सात महिनामै ५ खर्ब नाघ्यो ब्यापारघाटा




काठमाडौं । चालु आर्थिक बर्षको ७ महिनामा ब्यापार घाटा ५ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । आयात अत्याधिक बढेको र निर्यातको परिमाण कम भएको कारण ब्यापार घाटा उच्च अंकले बृद्धि भएको हो ।

ब्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको प्रारम्भिक तथ्यांकले यस्तो देखाएको हो । केन्द्रका अनुसार गत माघ मसान्तसम्ममा नेपालको ब्यापार घाटा गत बर्षको सोही अबधिको तुलनामा ६२.२ प्रतिशतले बढेर ५ खर्ब १४ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

केन्द्रका अनुसार सो अवधिसम्ममा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५२.३ प्रतिशतले वृद्धि भई ५ खर्ब ९९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । कुल व्यापारमा निकासीको योगदान ७ प्रतिशत र आयातको योगदान ९३ प्रतिशत छ ।

सो अवधिमा नेपालको कुल निकासी ११.१ प्रतिशतले वृद्धि भई ४२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । आयात भने ५६.८ प्रतिशतले बढेर ५ खर्ब ५७ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अबधिमा निकासी—पैठारी व्यापारको अनुपात १ः९.४ भएकोमा आ.व. २०७३/७४ को सोही अवधिमा १ः१३.२ अनुपात पुगेको छ ।

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु र हस्तकलाका सामानहरु हुन् । यस्तै चाउचाउ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि प्रमुख रहेका छन् ।

गत वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा ३.० प्रतिशतले ह्रास आई ४ अर्ब ३४ करोड, तयारी पोशाकको निर्यातमा ७.२ प्रतिशतले ह्रास आई ३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यसै गरी फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा १७.७ प्रतिशतले वृद्धि भर्ई ३ अर्ब ३७ करोड, पोलिष्टर तथा अन्य धागोमा ३३.८ प्रतिशतले वृद्धि भई ३ अर्ब ५३ करोड र मुसुरोको दालमा २३.६ प्रतिशतले वृद्धि भई ६० करोड पुगेको छ ।

केन्द्रका अनुसार सो अवधिमा ४१ करोड रुपैयाँको छाला, २ अर्ब २१ करोड रुपैयाँको अलैंची, १ अर्ब ७५ करोड रुपैयाँको चिया, १५ करोडको अदुवा, ४९ करोडको चाऊचाउ, ३८ करोडको जडिवुटी, ३२ करोडको टुथपेष्ट, १ अर्ब ८९ करोडको टेक्सटाइल, १ अर्ब ५७ करोडाको पश्मिना सल, ३४ करोडको हस्तकलाका सामानहरु र ४३ करोडको नेपाली हातेकागज निकासी भएको छ ।

नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, टर्की, जर्मनी, युके, चीन, फ्रान्स, इटाली, वंगलादेश, जापान, क्यानडा, अष्ट्रेलिया, नेदरलेण्ड्स र डेनमार्क आदि प्रमुुख रुपमा रहेका छन् ।

आयाततर्फ चालु आर्थिक बर्षको पहिलो सात महीनाको अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा ८३.६ प्रतिशतले वृद्धि भई ६० अर्ब ६७ करोड, पेट्रोलियम पदार्थमा १४४.६ प्रतिशतले वृद्धि भई रु. ६२.५४ अर्ब, यातायातका साधन र तिनका पार्टपुर्जामा १२२.६ प्रतिशतले वृद्धि भई ५३ अर्ब ९८ करोड, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा ४७.५ प्रतिशतले वृद्धि भई २३ अर्ब ८८ करोड, औषधीमा १९.६ प्रतिशतले ह्रास आई १२ अर्ब ९२ करोड, मेशिनरी तथा पार्ट्समा १०४.९ प्रतिशतले वृद्धि भई ४५ अर्ब ४८ करोड, पोलिथिन ग्रेन्युल्समा २०.९ प्रतिशतले वृद्धि भई ९ अर्ब १८ करोड र कच्चा पाम आयलमा ९५.४ प्रतिशतले वृद्धि भई २ अर्ब ५७ करोड रुपैयाँको बस्तु आयात भएको छ ।

यस्तै दुरसञ्चारका सामाग्रीहरुमा ४८.४ प्रतिशतले वृद्धि भई १८ अर्ब ३७ करोड, रसायनमा १८.५ प्रतिशतले वृद्धि भई ५ अर्ब ५३ करोड रुपैयाँ भएको छ । यसैगरी १३ अर्ब ५० करोड रुपैयाँ बराबरको सुन, ५ अर्ब १५ करोड बराबरको चाँदी, ४ अर्ब ६७ करोड बराबरको रासायनिक मल तथा १० अर्ब ९३ करोड रुपैयाँ बराबरका हवाईजहाज तथा हवाईजहाजका पार्ट्स आयात भएका छन् ।

साथै सो अवधिमा सिमेन्ट क्लिङ्कर ११ अर्ब १९ करोड रुपैयाँ, भटमासको कच्चातेल २ अर्ब ५७ करोडको, तयारी पोशाक ७ अर्ब ८५ करोडको, अन्न २३ अर्ब ६१ करोडको र ऊन २ अर्ब १० करोड रुपैयाँ बराबरको आयात भएको छ ।

नेपालको पैठारी व्यापारमा भारत, चीन, युएई, फ्रान्स, इण्डोनेशिया, थाइलेण्ड, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, साउदी अरेविया, जापान, दक्षिण कोरिया, मलेशिया, भियतनाम र क्यानडा प्रमुुख रुपमा रहेका छन् ।

नेपालका प्रमुख व्यापारिक साझेदार देशहरु मध्ये निर्याततर्फका प्रमुख गन्तव्यहरुमा भारततर्फ अलैंची, जुस, कपडा, धागो, चिया, फलाम तथा स्टीलका उत्पादनहरु, जुत्ता, रोजिन र रेजिन एसिड, जुटका बोरा तथा झोला एवम् पिना प्रमुख रुपमा निर्यात भएको देखिन्छ । यसै गरी युएसएतर्फ उनी गलैंचा, तयारी पोशाक, काँचका सामानहरु, पश्मिना सल, फेल्टका सामानहरु छुर्पी हस्तकलाका सामानहरु सारतेल सुतीका झोलाहरु प्रमुख रुपमा निर्यात भएका छन् ।

जर्मनीतर्फ पनि कार्पेट, तयारी पोशाक, पश्मिना, फेल्टका सामानहरु, चिया टोपी सुतीका झोला, हस्तकलाका सामानहरु कागजका उत्पादनहरु र ट्रान्सफरमरहरु निर्यात भएको पाइन्छ । यता नेपालको प्रमुख साझेदार मध्ये एक युके तर्फ भने ऊनी गलैंचा, पश्मिना, तयारी पोशाक, फेल्टका सामानहरु, कागजका सामानहरु, टोपी, हस्तकलामा सामानहरु, सुती झोला र तयारी चाऊचाऊ उल्लेख्य मात्रमा निर्यात भएका छन् । त्यसै गरी नेपालको अर्को महत्वपूर्ण निर्यात गन्तव्यका रुपमा रहेको टर्कीतर्फ भने धागो, छाला, ऊनी गलैंचा, टोपी, औषधी र हस्तकलाका सामानहरु निर्यात भएको पाइन्छ ।

यता नेपालको आयातको प्रमुख श्रोत मध्ये अग्रस्थानमा रहेको भारतबाट पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादनहरु, यातायातका साधनहरु, मेशिनरी तथा पाटपुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ ।

यसै गरी नेपालको आयात व्यापारमा दोश्रो स्थानमा रहेको उत्तर तर्फको छिमेकी मुलुक चीनतर्फबाट हुने आयातमा दुरसञ्चारका सामाग्रीहरु, विद्युतीय उपकरणहरु, मेशिनरी तथा पार्टपुर्जा, स्याऊ तथा रासायनिक मलले प्रमुख स्थान हासिल गरेका छन् ।

अर्को प्रमख आयातको श्रोत मुलुक युएईबाट भने सुन, चाँदी, प्लाष्टिकको कच्चापदार्थ, लुव्रिकेटिङ तेल र चकलेट आयात भएको पाइन्छ । साथै थाइलेण्डतर्फबाट भने धागो, यातायातका साधन, हल्का पेयपदार्थ, सेम्फू, प्लाष्टिकको कच्चापदार्थ आयात भएको देखिन्छ । इण्डोनेशियाबाट पनि कच्चा पाम तेल, कोइला, सुपारी, काठ तथा प्लाष्टिकको कच्चापदार्थ प्रमुख रुपमा आयात भएको छ ।


क्लिकमान्डु