सहकारीमा गएपछि लघुजलविद्युतमा दिगोपना
बाजुरा । गाउँलाई अन्धकारबाट मुक्त गरी विद्युतीकरण गर्ने अभियानमा जुटेका कैलाशमाडौँ र तोली गाविसका अगुवालाई स्थानीय मालागाड खोलामा लघुजलविद्युत् आयोजना निर्माण सम्पन्न गर्दा जति खुसी लागेको थियो, त्योभन्दा बढी आयोजना निर्माण गर्न लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको थियो ।
कुल चार करोड ४८ लाख १८ हजार रुपैयाँको लागतमा सम्पन्न यस आयोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाविस, जिविस, गरिबी निवारण कोषलगायत विभिन्न संस्थाबाट अनुदान उपलब्ध भए पनि तीन वर्षअघि आयोजना सम्पन्न हुँदा झन्डै ८५ लाख रुपैयाँ ऋण तिर्न बाँकी थियो ।
‘सुरुमा त आयोजनाले हाम्रो घरखेत नै जाला कि भन्ने चिन्ता थियो तर पछि आयोजनाको दिगो र व्यवस्थित सञ्चालनका लागि सहकारीमा रुपान्तरण तथा लेखा प्रणालीलाई पारदर्शी ढङ्गबाट गराउने बारेमा केन्द्रबाट सञ्चालित आरइ–सोर्स कार्यक्रमबाट जानकारी भएपछि छ महिनाको अवधिमै हामीले चमत्कारिकरुपमा ऋणलाई कम गर्न सक्यौँ,’ मालागाड खोला लघुजलविद्युत् सहकारी संस्थाका अध्यक्ष मानबहादुर थापा भन्छन्।
आयोजना सम्पन्न हुँदा ८५ लाख रुपैयाँ ऋण लागेको थियो तर अहिले छ महिनाको अवधिमै ४० लाख रुपैयाँमा झार्न सफल भएका उनले बताए । आगामी वर्ष पूरै ऋण चुक्ता भई आयोजनालाई नाफामा सञ्चालन गर्न सकिने थापाको विश्वास छ ।
गत वर्ष जेठ २५ गते मालागाढ खोला लघुजलविद्युत् सहकारी संस्थाको स्थापना गरिएको हो । सहकारी गठनपछि आयोजनाको १४ लाख रुपैयाँ ऋण चुक्ता भएको छ । ‘कसरी फाइदा लिन सकिन्छ भन्ने जानकारी रि–सोर्सबाट सिक्यौँ,’ आयोजनाका प्रबन्धक सुरेन्द्रराज गिरी भन्छन् । सहकारीमा गएपछि १०० रुपैयाँको प्रति कित्ताका दरले कम्तिमा एक हजारदेखि १० हजारसम्म सेयर वितरण गरिएको छ ।
कार्यक्रमले आयोजनाका उपभोक्ता समितिका पदाधिकारीलाई बागलुङ,पोखरालगायतका ठाउँमा सञ्चालित सफल सहकारीमा अवलोकन भ्रमण, व्यवस्थापकीय तालिम तथा विभिन्न अभिमुखीकरणका कार्यक्रमबाट आयोजनालाई सहकारीमार्फत प्रभावकारी रुपमा सञ्चालन गर्न सकिएको हो । आयोजनाको हिसाबकिताब पारदर्शी ढङ्गबाट राखिएको छ । प्रत्येक महिनाको आयव्यय विवरण सार्वजनिक स्थलमा टाँस्ने व्यवस्था मिलाइएको छ ।
सहकारीमा गएपछि आयोजनाको आम्दानीमा वृद्धि भएको छ । पहिले मासिक ५० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म मासिक महसुल उठ्थ्यो भने अहिले दोब्बर उठ्न थालेको छ । सहकारीका सेयर सदस्यले विभिन्न आयमूलक तालिम पाएपछि विद्युत्को उपयोग गरी उद्योग,व्यवसाय सञ्चालन गरी आयआर्जनमा वृद्धि भएको छ । महिनाको १ गतेदेखि १० गतेभित्र महसुल सङ्कलन गरिन्छ ।
सहकारीमा गएपछि उपभोक्तालाई पनि साहुसँग चर्को ब्याजमा ऋण लिनुपर्ने बाध्यताको अन्त्य भएको छ । सहकारीले स्थानीय कच्चा पदार्थ प्रयोग गरी रोजगारी सिर्जना गर्ने आयआर्जन, जीविकोपार्जन, उद्योग व्यवसाय स्थापनामा ऋण उपलब्ध गराएको छ ।
व्यवसाय गर्न चाहेमा सजिलै सहकारीबाट ऋण पाएपछि गाउँका धेरै युवा विदेश जान छाडेर यहीँ नै केही उद्यम गर्न थालेका स्थानीय पद्मादेवी साउद बताउँछन्। ५३ किलोवाट क्षमताको सो आयोजनाबाट एक हजार २०० घरधुरीमा विद्युत् सुविधा पुग्नुको साथै दर्जनौँ उद्योग स्थापना भएका छन् । गत कात्तिकबाट ऋण लगानी गर्न सुरु गरिएकामा हालसम्म करिब १० लाख रुपैयाँ परिचालन भएको छ । सहकारीको आम्दानीबाट आयोजनाको झन्डै १२ लाख रुपैयाँ कर्जा तिर्न पुगेको स्थानीयवासी हर्कबहादुर बुढा बताउँछन् ।
पहिले घरघरमा गएर महसुल उठाउनुपथ्र्यो, महसुल तिर्न आनाकानी गर्ने क्रम बढी थियो तर अहिले त्यो समस्या छैन । समयमै सबैले महसुल तिर्ने गरेका सामाजिक परिचालक रमिलादेवी अयडीको भनाइ छ । अहिले तीन ठाउँमा महसुल सङ्कलन केन्द्र राखिएकामा अब कम्प्युटरबाटै बिलिङ दिन सुरु हुँदैछ । चार सय ७२ घरमा मिटर जडान भएको छ भने छिट्टै बाँकी घरमा पनि जडान गरिने आयोजनाले जनाएको छ ।
प्रत्येक महिनाको १५ गते आयोजनाका कर्मचारीको मासिक बैठक बस्ने र त्यसबाट पारित प्रस्तावलाई प्रबन्धकले १८ गते बस्ने सञ्चालक समितिको बैठकमा पेस गरी कार्यान्वयनमा लैजाने संयन्त्र बनाइएको छ । उपभोक्ता समितिबाट आयोजना सञ्चालन हुँदा सबैमा जिम्मेवारी बोध नहुनु, विद्युत् महसुल राम्ररी उठ्न नसक्नु र प्रत्यक्ष आम्दानी नहुनु, घाटामा सञ्चालन हुनु र सदस्यबीच मनोमालिन्य भई अधिकांश आयोजना बन्द भएका छन् ।
सहकारीमार्फत सबै उपभोक्तालाई सेयर सदस्य बनाएर सञ्चालन गर्दा आयोजनाको दिगो सञ्चालन गर्न सकिने व्यवसाय विकास अधिकृत रुपक देउवा बताउँछन् । यस आयोजनाबाट विद्युत् आयोजना स्वयम्मा एउटा व्यवसाय हो भन्ने पुष्टि भएको छ ।
सुरुमा ३० जनाबाट सुरु भएको यस मालागाड लघुजलविद्युत् सहकारीमा अहिले ३०० नाघेको छ र बढ्ने क्रम जारी रहेको छ । सुदूरपश्चिमाञ्चलमै यस किसिमको पहिलो सहकारीको सफल अनुभवको आधारमा अन्य दर्जन बढी लघुजलविद्युत् आयोजनालाई पनि सहकारीमार्फत सञ्चालन गर्न लागिएको कार्यक्रमका अधिकृत पङ्कजकुमार दासले जानकारी दिए।
ग्रामीण क्षेत्रमा नवीकरणीय ऊर्जा प्रविधि र यसका सेवा उपयोग गर्न, सजिलै पाउन, उपयोग गर्न सकिने र गुणस्तरीय नवीकरणीय ऊर्जा प्रविधिको प्रवद्र्धन र यससँग सम्बन्धित सेवा पु¥याउने मूल लक्ष्यका साथ सुरु भएको आरइ–सोर्स कार्यक्रमले क्षमता विकास सुविधाको उपलब्धतामार्फत सामाजिक उद्यमशीलताको प्रवद्र्धनमा जोड दिएको छ ।
यस कार्यक्रममा खासगरी महिला, गरिब, उपेक्षित समूहलाई दिगो ढङ्गबाट नवीकरणीय ऊर्जा प्रविधि र यसका सेवा वृद्धि गरी निजी क्षेत्रको भूमिकालाई महत्व दिइएको केन्द्रका सहायक निर्देशक रुद्रप्रसाद खनाल बताउँछन्। उनका अनुसार नवीकरणीय ऊर्जा प्रविधि र यससम्बन्धी सेवा प्रदायकलाई अभिप्रेरणा र सहुलियत हुने गरी कार्यक्रमले प्राविधिक सहयोग, सिपमा आधारित बजार विकास, सामाजिक उद्यमशीलता र सामाजिक सेवा प्रदायकलाई सहयोग गर्ने गरी चार क्षेत्रलाई प्राथमिकता दिएको छ ।
समुदायमा आधारित यस सहकारीमा नाफामूलक ढङ्गबाट मात्र नहेरी सेवामूलक भएकाले यसमा संलग्न सेयर सदस्य र स्थानीय समुदायले अपनत्वको अनुभव गर्न पाएका छन् । छिमेकी बूढीगङ्गा नगरपालिकाको केही घरमा विद्युतीकरण हुन बाँकी रहेकाले छिट्टै यस सहकारीमार्फत मालागाड आयोजनासँगै १०० किलोवाट क्षमताको अर्को आयोजना पनि छिट्टै सञ्चालनमा ल्याउने तयारीमा सहकारी जुटेको छ ।