संस्थागत लगानीकर्ताको लागि सगुनको सेयर महिना दिनपछि



काठमाडौं । सामाजिक सञ्जाल सगुनले महिनादिन पछि संस्थागत लगानीकर्ताका लागि सेयर निष्काशन गर्ने भएको छ । सगुनले निष्काशन गरेको मिनि आइपीओको बिक्री बन्द हुन ।लागिरहेका बेला संस्थागत लगानीकर्ताका लागि पनि सेयर निष्काशन गर्ने घोषणा गरेको हो ।

‘अबको एक महिनापछि संस्थागत लगानीकर्ताका लागि सेयर निस्कासन गर्ने हाम्रो योजना छ,’ सगुनका प्रमुख गोबिन्द गिरीले भने ।

आइतबार साँझ सगुनले निष्काशन गरेको मिनि आइपिओ बारे जानकारी दिने उद्देश्यले फेसबुक लाइभ गर्दै गिरीले यस्तो जानकारी दिएका हुन् ।

सगुन नेपालीले स्थापना गरेको अमेरिकी स्टार्ट अप इकमर्स कम्पनी हो । मिनी आइपिओ खुलेयता झण्डै २ हजार सर्बसाधारणले सगुनमा लगानी गरिसकेको गिरीले जानकारी दिए ।

कम्पनीले आगामी मार्च २७ देखि मिनी आइपिओ निस्कासन बन्द गर्दैछ । धेरैले स्टार्ट अप कम्पनीमा गरिने लगानीलाई जोखिमपूर्ण ठानिहेका बेला लगानीकर्ताको चासो उत्साहप्रद रहेको उनको भनाई थियो ।

मिनी आइपिओ निस्कासन गरेपछि गिरिले पहिलो पटक आइतबार सार्बजनिक सम्बोधन गरे । उनले सगुन आगामी ५ बर्षभित्र १० अर्ब डलरको कम्पनी बन्ने दाबी गरे ।

‘त्यतिखेर कम्पनीमा १ हजारभन्दा बढी कर्मचारी हुनेछ, युजरको संख्या १ करोड नाघ्नेछ,’ उनले भने, ‘हामीले बार्षिक २ करोड डलर बार्षिक आम्दानी गर्ने छौं ।’

सगुनले सोसियल डिजिटल स्मार्ट कार्डको अबधारणा ल्याएको छ । यसलाई सर्बसाधारणले मन पराउने छन् ।

सगुनले अब थप लगानी जुटाउने काम ब्रोकर डिलरले गर्ने उनले जानकारी दिए ।

अब ब्रोकर डिलरको हातमा लगानी जुटाउने जिम्मा पुगेकाले सर्बसाधारणका लागि लगानी गर्ने अबसर नआउन पनि सक्ने भन्दै उनले मौकाको सदुपयोग गर्न विदेशमा रहेका नेपालीलाई आग्रह गरे ।

कसरी कमाइ हुन्छ सगुनबाट ?

गिरीका अनुसार फेसबुकमा १ अर्ब ७० करोड रजिस्टर्ड युजर छन् । ह्वाट्स एपमा ९० करोड युजर छन् । आइपिओमा जाने तयारी गरिरहेको स्न्याप च्याटका ४० करोड युजर छन् । लिंक्डइनमा ४० करोड रजिस्टर्ड युजर र ३ करोड ५० लाख एक्टिभ युजर छन् । ती सबैमा मोनोटाइज गर्ने सिस्टम छैन । फेसबुक त्यतिधेरै युजर हुँदा पनि प्रोफिट लेवलमा पुगेको छैन । ह्वाट्सअपले मोनोटाइज गर्ने सिस्टम बनाएकै छैन ।

लिंक्डइनसँग यस्तो सिस्टम नभएर सुरुमा आइपिओमा जाँदा १०३ डलर प्रतिसेयर मूल्य भएको कम्पनी माइक्रोसफ्टलाई ४६ डलर प्रति सेयर मूल्यमा बेच्नु पर्यो ।

विश्वब्यापीरुपमा आम मानिसले औषतमा २ देखि ६ घन्टासम्म सामाजिक संजालमा विताउने गरेको गिरी बताउँछन्।

सगुनले यही बर्ष (सन् २०१७ भित्र) नेपाल र भारतमा पाइलट प्रोजेक्टका रुपमा आम्दानी बाँड्ने गरी स्मार्ट कार्ड जारी गर्ने उनले बताए ।

‘अर्को बर्षको पहिलो तीन महिनाभित्रै युजरलाई रेभेन्यु सेयरिङको काम सुरु गर्छौ’ गिरीले भने ।

सगुनले ३ तरिकाबाट आम्दानी गर्ने योजना बनाएको छ । एउटा फेसबुकले गर्ने जस्तो ब्यानर एडभर्टाइजिङ हो । यसमा सगुनले आफ्नो एप्लिकेसन्सको स्टोरीसँग म्याच हुने खालेका विज्ञापन राख्ने योजना बनाएको छ ।

सगुनले अहिले मिनी आइपीओमार्फत २ करोड डलरको सेयर निस्कासन गरेको छ । हरेक ब्यक्तिले २३ डलर प्रतिकित्ताका दरले कम्तीमा १३ कित्ता सेयर किन्न सक्ने छन् । सगुनलाई अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी)ले ‘जब्स एक्ट’ अनुसार मिनि आइपीओ निस्कासन गर्ने अनुमति दिएको हो ।


पुष्प दुलाल