३ बर्षयता चित्त बुझाउने ठाउँ छैन भ्याटमा, असफलताको संघारमा पुगेकै हो ?




काठमाडौं । सबै प्रकारका कर राजस्वको मुटु मानिने मूल्य अभिबृद्धि कर (भ्याट) को औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । विगत ३ बर्षयताको भ्याट विवरणले सरकारलाई समेत झस्काएको छ ।

सरकारले प्राप्त गर्ने भन्दा भ्याट सरकारले फिर्ता अत्याधिक बढी हुनु, शुन्य बिबरण बुझाउनेको संख्या बेपत्तासँग बढ्नु र भ्याटमा दर्ता भएका करदाता सम्पर्कबिहिन (ननफाइलर) को संख्या बढ्दै जानुले यसको औचित्यमाथि प्रश्न उठ्न लागेको हो ।

आन्तरिक राजस्व विभागले दिएको तथ्यांक अनुसार विगत ३ बर्षमा भ्याटमा दर्ता हुने करदाताको संख्या बढेपनि सरकारले प्राप्त गर्ने भन्दा फिर्ता गर्नुपर्ने रकम उल्लेख्य रुपमा बढेको छ ।

भ्याटमा दर्ता भएका करदाताको बिगत ५ बर्षको विवरण । स्रोतः आन्तरिक राजस्व विभाग ।

बिगत ५ बर्षको तथ्यांक विश्लेषण गर्दा सुरुका ३ बर्ष भ्याटको अवस्था ठिकै देखिन्छ । २०६९ को चैतमा भ्याटमा दर्ता भएका करदाताको संख्या ६० हजार ५२९ थियो भने ०७० चैतमा यो संख्या ६३ हजार ९४४ भयो । यस्तै २०७१ चैतमा यो संख्या ७५ हजार ३५३ भयो भने २०७२ चैतमा यो संख्या १ लाख ५१ हजार ४३६ भयो । २०७३ फागुनमा भ्याटमा दर्ता भएका करदाताको संख्या १ लाख ६७ हजार ७३० छ ।

यस्तै ननफाइलर (भ्याटमा दर्ता भएर सम्पर्कबिहिन भएका) करदाताको संख्या सबैभन्दा चिन्ताको बिषय देखिएको छ । विभागका अनुसार २०६९ को चैतमा ननफाइलर करदाताको संख्या १० हजार ६६० थियो भने ०७० चैतमा यो संख्या ९ हजार ४३७ भयो । यस्तै २०७१ चैतमा यो संख्या ११ हजार ४८१ भयो भने २०७२ चैतमा यो संख्या ३३ हजार १८४ भयो । २०७३ फागुनमा ननफाइलर करदाताको संख्या ५१ हजार ३६० छ ।

शुन्य विवरण बुझाउने करदाता पनि भ्याट कार्यान्वयको अर्काे टाउको दुखाइको बिषय भएको छ । २०६९ को चैतमा शुन्य विवरण बुझाउने करदाताको संख्या १४ हजार ९४५ थियो भने ०७० चैतमा यो संख्या १५ हजार ५६४ भयो । यस्तै २०७१ चैतमा यो संख्या १७ हजार ४५१ भयो भने २०७२ चैतमा यो संख्या ४१ हजार ३१ भयो । २०७३ फागुनमा शुन्य विवरण बुझाउने करदाताको संख्या ३७ हजार ९२२ छ ।

सरकारलाई भ्याट तिर्न बाँकी छ भनेर कर विवरण बुझाउने (डेविट) करदाताको संख्या सामान्य रुपमा बढेको तथ्यांकले देखाएको छ । २०६९ को चैतमा डेविट विवरण बुझाउने करदाताको संख्या ७ हजार ३५६ थियो भने ०७० चैतमा यो संख्या ८ हजार भयो । यस्तै २०७१ चैतमा यो संख्या ९ हजार २६८ भयो भने २०७२ चैतमा यो संख्या १४ हजार ९९८ भयो । २०७३ फागुनमा शुन्य विवरण बुझाउने करदाताको संख्या १६ हजार १३२ छ ।

सरकारसँग भ्याट फिर्ता लिन बाँकी छ भनेर विवरण बुझाउने (क्रेडिट) करदाताको संख्या भने उल्लेख्य रुपमा बढेको छ । २०६९ को चैतमा क्रेडिट विवरण बुझाउने करदाताको संख्या २७ हजार ५४७ थियो भने ०७० चैतमा यो संख्या ३० हजार ८९२ भयो । यस्तै २०७१ चैतमा यो संख्या ३७ हजार १३९ भयो भने २०७२ चैतमा यो संख्या ६२ हजार २०८ भयो । २०७३ फागुनमा शुन्य विवरण बुझाउने करदाताको संख्या ६२ हजार ३१० छ ।


क्लिकमान्डु