बैंकहरुले बचत खातावालामाथि भेदभाव गरेपछि यसरी बदलियो निक्षेपको संरचना




काठमाडौं । असोज मसान्त सकिएसँगै बैंकहरुमा कर्जा दिनको लागि चाहिने रकम अभाव भएसँगै मुद्दति निक्षेपको ब्याजदर धमाधम बढ्न थाल्यो ।

बैंकहरुले हरेक दिनजसो मुद्दति निक्षेप ब्याजदर बढाउने योजना ल्याए । तर, बचत खातामा भने एक प्रतिशत मात्र ब्याज दिने ब्यवस्थालाई निरन्तरता दिए ।

बैंकहरुले अबलम्बन गरेको गलत नीतिले बैंकहरुमा निक्षेपको संरचनालाई परिवर्तन गरिदिएको छ ।

राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा वाणिज्य बैंकसँग १९ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप छ । जसमा बचत खातामा भएको निक्षेप रकम ६ अर्ब ७८ करोड रुपैयाँ हो । मुद्दति निक्षेपमा ७ अर्ब १८ अर्ब रुपैयाँ छ । बैंकहरुसँग भएको कूल निक्षेपमा बचतको हिस्सा ३५ प्रतिशत छ । जबकि मुद्दति निक्षेपको हिस्सा ३७ प्रतिशत छ ।

अघिल्लो वर्ष बैंकहरुमा १५ खर्ब ७० निक्षेप हुँदा बचत तर्फको निक्षेप ६ अर्ब ४१ करोड थियो । यस्तै मुद्दति निक्षेपमा ४ अर्ब २५ करोड रुपैयाँ थियो । कूल निक्षेपमा गतवर्ष बचत खाताको हिस्सा ४० प्रतिशत थियो भने मुद्दति निक्षेपको हिस्सा २७ प्रतिशतमा थियो ।

एक वर्षको अवधीमा कूल निक्षेपमा मुद्दतिको हिस्सा बढेको र बचतको हिस्सा घटेको देखिन्छ ।

नेपाल बैकर्स संघका ज्ञानेन्द्र ढुंगाना नयाँ निक्षेप आकर्षणको लागि मुद्दतिको ब्याजदर बढाएपछि बचत खाताको पैसा मुद्दतिमा आएको बताउँछन् ।

‘हामीले प्रणाली बाहिर भएको पैसा मुद्दतिमा आउँछ भन्ने अनुमानको आधारमा मुद्दतिको ब्याज बढायौं, तर, बचतको पैसा मुद्दतिमा परिवर्तन भयो, नयाँ निक्षेप थपिएन,’ एनबी बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका ढुंगानाले क्लिकमाण्डूसँग भने ।

बचत खातामा १ प्रतिशत ब्याज दिने तर मुद्दतिमा १२ प्रतिशतसम्म ब्याज दिने बैंकहरुले नीति लिएपछि केन्द्रीय बैंकले मौद्रिक नीति मार्फत ब्याजदरमा लगाम लगाइएको थियो । राष्ट्र बैंकले मौद्रिक नीतिमा कल डिपोजिटको र बचत खाताको ब्याजदर समान हुनुपर्ने नीति लिएको छ । जसको कारण अहिले धमाधम बैंकहरुले बचत खाताको ब्याजदर बढाएका छन् ।

अहिले वाणिज्य बैंकमा कल डिपोजिटमा ३ खर्ब ५७ अर्ब रुपैयाँ छ । कुल निक्षेपमा कलको हिस्सा १८.८६ प्रतिशत छ । अघिल्लो वर्ष पनि कलको हिस्सा १८ प्रतिशतकै हाराहारीमा थियो ।

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल राष्ट्र बैंकको नीति अनुसार बचतको ब्याजदर बढ्न थालेकोले अब बचतको हिस्सा बढ्ने बताउँछन् ।

‘मुद्दति निक्षेपमा अत्याधिक ब्याजदर बढेपछि बचत खाताको पैसा मुद्दतिमा गएको हो, बचत मा भएको पैसा मुद्दतिमा गएपछि यस्तो परिणाम देखिएको हो,’ रिसालले क्लिकमाण्डूसँग भने ।

विकास बैंकमा भने फागुन मसान्तसम्ममा २ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप छ । जसमा बचतको हिस्सा ४४ प्रतिशत छ । विकास बैंकमा पनि यो वर्ष बचत खातामा पैसा घट्ने र मुद्दतिमा बढेको देखिन्छ । मुद्दति निक्षेपको हिस्सा विकास बैंकमा ३५ प्रतिशत छ ।

यस्तै फाइनान्स कम्पनीमा ५६ अर्ब रुपैयाँ निक्षेप छ । जसमध्ये बचतमा २३ अर्ब रुपैयाँ र मुद्दतिमा २६ अर्ब रुपैयाँ छ ।


क्लिकमान्डु