक्षेप १ खर्ब १७ अर्ब रुपैंयाँ रहेको छ भने इन्भेष्टमेन्टको १ खर्ब १९ अर्ब रुपैंयाँ छ । निक्षेप संकलनमा इन्भेष्टमेन्टले नबिललाई उछिनेको छ ।

नबिलले ९० अर्ब ५५ करोड रुपैंयाँ कर्जा परिचालन गरेको छ । यो गत बर्षको सोही अबधिको भन्दा २८ प्रतिशतले बढि हो । उता इन्भेष्टमेन्टले १ खर्ब माथि कर्जा प्रवाह गरेको छ । इन्भेष्टमेन्टले कर्जा प्रवाह २०.८३ प्रतिशतले बढाएको छ । निक्षेपमा झैं कर्जा प्रवाहमा पनि इन्भेष्टमेन्टले नबिललाई उछिनेको छ ।

नेपालमा बैंक तथा बित्तीय संस्थाहरुलाई अन्य धेरै काम गर्न रोक लगाइएका कारण ब्याज आम्दानी नै उनीहरुको प्रमुख आम्दानी हो । नबिलले आफ्नो ब्याज आम्दानी ३४.४४ प्रतिशतले बढाएको छ भने इन्भेष्टमेन्टले ३२.०६ प्रतिशतले बढाएको छ ।

खराब कर्जा घटाउनमा पनि दुवै बैंक अब्बल देखिएका छन् । नबिलले खराब कर्जा १.४९ प्रतिशतबाट घटाएर ०.९५ प्रतिशतमा ल्याएको छ । इन्भेष्टमेन्टले पनि ०.७८ प्रतिशतबाट खराब कर्जा घटाएर ०.६४ प्रतिशतमा झारेको छ ।

बैंक तथा बित्तीय संस्थाहरुको नाफामा सबैभन्दा प्रभाव पार्ने ‘कस्ट अफ फण्ड’ को सन्दर्भमा भने नबिल अगाडी देखिएको छ । नबिलको लागत २.२८ प्रतिशत छ । उता इन्भेष्टमेन्टको लागत भने गत बर्षको २.६५ बाट बढेर ४.५५ प्रतिशत पुगेको छ । यसले इन्भेष्टमेन्टको नाफामा ठूलो असर पार्न सक्छ ।

नबिलको सिडि रेसियो ७९.७५ पुगिसकेको हुँदा नबिलको ब्यवसाय बृद्धिमा केही संकुचन आउँने देखिन्छ । इन्भेष्टमेन्टको सिडी रेसियो ६९.१७ रहेको हुँदा इन्भेष्टमेन्टले अझै लगानी बढाउन सक्ने अवस्था छ । राष्ट्र बैंकले तोके बमोजिम सिडी रेसियो ८० प्रतिशत भन्दा तलै रहनुपर्छ ।

चुक्ता पूँजीको कुरा गर्दा नबिलको ६ अर्ब १८ करोड मात्र छ । यसको मतलब नबिलबाट यो बर्षको नाफाबाट पनि गत बर्ष झैं ३० प्रतिशत हाराहारी बोनस सेयरको आश गर्न सकिन्छ । इन्भेष्टमेन्टको भने पूँजी ८ अर्ब पुगिसकेको छ । तर, जगेडाकोषमा ठूलो रकम प्रिमियमबाट आएका कारण इन्भेष्टमेन्टबाट पनि राम्रै बोनस सेयरको आश गर्न सकिन्छ ।


क्लिकमान्डु