सोमबार नेप्सेले माथि चढाएर किन झापड हान्यो लगानीकर्तालाई ?




काठमाडौं । सोमबार नेप्सेमा तिब्र उतारचढाव देखिएको छ । आइतबार झैं सोमबार पनि कारोबारको आधा घण्टामै नेप्सेमा दुई पटक सर्किट लागेको थियो । तर, सर्कीट लाग्दा ८० अंकसम्म बढेको बजार झण्डै २० अंकसम्म घट्दै अन्तत ६.५९ अंकले घटेर १६६०.५२ अंकमा बन्द भयो ।

पछिल्ला केही हप्तादेखि निरन्तर बढेको र आइतबार र सोमबार त सर्किट नै लागेको कारण सस्तोमा सेयर उठाएकाहरु नाफा बुक गर्न बजार पस्दा बजारले ८० अंकको बृद्धि थेग्न सकेन ।

सोमबार कारोबारको पहिलो आधाघण्टामा सेयरको माग तिब्र थियो भने कतिपय कम्पनीमा बिक्रीकर्र्ता शुन्य थिए । तर, बजार जब ८० अंकले बढ्यो त्यसपछि भने बिक्रीकर्ता बिस्तारै बजार पस्न थाले ।

सोमबारको कारोबारले चाहे सेयर किन्दा होस् वा बेच्दा संयमित हुन भने सिकाएको छ, सामान्य लगानीकर्तालाई । बजार पस्दा होस या निक्लदा केही समय बजारको चाल बुझ्न जरुरी रहेको पाठ सिकाएको छ आजको नेप्सेले । किन्दा आज नकिने कहिल्यै सेयर किन्न पाईंदैन जस्तो गर्ने र बेच्दा अहिल्यै नबेचे सेयर नै बिक्दैन जस्तो गर्ने नेपाली लगानीकर्ताको आम प्रबृत्तिलाई आजको कारोबारले गतिलो झापड हानेको छ । बजार ८० अंकसम्म बढ्दा सेयर उठाएका लगानीकर्ताले एकैदिन ठूलो धनराशी गुमाएका छन् ।

सोमबार १४४ कम्पनीका ४३ लाख २० हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकमले पनि ठूलो छलाङ मारेको छ । आज २ अर्ब ५२ करोड रुपैंयाँको कारोबार भएको छ । कारोबार रकम हेर्दा नेप्से केही समय अझै अगाडी बढ्ने नै देखिन्छ । तर, सेयर किन्दा आफूलाई चाहिने सेयर एकै दिन किन्ने र बैच्दा पनि एकै पटक बेच्ने प्रबृत्तिले भने जोखिम बढाउन सक्छ । बजारको चाल पर्गेल्दै बिस्तारै किन्दै वा बेच्दै गरे यस्तो जोखिम न्युनीकरण गर्न सकिन्छ ।

सोमबार उप—सूचकहरुमा ट्रेडिङ् र बीमा बाहेक सबै घटेका छन् । ट्रेडिङ् र बीमा १.४१ र ६७.६५ अंकले बढेका छन् भने बैंकिङ ७.२८, होटेल ३५.३९, बिकास बैंक १४.०८, जलबिद्युत २९.५२, बित्त ८.८४ र अन्य ५.५ अंकले घटेका छन् ।

सोमबार नेपाल बैंकको सबैभन्दा बढि १३ करोड ५४ लाख रुपैंयाँको कारोबार भएको छ । बैंकले ३० प्रतिशत हकप्रद जारी गर्ने अनुमति पाइसकेको छ । दोस्रोमा एनसिसी बैंकको १३ करोड ४३ लाख रुपैंयाँको कारोबार भएको छ । बैंकले १२ प्रतिशत बोनस सेयर प्रस्ताव गरिसकेको छ भने हकप्रद पनि जारी गर्ने संभावना छ ।

यसैगरी लुम्बिनी जनरल इन्स्योेरेन्सको १२ करोड ६९ लाख, एसिएन लाइफ इन्स्योरेन्सको ८ करोड ३० लाख र नेशनल लाइफ इन्स्योरेन्सको ८ करोड ८ लाख रुपैंयाँको कारोबार भएको छ ।

सोमबार पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । कमाउनेमा आज पनि बीमा कम्पनीहरु नै रहेका छन् । राष्ट्रिय बीमा कम्पनी, एभरेष्ट इस्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, गुराँस लाइफ एन्स्योरेन्स र नमस्ते बित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाएका हुन् ।

सोमबार कुनै पनि कम्पनीको १० प्रतिशतले मुल्य घटेन । सबैभन्दा बढि महिला सहयात्री बित्तीय संस्थाको सेयर मुल्य ७.८२ प्रतिशतले घटेको छ । यसैगरी स्वाबलम्बन बिकास बैंकको ७.६४, ग्रीन डेभलप्मेन्ट बैंकको ६.८६, निर्धन उत्थानको ६.७० र आइसिएफसी फाइनान्सको ६.४४ प्रतिशतले सेयर मुल्य घटेको छ ।


क्लिकमान्डु