ठूला व्यापारीले यसरी गरे ऋण दुरुपयोग



काठमाडौं । एउटा प्रयोजनका लागि लिएको ऋण अर्को प्रयोजनमा प्रयोग गर्नु अपराध हो ।

यसरी ऋण दुरुपयोग गर्नेलाई बैकिङ कसुर तथा सजाय ऐन अनुसार कारबाही गर्न सक्ने व्यवस्था छ ।

तर,नेपालमा भने एउटा प्रयोजनमा लिएको ऋण अर्को प्रयोजनमा प्रयोग गरेका व्यवसायीलाई अहिलेसम्म कारवाही हुने गरेको छैन । महालेखा परीक्षक कार्यालयले हरेक वर्ष निकाल्ने वार्षिक प्रतिवेदनमा ऋण दुरुपयोगका घटनालाई उल्लेख गर्ने भएपनि ऋण दुरुपयोग गर्ने व्यवसायीलाई कारवाही हुने गरेको छैन ।

महालेखा परीक्षकको कार्यालयले यो पटकको वार्षिक प्रतिवेदनमा ऋण दुरुपयोग गर्ने दुई वटा उदाहरण आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

‘ ठूला करदाता कार्यालय अन्तर्गत सुपरमार्केट व्यवसाय गर्ने एक करदाताले ३ अर्ब ५८ करोड रुपैयाँ कर्जा लिएकोमा ८० करोड रुपैयाँ दुरुपयोग गरेको देखिएको छ,’महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ । महालेखा स्रोतका अनुसार यी व्यापारी नेपालका ठूला व्यापारीमा पर्छन् ।

यस्तै भैरहवा अन्तर्गत कन्डक्टर उद्योग गर्ने उद्योगीले २२ करोड रुपैयाँ बैंकबाट ऋण लिएर चिनी उद्योगलाई दिएको देखिएको छ ।

‘ करदाताले व्यवसायको लागि बैकबाट लिएको कर्जालाई सोही व्यवसायमा प्रयोग गर्नुपर्छ’ महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ,‘ बैकिङ कसुर तथा सजाय ऐनमा कसैले पनि बैक वा वित्तीय संस्थाबाट जुन प्रयोजनको लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गरी वा गराई कर्जाको दुरुपयोग गरेमा एक करोड रुपैया)भन्दा बढी जति सुकै बिगो भएपनि तीन वर्षदेखि ५ वर्षसम्म कैद हुने सजाय छ ’

महालेखाले ऋण दुरुपयोगमा कारबाही नभएको भन्दै राष्ट्र बैंकसँगपनि असन्तुष्टी जनाएको छ ।


क्लिकमान्डु