चुनावी माहोल र ब्रोक्ररको शाखा विस्तारले सेयर बजारमा उछाल




काठमाडौं । मंगलबार तीन पटकसम्म सर्किट ब्रेक लागेको नेप्से अन्तत १६ सय १० अंक पुगेर बन्द भयो । ५ प्रतिशतले (७६.७९ अंक) बढेको नेप्सेमा १ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ ।

बैंकहरुले बढाएका ब्याजदर नघटेसम्म केही समय सेयर बजार अझै स्थिर रहला भन्ने अनुमानको बिपरित नेप्सेले गत हप्ता देखि एकाएक छलाङ मार्न थालेको छ । गत हप्ता नै नेप्से १२८ अंकले बढेको थियो ।

एक्कासी द्रुत गतिमा बढ्न थालेको नेप्सेले लगानीकर्तामा आत्मबिश्वास भर्नुका साथै निकै अन्योलमा पनि पारेको छ । लगानीकर्ताहरु बढ्दो नेप्सेको ‘भेल’ मा प्रवेश गरिहाल्ने हो कि अझै केहि समय पर्खेर नेप्सेको वास्तविक दिशा पर्गेल्ने हो भन्नेमा निश्चिन्त हुन सकेका छैनन् ।

बजार केहि समय अघि जे कारणले त्यसमा आधारभुत परिवर्तन आएसकेको छैन । ब्याजदर अझै घटेको छैन । तर, ब्रोकरहरुको सेवा बिस्तार र चुनावको माहोलले लगानीकर्ताको मनोबल उकासेको छ । चुनाव सँगै सरकारी खर्च बढ्ने र तरलता सहज भएसँगै बजार फेरी उकालो लाग्ने लगानीकर्ताले आंकलन गरेका छन् ।

साथै, बजारमा चल्ने हल्लाले पनि सेयर बजार बढ्नुमा केहि भुमिका खेलेको छ ।

बारम्बार जस्तै पछिल्लो समय पनि बिमा कम्पनीहरुको पूँजी बृद्धिको चर्चा चल्न थालेको छ । यद्यपि यस हल्ला पुष्टि गर्ने तथ्यगत आधारहरु भने अझै प्राप्त भएका छैनन् ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म बैंक तथा वित्तीय संस्थाहरुले बढाएको नाफा र छिट्टै तेस्रो त्रैमासमा पनि राम्रो बिवरण आउने आशमा लगानीकर्ता हौसेका छन् । तेस्रो त्रैमासको बिबरण सँगै आगामी बर्षको लाभांस सामान्यतः आंकलन गर्न सकिन्छ ।

‘बैंकहरुले पूँजी बृद्धि गर्नुपर्ने मिती नजिकदै गर्दा चालु आर्थिक बर्षको नाफाबाट आकर्षक बोनस सेयर र हकप्रद सुरक्षित गर्न पनि लगानीकर्ताहरु बजारमा आएका छन् ’ कालिका सेक्युरिटिजका नरेन्द्र सिजापति भन्छन् । तर, बजारको वास्तविक दिशा पत्ता लगाउन अझै एक दुई हप्ता कुर्नुपर्ने सिजापति बताउँछन् ।

विगतलाई केलाउने हो भने पनि सामान्यतः चैत लागेपछि सेयर बजार बढ्ने गरेको छ । चालु आर्थिक बर्षको लाभांस सुरक्षित गर्न लगानीकर्ताहरु चैत लागेपछि बजार प्रवेश गर्ने हुँदा सेयरको माग आपुर्ती भन्दा बढि हुने गर्छ ।

गत हप्ता र यस हप्ताको नेप्सेको मार्केट डेप्थ हेर्दा आपुर्ती भन्दा माग उच्च देखिन्छ । केहि समय अघिसम्म मुश्किलले ३० करोड रुपैंयाँको कारोबार हुने बजारमा अर्ब माथीको कारोबार हुन थाल्नुले यसको थप पुष्टि गर्छ ।

‘सकारात्मक राजनिति र कम्पनीहरुको राम्रो बिबरण सँगै बजार बिस्तारै बढे पनि यहि गतिमा चाँही बजार बढ्दैन’ सिजापतिले भने,‘ केहि करेक्सनहरु स्वभावीक रुपमा आउँछन्’ ।

यसरी तिब्र गतिमा बढ्दै गरेको बुलिस बजारमा एक्कासी हाम्फाल्नु भन्दा पनि बजारमा आउने करेक्सनको समय पारि राम्रा कम्पनीको सेयर उठाउनु राम्रो रणनिती हुनसक्छ । साथै, यस्ता बुल रनहरु आफु सँग भएका नराम्रा र कमजोर कम्पनीहरु बेची उपयुक्त समयमा राम्रा कम्पनीको सेयर उठाउने अवसर पनि हुन् ।


क्लिकमान्डु