बहसः उद्योग वाणिज्य महासंघमा अध्यक्ष शक्तिशाली कि बरिष्ठ उपाध्यक्ष ?



यो लेख कुनै गम्भीर समाजशास्त्रीय अध्ययनको निष्कर्शको आधारमा लेखिएको होइन । बृहत्ततर नेपाली समाजको आर्थिक, सामाजिक र राजनीतिक सम्बन्धहरु र ती सम्बन्ध जोड्ने तन्तुहरुमा आफैं पनि जेलिँदाको ब्यक्तिगत अनुभूतिको आधारमा लेखिएको हो, यो लेख । ब्यक्तिगत अनुभूति भन्छ, नेपाली समाजले ब्यवसायीलाई स्वीकार्दैन । चोर भन्छ । ठग ठान्छ । र, निर्धा जनताको रगत चुसेर मोटाउने परजिबी मान्छ ।

नेपाली समाजमा ब्यवसायीहरुको इतिहास खासै लामो छैन । शामन्ती समाजमा ब्यवसायीहरुको भूमिका भनेको सामान ओसारपसार गर्ने र थोरबहुत नाफाले घर चलाउने हो । उनीहरुको मानवीय हैसियत र मुलधारमा पहुँच अन्य सर्वसाधारणको भन्दा खासै फरक हुँदैंन । शामन्ती ब्यवस्थामा आर्थिक नभई कुल, खानदान, जात, धर्म आदिका बलमा शासन सत्तामा हैकम स्थापित गरिएको हुन्छ ।

नेपालमा शामन्ती ब्यवस्थाको जग दह्रो गरि हल्लिएको भनेको ०४६ सालको जनक्रान्ति र त्यसपछि बनेको कांग्रेस सरकारले ०४९ सालमा बनाएको आर्थिक उदारिकरणको कच्ची बाटो खन्ने बजेटले नै हो । आज नेपाली समाज पूँजीवादी चरणमा प्रवेश गरिसकेको ब्याख्या जसरी हामी गर्दै छौं, त्यसको जग भने ०४६ सालको आन्दोलनले नै हालेको हो ।

अहिले नेपाल उद्योग बाणिज्य महासंघको चुनावको माहौल निकै तातेको छ । अध्यक्ष प्रधान हुने संगठनमा उपाध्यक्षहरु भने आफ्ना नीति र कार्यक्रम सार्वजनिक गर्दै हिँडेका छन् । तर यस विषयमा कार्यकारी प्रमुख बन्दै गरेकी पात्र भने मौन छिन् ।

०४६ साल अघिको शामन्ती ब्यवस्थामा ब्यवसायीको हैसियत कस्तो थियो भन्ने आंकलन गर्न ब्यवसायी बिनोद चौधरीले आफ्नो आत्मकथामा उल्लेख गरेका एक प्रसंग उपयोगी हुन सक्छ ।

चौधरी लेख्छन्,-
एक भारतीय उद्यमी नेपालमा बनस्पति घिउ उद्योग खोल्न चाहन्थ्यो । तत्कालीन अधिराजकुमार धीरेन्द्रका अत्यन्त शक्तिशाली सहयोगीसँग उसको सम्पर्क भयो ।

‘हम बनस्पती उद्योग लगाना चाहते हैं,’ उसले भन्यो,‘लाइसेन्स चाहिए ।’

‘काम होजाएगा,’ धीरेन्द्रका ती सहयोगीले भने,- ‘सरकारको पार्टनरसिप चाहिए ।’

‘मन्जुर है ।’

‘तो ठिक है, काम शुरु कर दो ।’

‘मगर पार्टनरसिपका टर्म क्या होगा ?’

‘किसी बनियाँसे पार्टनरसिप कर रहे हो क्या ?’ उनले हकारे,‘सरकार है वो ।’

‘तो पार्टनरसिप कैसे करेँगे ?’ उसले सोझो प्रश्न सोध्यो ।

‘भैया, तुम प्लान्ट लगाओ । काम शुरु करो । बाद में सरकार डिसाइड करेँगे, तुम्हे कितना सेयर देँगे ।’

उ लुरुक्क परेर फर्कियो ।

सामन्ती ब्यवस्थामा यस्तो अवस्थामा रहेको ब्यवसायीहरुको हैसियत अहिले हलक्कै बढेको छ । पूँजीवादी ब्यवस्थामा पूँजी र उत्पादनका साधनहरु माथि नियन्त्रण भएका पूँजीपतिहरु सत्ताको केन्द्रमा आउनु स्वभाविक हुन्छ ।

अझ पूँजीवादी ब्यवस्थामा चुनाव हुने र चुनावमा राजनीतिक दलका नेतालाई पैसा चाहिने हुनाले ब्यवसायीहरुको शक्ति झनै बढ्ने गर्छ । नेपालको समाज पनि पूँजीवादी ब्यवस्थामा प्रवेश गरिसकेको हुनाले अहिले ब्यवसायीहरुले आफुले चाहेको र आफुलाई फाइदा हुने राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र लाई केन्द्रमा ल्याउनसक्ने हैसियत बनाइसकेका छन् ।

तर, बिडम्बना के छ भने यत्रो शक्ति आर्जन गरिसक्दा पनि उनीहरुले समाजमा आफ्ना बारे सकारात्मक धारणा निर्माण गर्न सकेका छैनन् । समाज बिकासका बिभिन्न चरणमा जो हावी हुन्छ उसैले आफु र आफ्नो ‘बर्ग’प्रति सम्मान आर्जन गर्ने हो । तर, ब्यवसायीहरु यसमा असफल देखिएका छन् ।

स्कुल कलेजका पाठ्यक्रमहरुमा बिभिन्न साहित्यकार, समाजसेवी, राजनीतिक नेतृत्व आदिका बारे पढाइन्छ । तर, गरीबीमा पिल्सिएर आर्थिक बिकासको चाहनामा रातदिन टोलाएर बस्ने समाजले कुनै ब्यवसायीको बारे पाठ्यक्रममा किन पढ्न पाउँदैन ? बेरोजगारीको समस्याले थला पर्दा रोजगारी सृजना गर्ने उद्यमीहरु प्रति सम्मान किन जाग्न सकेन ?

बिहान उठेदेखि बेलुकी सुत्दासम्म ब्यक्तिले प्रयोग गर्ने हरेक बस्तु वा सेवा ब्यवसायीले नै बनाउँछन् वा आयात गर्छन् । तर, कनिकुथी चार लाइन कविता लेखेर सुनाउँदै हिँड्ने कवीलाई पढेलेखेको, बिद्धान र पवित्र आत्मा मान्ने समाजले आफ्ना सारा उपभोग्य वस्तु र सेवा उत्पादन र आयात गर्ने ब्यवसायीलाई सम्मान गर्न नसक्नु बिडम्बना हो ।

कुनै उपन्यासकारले पात्र सिर्जना गर्दा र ती पात्रहरुका भोगाई अभिब्यक्त गर्दा आफुले भोग्नु परेको वेदनाका बारे लेख्दै वा भन्दै गर्दा आँखाभरी आँसु भरेर सुन्ने समाज कुनै ब्यवसायीले उद्योग खोल्ने क्रममा भोग्नु परेको प्रक्रियागत झमेला र बिभिन्न खाले तनावको बारे ब्याख्या गर्दै गर्दा काखी बजाउँछ ।

यहाँ कलाकार र साहित्यकारको समाजमा योगदानलाई कम आँक्न खोजिएको होइन । उनीहरुले मानिसहरुको सौन्दर्य चेतनालाई गर्ने स्पर्शको कुनै जवाफ छैन ।

भन्न यति मात्र खाजिएको हो कि ब्यवसायीले भने आफुले पाउनुपर्ने सम्मान पाएका छैनन् । साना नानीहरुलाई ‘तिमी ठुलो भएर के बन्छौ ?’ भनेर सोध्यो भने डाक्टर, इन्जिनियर वा यस्तै केही भन्छन, तर ब्यवसायी भन्दैनन् ।

सारा देश र देश हाँक्ने नेताहरु अबको कार्यभार भनेको आर्थिक क्रन्ति भन्छन्, तर स-साना नानीहरु ब्यवसायी बन्छु नै भन्दैनन् । ब्यवसायीबिना कसरी हुन्छ आर्थिक क्रान्ति ? तर, यहाँ दोष ब्यवसायीहरुकै छ किनभने ०४६ पनि उनीहरु ०४६ पछि निकै शक्तिशाली भएका छन् । तर पनि आफ्नै झोले स्वार्थमा अल्झेर होला आफ्नो ‘फ्रार्टनीटि’ को इज्जत बढाउन सकेका छैनन् ।

नेपालको संबिधान- ०७२ ले मुलुकलाई समाजवादी ब्यवस्थामा लैजाने भनेको छ । पूँजीवादी ब्यवस्थाबाट समाजवादी ब्यवस्थामा जाँदा अहिले भएको ब्यवसायीहरुको हैसियत ०४६ साल अघिको भन्दा पनि कमजोर हुनसक्छ ।

तर, पनि उनीहरुले अहिलेसम्म नेपालको संबिधानले परिकल्पना गरेको समाजवाद कस्तो हो भनेर समेत साार्वजनिक बहस चलाएका छैनन् । नेपालको संबिधानले परिकल्पना गरेको समाजवाद कुनै समयको रसियाको जस्तो वा अहिलेको उत्तर कोरियाको जस्तो हो कि, वा ‘स्क्यानडनेभियन’ भनेर चिनिने नर्वे, स्वीडेन, डेनर्माक र फिनल्याण्डको जस्तो हो ? यसमा व्यवसायीले बहस चलाउनु पर्दैन ?

समाजको सबैभन्दा शक्तिशाली बर्गले आफुलाई प्रत्यक्ष असर पार्ने दार्शनिक र सैद्धान्तिक बहस समेत गर्न नसक्नु ठूलो बिडम्बना हो । एउटा भनाइ छ,- ‘सिद्दान्तबिनाको ब्यवहार अन्धो हुन्छ, र संगठन बिनाको सिद्धान्त लंगडो हुन्छ ।’

यदि यस्ता सैद्दान्तिक बहस नचलाउने हो भने उद्योगी र व्यवसायीहरुको संगठन ‘नेपाल उद्योग बाणिज्य महासंघ’ एउटा ‘अन्धो’ संगठन हुन जान्छ । अनि अहिले हुँदै गरेको उद्योग बाणिज्य महासंघको चुनावले आफ्नो सार्थकता गुमाउँछ ।

अहिले नेपाल उद्योग बाणिज्य महासंघको चुनावको माहौल निकै तातेको छ । पहिलो पटक महिला अध्यक्ष हुने भएकी छन् । अध्यक्ष प्रधान हुने संगठनमा उपाध्यक्षहरु भने आफ्ना नीति र कार्यक्रम सार्वजनिक गर्दै हिँडेका छन् । तर यस विषयमा कार्यकारी प्रमुख बन्दै गरेकी पात्र भने मौन छिन् ।

नेपालको राज्य सत्ताले सदियौं देखि पेलेर राखेका कमजोर बर्ग र जातिले समेत आफ्नो इज्जत र पहिचानको लागि जबरजस्त आवाज निकालिरहेका छन् ।

झण्डै तीन दशकदेखि अत्यन्तै शक्तिशाली भएर पनि आफ्नै इज्जत बढाउन नसक्नु र आफ्नै बर्ग ‘बिलय’ भएर जाने संबिधानका प्रावधानका बारे सैद्दान्तिक छलफल चलाउन नसक्नु जस्ता कमजोरीहरुलाई उपाध्यक्षहरुले आ–आफ्ना कार्यक्रमहरु अगाडि सार्ने र कार्यकारी अध्यक्ष मौन बस्ने संगठनले कसरी चिर्ला ? अबको चुनौति यहि हो ।


पुष्प दुलाल