राष्ट्र बैंक भन्छ- तपाईंको तलब १४%ले बढ्यो, महंगी ३%ले मात्रै



काठमाडौं । तपाईंको तलब कति बढ्यो ? र, बजारमा महंगी कति बढ्यो ? राष्ट्र बैंकका अनुसार तपाईंको तलब तथा ज्याला १४.१ प्रतिशतले बढेको छ भने महंगी २.९ प्रतिशतले मात्रै बढेको छ ।

यसको अर्थ के हो भने तपाईंको जिबन सहज बन्दैछ । कमाइभन्दा महंगी कम भएपछि जिबन सहज त हुने नै भयो । यसले तपाईंको बचत बढाउँछ र तपाईंको बचत बढ्नु भनेको राष्ट्रिय बचत बढ्नु पनि हो ।

राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको फागुन महिनासम्मको देशको आर्थिक स्थिति सार्वजानिक गरेको छ । जसमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क १४.१ प्रतिशतले वृद्धि भएको उल्लेख छ । गत वर्षको सोही अवधिमा तलब तथा ज्यालादर सूचकाङ्क ४.६ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार उता महंगी भने स्वात्तै घटेको छ । ०७३ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.९ प्रतिशत छ । जबकी ०७२ फागुन महिनामा सो मुद्रास्फीति १०.२ प्रतिशत थियो ।

‘गत वर्षको आधार मूल्यको प्रभाव तथा समीक्षा अवधिमा आपूर्ति व्यवस्थामा आएको सुधारका कारण पछिल्ला महिनाहरुमा उपभोक्ता मुद्रास्फीति घट्दै आएकोे छ,’ प्रतिवेदनमा उल्लेख छ ।

कसको तलब कति बढ्यो ?

तलब सूचकाङ्कमा १८.९ प्रतिशत र ज्यालादर सूचकाङ्कमा १३.० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । सरकारले निजामती कर्मचारीको तलब वृद्धि गरेकोले तलब तथा ज्यालादर सूचकाङ्कमा उच्च वृद्धि भएको हो ।

तलब अन्तर्गत निजामती सेवा, सैनिक तथा प्रहरी बल र सार्वजनिक संस्थान उपसमूहहरूको तलब सूचकाङ्क क्रमशः २४.२ प्रतिशत, २३.६ प्रतिशत र २१.७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, ज्यालादर अन्तर्गत कृषि मजदूर, निर्माण मजदूर र औद्योगिक मजदूरको ज्यालादर सूचकाङ्क क्रमशः १३.५ प्रतिशत, १३.० प्रतिशत र ११.६ प्रतिशतले वृद्धि भएको छ ।

केमा कति महंगी बढ्यो ?

समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.४ प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति १०.३ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार यो समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा ११.२ प्रतिशत, तरकारीको मूल्यमा ८.३ प्रतिशत, घ्यू तथा तेलको मूल्यमा ५.८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा ०.१ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति ऋणात्मक रहन गएको हो ।

समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५.२ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १०.७ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, गैरखाद्य मुद्रास्फीति ५.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति १०.२ प्रतिशत रहेको थियो । यो समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, सञ्चार, घरायसी सामान तथा सेवा, यातायात लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैरखाद्य मुद्रास्फीति कम रहन गएको हो ।

काठमाडौंमा भन्दा पहाडमा धेरै महंगी

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ५.९ प्रतिशत, हिमालमा ३.७ प्रतिशत, तराईमा २.८ प्रतिशत र काठमाडौं उपत्यकामा १.९ प्रतिशत रहेको छ ।

गत वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १०.४ प्रतिशत, हिमालमा ८.५ प्रतिशत, तराईमा ८.६ प्रतिशत र काठमाडौं उपत्यकामा १२.७ प्रतिशत रहेको थियो ।


पुष्प दुलाल