प्राधिकरणका प्रवक्ता भन्छन्- कुलमान एक्लैले लोडसेडिङ अन्त्य गरेका होइनन्



काठमाडौं । लोडसेडिङको अन्त्य गरेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वाहवाही कमाएका छन् । घिसिङले यो सालको तिहारदेखि काठमाडौंमा लोडसेडिङको अन्त्य गरेका थिए भने केही समययता देखि देशभर लोडसेडिङको अन्त्य गरेका छन् ।

लोडसेडिङ अन्त्य गर्न कुलमानले के जादू गरे ? क्लिकमाण्डूसँग कुराकानी गर्दै विद्युत प्राधिकरणक प्रवक्ता प्रवल अधिकारीले भने,– ‘उहाँले कुनैपनि जादु गर्नुभएको छैन । लोडसेडिङ अन्त्य गर्नुपर्छ भन्ने उहाँको अभियानलाई जनताले साथ दिए । त्यसैले आज देश लोडसेडिङमुक्त भएको छ ।’

प्रवक्ता अधिकारीका अनुसार कुलमानले जति नै लोड म्यानजमेन्ट गर्छु भनेपनि जनताले साथ नदिएको भए लोडसेडिङको अन्त्य हुने थिएन ।

‘गत वर्षको तुलनामा माग बढेको भए अहिले कूल विद्युतको माग १६ सय मेगावाट हुन्थ्यो, १६ सय मेगावाट माग भएको भए हामीले कुनैपनि हालतमा लोडसेडिङ अन्त्य गर्न सक्ने थिएनौं,’ अधिकारीले क्लिकमाण्डूसँग भने ।

अधिकारीका अनुसार पाहोरसाल यही बेला कूल विद्युतको माग १४ सय मेगावाट थियो, अहिले साढे १२ सय मेगावाट मात्रै छ । जनताले सचेतना अपनाउँदा प्राधिकरणलाई थप साढे २ सय मेगावाट बिजुलीको भार नपरेको उनको भनाई छ ।

‘लोडसेडिङ घटाऔं, अन्त्य गरौं भन्ने अभियानमा उपभोक्ताहरुले विद्युतको कम खपत गरेर हामीलाई साथ दिनुभयो । र, आज हामी सफल भयौं ।’ अधिकारीले क्लिकमाण्डूसँग भने,– ‘जनता आफैं सचेत भएर हाम्रो अभियानमा साथ नदिएका भए आज हामी सफल हुने थिएनौं ।’

जनतालाई आफ्नो अभियानमा साथ दिन ल्याउन सक्नु प्राधिकरण नेतृत्वको सफलता भएको उनको भनाई छ ।

‘यो अभियानमा मिडियाले जनतालाई सुसूचित गराउन ठूलो भूमिका खेलेका छन्,’ उनले भने ।

प्राधिकरणको नेतृत्वले पिकिङ र लोड म्यानेनम्यान्ट मात्रै गरेको उनको भनाई छ ।

‘जनताले मात्रै होइन हामीलाई मौसमले पनि साथ दियो,’ उनले भने,- ‘आन्तरिकरुपमा लोड म्यानेजमेन्ट गर्यौं । भारतबाट किनेर ल्याएर भएपनि जनतालाई अन्धकारमा बस्न दिएनौं ।’

विद्युत प्राधिकरणको नेतृत्वले सुरु गरेको अभियानमा जनताले स्वतस्फूर्तरुपमा साथ दिएकाले अब सकेसम्म कम विद्युत खपत गर्ने उपकरण प्रयोगमा ल्याउन लागिएको उयनले जानकारी दिए ।

‘अब हामीले लिड बल्ब र कम विद्युत खपत गर्ने फ्यान वितरण गर्दैछौं,’ अधिकारीले भने- ‘त्यसबाट करिब ३ सय मेगावाट विजुली कम खपत हुन्छ ।’

कति छ आपूर्ति ?

हाल जम्मा ८ सय ४१ मेगावाट विद्युत आपूर्ति रहेको तर पिक आवरमा १२ सय ३५ मेगावाट माग रहँदा पनि जनताले लोडसेडिङको अनुभूति गर्नु नपरेको अधिकारी बताउँछन् ।

‘मागको तुलनामा ३ सय ९५ मेगावाट विद्युत अपुग छ, यद्यपि जनताले लोडसेडिङ भएको अनुभूति गर्नु परेको छैन,’ उनले भने,- ‘प्राधिकरणको अहिलेको मुख्य काम भनेको पिकिङ आवरको म्यानेजमेन्ट हो ।’

कहाँबाट आउँछ ८४१ मेगावाट ?

कूल ८ सय ४१ मेगावाट आपूर्तिमध्ये ३ सय २३ मेगावाट विद्युत प्राधिकरणले विभिन्न आयोजनाबाट उत्पादन गरेको र ३ सय ५२ मेगावाट स्वतन्त्र उर्जा उत्पादनकरुले उत्पादन गरेको अधिकारीले जानकारी दिए । त्यसैगरी, १ सय ६६ मेगावाट बिजुली भारतबाट आयात भएको उनले सुनाए ।


पुष्प दुलाल