हराएको पासपोर्ट बनाउन साढे २ अर्ब खर्च, पासपोर्ट जति म्यानपावरको दराजमा



काठमाडौं । नेपालमा पासपोर्ट हरायो भन्दै नयाँ पासपोर्ट बनाउनेहरुको संख्या बढ्दो छ । सन् २०११ देखि सन् २०१७ को जनवरीसम्ममा आइपुग्दा झण्डै १ लाख ८५ हजार ८ सय ७२ जना नेपालीले पुनः पासपोर्ट हराएको भन्दै प्रतिलिपी लिइसकेको छन् ।

यसरी प्रतिलिपी पासपोर्ट लिनकै लागि मात्रै नेपालीले साढे २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिसकेको प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार सुशील ढुंगाना बताउँछन् ।

सामान्य अवस्थामा जिल्ला प्रसाशन कार्यालयबाट पासपोर्ट बनाउन ५ हजार, राहदानी विभागबाट बनाउन १० हजार र विदेशीस्थित नियोगबाट बनाउन ८० डलर खर्चलाग्छ ।

तर, हराएको पासपोर्ट बनाउन भने जिल्लामा थप ५ हजार, विभागमा पनि थप ५ हजार र नियोयमा बनाउँदा ८० डलर जरिवान लाग्छ ।

नेपालमा मात्रै जिल्ला प्रसाशन कार्यालयबाट सोही अवधिमा ८२ हजार ४ सय ३० जनाले १० हजारका दरले पुनः प्रतिलिपी पासपोर्ट लिएका छन् ।

यस वापतमात्रै नेपालीको ८२ करोड ४३ लाख खर्च भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसैगरी राहदानी विभागबाट १५ हजार रुपैयाँ तिरेर ८४ हजार ५ सय ८४ जनाले नयाँ पासपोर्ट लिएका छन् ।

यसरी प्रतिलिपी पासपोर्ट लिँदा मात्रै १ अर्ब २८ करोड ८७ लाख ६० हजार रुपैयाँ खर्च भएको देखिन्छ ।

यसैगरी सोही अवधिमा १८ हजार ८ सय ५८ जनाले १ सय ६० डलर खर्च गर्दै विश्वका विभिन्न देशमा नियोगबाट पासपोर्टको प्रतिलिपी लिएका छन् । यसमा पनि नेपाली नागरिकको ३१ करोड ९८ लाख ३१ हजार ६ सय ८० रुपैयाँ खर्च गरेको देखिन्छ ।

सबै रकमलाई एकमुष्ट गर्दा करिब २ अर्ब ४२ करोड रुपैयाँ हुन आउँछ ।

प्रधानमन्त्री कार्यालयका अनुसार हराएको भन्दै पासपोर्ट बनाउनेको संख्या बढेपनि उक्त संख्याको १ प्रतिशत पनि पासपोर्ट पनि हराएको छैन ।

हराएका भनिएका ९८ प्रतिशत बढी पासपोर्ट म्यानपावर कम्पपनीका दराजमा थन्किएको ढुंगानाको दाबी छ । बैदेशिक रोजगारीमा जाने युवाले म्यानपावर कम्पाीलाई पासपोर्ट बुझाउने र भिसा आएपछि नजाने भन्दै पासपोर्ट लिन जाँदैनन् ।

म्यानपावर कम्पनीलेपनि आफ्नो खर्च भएको भन्दा दोब्बर दस्तुर माग्ने प्रवृत्ति हावी हुँदा पासपोर्ट बनाउनेको संख्या बढ्न गएको ढुंगानको भनाई छ ।

‘अब सरकारले एक साताको समयावधि दिएर म्यानपावर कम्पनीसँग पासपोर्टको विवरण माग्नेछ । कम्पनीले पासपोर्ट दिन नचाहेमा छापा मारेर पासपोर्ट जफत गरिनेछ,’ ढुंगानाले भने ।

जफत गरिएका पासपोर्ट सम्बन्धित निकायलाई बुझाउने छ । यसरी बुझाइएएका पासपोर्ट हरायो भन्दै बनाउन आउने नागरिकलाई नै फिर्ता गरिने ढुंगानाले बताए ।

त्यसैगरी, १ प्रतिशतभन्दा बढी पासपोर्ट स्थानीय दलालको गोजीमै रहेको उनले दाबी गरे ।


पुष्प दुलाल