शेखरले पूरा गरे गोल्छा परिवारको खानदानी सपना



२०५० सालमा हुलासचन्द्र गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वार बन्न लागेका थिए ।

उनीसँग त्यतिबेलाका युवा उद्यमी विनोद चौधरी प्रतिस्पर्धामा थिए । अन्तिममा गोल्छाले स्वास्थ्यको कारण देखाउँदै अध्यक्ष पदमा निर्वाचन नलड्ने घोषणा गरे । विनोद चौधरी निर्विरोध अध्यक्ष बने ।

२०५० सालपछि २०६४ सालमा हुलासचन्द्रपछि उनका छोरा र शेखरका दाई दिवाकर गोल्छा प्रथम उपाध्यक्षको हिसाबले स्वभाविक रुपमा अध्यक्षको दाबेदार थिए । तत्कालिन अध्यक्ष चण्डी ढकालले पुनः अध्यक्ष उठ्ने घोषणा गरेपछि दिवाकर चुनाव लडेनन् ।

गोल्छा परिवारको समर्थनमा कुशकुमार जोशी अध्यक्षको प्रतिस्पर्धामा उत्रिए । र, ढकालले चुनाव पनि हारे। त्यही वर्ष दाजु दिवाकर महासंघको राजनीतिबाट बाहिरिएपछि शेखरले कार्यकारिणी सदस्यको हिसाबले इन्ट्री भए ।

२०७३ सालमा समय फेरियो । दिवाकरलाई अध्यक्ष बन्न नदिनको लागि चुनाव लडेका चण्डीराज ढकाल दिवाकरका भाइ शेखरलाई बरिष्ठ उपाध्यक्ष बनाउन होमिए ।

बुटवलमा शेखरको उम्मेद्वारी घोषणामा चण्डीले गोल्छा परिवारको योगदान सम्झनु पर्ने भन्दै दिवाकर र हंशराजले महासंघमा पुर्याएको योगदानको आधारमा शेखरलाई जिताउनुपर्ने बताए । गोल्छा परिवारको समर्थनमा अध्यक्ष बनेका कुशकुमार जोशी गोल्छाको विरोधमा थिए ।

निर्वाचनमा शेखर गोल्छाले किशोर प्रधानलाई पराजित गरेर तीन वर्षपछि महासंघमा अध्यक्ष बन्ने बाटो खोलेका छन् । महासंघको संसोधित विधानमा बरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने प्रावधान छ ।

एक महिना अगाडि उम्मेद्वारी घोषणाका लागि बुटवलमा पुग्दा क्लिकमाण्डूलाई दिएको अन्तरवार्तामा गोल्छाले महासंघको नेतृत्वमा पुग्ने गोल्छा परिवारको सपना भएको बताएका थिए । २०५० सालदेखि गोल्छा परिवारले देखेको महासंघको अध्यक्ष बन्ने सपना पूरा गर्ने अन्तिम चरणमा शेखर गोल्छा छन् ।

सन् १९६६ मा काठमाडौंमा जन्मेका शेखर गोल्छा समुहका कार्यकारी निर्देशक हुन् । नेपालको पुरानो व्यवसायिक घराना गोल्छा अर्गनाइजेशनको नेपालमा उद्योग स्थापनाको लागि ठूलो योगदान छ । नेपालको पहिलो उद्योग बिराटनगर जुट मिल शेखरका हजुरबुवा रामलाल गोल्छाले सुरु गरेका थिए । बिराटनगरबाट सुरु भएको गोल्छा अर्गनाइजेशनको व्यापार देशभर फैलिएको छ ।

सेन्ट जेभियर्सबाट विद्यालयस्तरको अध्ययन पूरा गरेका शेखरले दिल्ली विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक तथा बेलायतको वेस्टर विश्वविद्यालयबाट बिजनेश एडमिनिष्ट्रेशनमा स्नातक गरेका छन् । अर्थतन्त्र र विकासका मुद्दामा तार्किक कुरा गर्ने क्षमता शेखरमा छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषय होस् या अन्य व्यवसायिक मुद्दामा होस् त्यसमा शेखर दरोसँग उभिएका थिए ।

उद्योग वाणिज्य महासंघको राजनीतिमा १२ वर्ष अगाडि प्रवेश गरेका शेखर यसभन्दा अगाडिको कार्यसमितिमा एशोसियट तर्फ उपाध्यक्ष थिए । व्यवसायिक घराना पृष्ठभूमिबाट आएका हुँदा एशोसियटमा उनको पकड बलिलो भएको निर्वाचनले पनि पुष्टी गर्यो ।

आगामी तीनवर्ष शेखर बरिष्ठ उपाध्यक्षको रुपमा महासंघमा पहिलो पटक महिला अध्यक्ष बनेकी भवानी राणाले अगाडि सारेको कार्यक्रमलाई सफल बनाउन लाग्नुुपर्ने हुन्छ । निर्वाचन अगाडि शेखरले बरिष्ठ उपाध्यक्षको रुपमा भवानी राणाको कार्यकाल सफल बनाउने बताएका थिए । स्वतः अध्यक्ष बन्न लागेकी भवानीले विरोधका बाबजुत शेखर समूहलाई जिताउन खुलेर आग्रह गरेकी थिइन् ।

गोल्छा अर्गनाइजेशन अन्तर्गत १७ हजारले रोजगारी पाएका छन् । उनले गुटबाट माथी उठेर महासंघलाई अगाडि बढाए परिवारले देखेको सपना साकार हुने छ । र, उनले किनपनि गुटभन्दा माथि उठ्नु पर्नेछ भने उनी अहिले पनि बरिष्ठ उपाध्यक्ष हुन् । महासंघ अध्यक्षको यो कार्यकाल पछि उनी स्वतः अध्यक्ष बन्नेछन् । अब स्वतः अध्यक्ष बन्ने ब्यक्तिले आफ्नो गुट वा सानो समुहको उक्साहटमा नलागी आम उद्योगी ब्यवसायीको हितमा काम गर्नु जरुरी छ । बधाई छ शेखर र गोल्छा परिवारलाई ।


क्लिकमान्डु