हवाई सिट क्षमता बार्षिक ८० लाख पुर्याइने



फाइल तस्बीर

काठमाडौं । सरकारले हवाई सिटको संख्या वार्षिक ८० लाख पुर्याउने महत्वकांक्षी लक्ष्य राखेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिने वायुसेवाको वार्षिक सिट उपयोग क्षमता हाल ३६ लाख १३ हजार छ ।
सरकारले लिएको चौधौ योजनामार्फत् शत प्रतिशत बृद्धि गर्ने लक्ष्य राखेको हो ।

नेपालमा उडान भर्ने २७ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले वार्षिक ३२ लाख १७ हजार सिट क्षमता मात्रै उपयोग गरेको तथ्यांकले देखाउँछ । जुन क्षमता भन्दा ४ लाख सिट उपयोगमा आएका छैनन् ।

नेपालमा हाल उडान गरिहेका सबै वायुसेवालाई साताको एकदेखि २१ वटासम्म उडान अनुमति दिएको छ । नेपाल आउने विदेशी वायुसेवाले आफ्नो उडान क्षमता र यात्रुसंख्याका आधारमा मागेको उडान तालिका अनुसार प्राधिकरणले अनुमति दिने गरेको छ ।

नेपालमा धेरै उडान गर्ने र सिट क्षमता उपयोग गर्ने देशमा भारत, चीन, यूएई, मलेसियालगायतका मुलुक भए पनि व्यवहारिकरुपमा भने निकै कममात्रै उडान हुने गरेको छ ।

सरकारले चौधौं योजनमा लिएका लक्ष्यहरु पुरा गर्नका लागि सवै कार्यहरु प्रारम्भ गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्ययले बताए ।

‘अन्तरराष्ट्रिय विमानस्थलहरु निर्माण कार्य जारी रहेकोले निर्माण पश्चात सबै लक्ष्य पुरा हुने छ,’ प्रवक्ता उपाध्ययले भने ।

नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवामा भुटान एयरलाइन्सले सातामा एउटा मात्रै भुटान-काठमाडौ सीधा उडान गर्ने गरेको छ । यो वायुसेवाले सातामा चारवटा उडान अनुमति पाएको भए पनि बाँकी तीनवटा उडान भने भुटानबाट दिल्ली हुँदै काठमाडौं आउने गरेका छन् ।

यसरी एउटा गन्तव्यमा जाँदा यात्रु अर्को गन्तव्यमा झार्ने र ओराल्ने विधिलाई उड्डयन भाषामा पाँचौ ट्राफिक स्वतन्त्रता भनिन्छ । नेपालमा हाल यो अधिकार प्रयोग गरेर उडान गर्नेमा भुटानी वायुसेवा मात्रै छ ।

नेपालमा धेरै उडान गर्ने र सिट क्षमता उपयोग गर्ने देशमा भारत, चीन, यूएई, मलेसियालगायतका मुलुक भए पनि व्यवहारिकरुपमा भने निकै कममात्रै उडान हुने गरेको छ ।

चौधौं योजनाको लक्ष्यमा आन्तरिक उडान गर्ने वायुसेवाहरूको संख्या १८ बाट २५ पुर्याउने लक्ष्यसमेत राखिएको छ । नेपाल आउने विदेशी बिमान कम्पनीहरुको संख्या २७ बाट ३१ पुर्याउने लक्ष्य समेत राखिएको छ । चौधौं योजनामा द्विपक्षीय हवाई सेवा सम्झौता भएका देशहरुको संख्या ३८ बाट ४२ पुगेको पुग्ने लक्ष्य राखिएकोे छ ।

अन्तरराष्ट्रिय तथा क्षेत्रीय विमानस्थललाई अन्तरराष्ट्रिय ट्रान्जिटको रुपमा प्रयोग हुनेगरी विकास गरिने लक्ष्यमा राखिएको छ । योजनामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणसम्पन्न भएर संचालनमा आइसक्ने लक्ष्यमा राखिएको छ । त्यसैगरी, बारामा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रारम्भ भएको हुने लक्ष्य राखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिसमेत भइसक्ने लक्ष्यमा राखिएको छ । त्यस्तैगरी सबै मौसममा संचालन हुने आन्तरिक विमानस्थलहरुको ३० पुर्याउने लक्ष्यमा राखिएको छ । हाल ५६ वटा आन्तरिक विमानस्थल भएपनि संचालनमा २६ वटा मात्र विमास्थलहरु रहेका छन् । ।

त्यस्तैगरी प्रत्येक गाविसमा एक हेलिप्याड भएको हुने र प्रत्येक प्रादेशिक राजधानीमा एक स्तरीय विमानस्थल निर्माण गरिने लक्ष्यमा राखिएको छ ।


पुष्प दुलाल