काठमाडौं बाहिर पुनरकर्जाको सुविधा दिँदैनन् बैंक



काठमाडौं । काठमाडौं बाहिरका व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाहरुले पुनरकर्जाको सुविधा उपलब्ध गराएका छैनन् । राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा कर्जा बढाउने उद्देश्यले बैंकहरुलाई पुनरकर्जाको सुविधा उपलब्ध गराउँदै आएको छ ।

तर, यसरी राष्ट्र बैंकबाट लिएको सहुलियत दरको पुनरकर्जा बैंकहरुले काठमाडौंबाट मात्रै दिँदै आएका छन् ।

नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले काठमाडौं बाहिरका आधा दर्जन शहरहरुमा गरेको अध्ययनमा बैंक तथा वित्तीय संस्थाहरुले पुनरकर्जाको सुविधा उपलब्ध नगराएको पाइएको हो ।

‘हामीले मोफसलमा गरेको अध्ययनले त्यहाँ बैंकहरुले पुनरकर्जाको सुविधा उपलब्ध गराएको पाइएन,’ राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले भने ।

अनुसन्धान विभागले सरोकारवालाहरुलाई बोलाएर पुनरकर्जासम्बन्धी कार्याक्रमको आयोजना गरेको थियो ।

पुनरकर्जाको उद्देश्य राष्ट्रिय उत्पादन बढाउँदै अर्थतन्त्र बलियो बनाउनु भएको थापाले बताए ।

१० लाखदेखि १० अर्बसम्म

आर्थिक वर्ष २०१९/२० मा राष्ट्र बैंकले नेपाल औद्योगिक विकास निगमलाई पहिलो पटक १० लाख पुनरकर्जा उपलब्ध गराएपछि नेपालमा पुनरकर्जाको सुरु भएको हो ।

थापाका अनुसार त्यसपछि राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्यात तथा औद्योगिक कर्जा विस्तार गर्न प्रोत्साहित गर्ने उद्देश्यले०२३ सालमा ६ प्रतिशत ब्याजदरमा पुनरकर्जाको दिन थाल्यो ।

आर्थिक वर्ष २०२७/२८ मा औद्योगिक कर्जाको उद्देश्यअनुसार तथा समय अवधिका आधारमा ब्याजदर कायम गरियो । तोकिएका कृषि क्षेत्रमा प्रवाहित कर्जामा पुनरकर्जा सुविधाको व्यवस्था गरिएको हो ।

वि.स. २०४३, २०५०, २०५६, २०५७ मा पुनरकर्जा ब्याजदरमा समायोजन गरिएको र रुग्ण उद्योगलाई समेत पुनरकर्जा सुविधा प्रदान गरियो ।

०६७ मा विदेशी मुद्रामा हुने निर्यात कर्जा बाहेकका पुनरकर्जा दरहरुलाई एकीकृत गरिएको थापाले जानकारी दिए । निर्यात उद्योग, रुग्ण उद्योग, साना तथा मझौला उद्योग र बैदेशिक रोजगारीसँग सम्बन्धित क्षेत्रलाई पुनरकर्जा दर वार्षिक १.५ प्रतिशत गरियो ।

०६८ मा निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन उद्योग, उर्जा तथा पर्यटन क्षेत्रमा पुनरकर्जा दर ७ प्रतिशत कायम गरियो ।

०७०, ०७१ र ०७२ मा पुनरकर्जाका क्षेत्रहरु विस्तार गरिएको । यसप्रकार साना जलविद्युत, पशु तथा मत्स्यपालन, जडिबुटी प्रशोधन, फलफुल लगायतका क्षेत्रहरु समावेश गरियो ।

०७२ मा भूकम्प पीडितलाई शून्य ब्याजदरमा पुनरकर्जा प्रदान गरियो । ०७३ माघ महिनासम्म २ सय १२ जना भूकम्पपीडितले ४७ करोड रुपैयाँ पुनरकर्जा सुविधाको उपयोग गरेका छन् ।

पाँच प्रकारका पुनरकर्जा

राष्ट्र बैंकले साधारण, विषेश, निर्यात, साना तथा मझौला उद्यम, भूकम्पपीडितकोअ ावासका लागि पुनरकर्जा उपलब्ध गराउँदै आएको थापाले जानकारी दिए ।

र, अहिले पुनरकर्जा दिने पैसा छैन

चालू आर्थिक वर्षका लागि राष्ट्र बैंकले पुनरकर्जाका लागि साढे १० अर्ब रुपैयाँ बजेट बिनियोजन गरेको थियो । जसमध्ये हालसम्म १० अर्ब रुपैयाँ पुनरकर्जा प्रवाह भइसकेको छ ।

राष्ट्र बैंकका बैंक नियमन विकागका कार्यकारी निर्देशक नारायण पौडेलका अनुसार अहिले बैंकहरुले १४ अर्ब रुपैयाँ बराबरको पुनरकर्जा माग गरेका छन् । तर राष्ट्र बैंकसँग पुनरकर्जा दिन मिल्ने ५०/६० करोड रुपैयाँ मात्रै छ ।


पुष्प दुलाल