रमाइलो गरेर मनाउनुस् होली, तर जथाभाबी रंग प्रयोगले यी खतरा पनि आइलाग्न सक्छ




काठमाडौं । आज फागु वा होली पर्व । देशैभर विभिन्न उत्साह र उल्लासका साथ मनाइदै छ । पौराणिक कथन अनुसार होलीका दहनको उत्सव र भगवान रामले रावणलाई मारेको अवसरमा होली पर्व मनाउने गरिन्छ ।

अहिले हिन्दुहरु मात्र नभएर हरेक धर्मावलम्बीहरुले यसलाई उत्सवको रुपमा मनाउने गरेका छन् ।

फागु वा होलीमा प्रयोग गरिने रंगहरुले हाम्रो प्रकृतिको अवस्थालाई दर्शाउने गर्दछ भने त्यसले हाम्रो स्वास्थ्य, दिर्घायु तथा प्रगतिको कामना पनि गर्ने विश्वास गरिन्छ ।

तर त्यही होलीमा प्रयोग हुने रंगहरु मानव स्वास्थ्यका लागि हानिकारक छन् भन्दा आश्चार्य मान्नुपर्ने अवस्था छ । उपभोक्तावादीहरुले अहिले बजारमा पाईने विभिन्न रंगहरु अस्वस्थ्यकर भएको र यसले मानव स्वास्थ्यलाई गंभिर असर पार्ने बताएका छन् । अझ अहिले बजारमा पाईने रंगहरुले क्यान्सर जस्तो घातक रोग निम्त्याउने खतरा रहेको उनीहरुको दाबी छ ।

बजारमा उपलब्ध भएका विभिन्न रंगहरुमा केमिकल मिसाईएको र सिसा समेत रहेको हुँदा त्यसको प्रयोगमा सजकता अपनाउनुपर्ने राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।

‘बजारमा विभिन्न किसिमका अस्वस्थ्यकर र गुणस्तरहिन रंगहरु छन्, जसमा कपडा रंगाउने केमिकलदेखि सिसासम्म हालिएको छ,’ महर्जनले क्लिकमाण्डूसँग भने ।

हाल बजारमा पाईने धुलो रंगहरुमा लिड अर्थात सिसा मिसाईएको र झोल रंगहरुमा एसिड मिसाईएको हुँदा त्यसमा उपभोक्ता सचेत हुनुपर्ने उपभोक्तावादीहरुको भनाई छ ।

विभिन्न रंगहरु खुला सिमानाको फाईदा उठाएर व्यवसायीहरुले गैरकानूनीरुपमा भित्र्याईरहेको अर्का उपभोक्ताकर्मी माधव तिमल्सिना बताउँछ ।

‘हामी कहाँ भित्रिने र खुला बजारमा पाईने यस्ता रंगहरुको परिक्षण गर्ने प्रविधि नै छैन्,’ उपभोक्ता अधिकार अनुसन्धान मन्चका अध्यक्ष समेत रहेका उनले भने ।

नेपालमा उत्पादित रंगहरु जून घर, वा अन्य वस्तु रंगाउन प्रयोग हुन्छ त्यसको केही परिक्षण र मापदण्ड तोकिए पनि कहिलेकाँही सिसाको मात्रा पाईने गरेको उनीहरुको भनाई छ ।

‘हामीकहाँ उत्पादित रंगहरुको गुणस्तर केही हदसम्म राम्रो भएपनि होलीमा प्रयोग हुने रंगहरु अस्वस्थ्यकर रहेको र त्यसले हाम्रो स्वास्थ्यलाई हानी गर्छ,’ तिमल्सिनाले भने ।

तिमल्सिनाका अनुसार यसलाई नियमन गर्न विभिन्न उपभोक्तासँग सम्बन्धित वा गुणस्तरसँग सम्बन्धित ऐन, नियम प्रयोग गर्न सकिने भएपनि कुनैपनि निकाय अहिलेसम्म अग्रसर भएको छैन ।

यही विषयमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुल धितालसँग जिज्ञासा राख्दा उनी पनि अनविज्ञता दर्शाउँछन् । उनकाअनुसार यो विषयमा सरकारको ध्यान नै गएको छैन् ।

‘महत्वपूर्ण विषय भएपनि अहिलेसम्म यसलाई नियमन गर्ने बारेमा ध्यान नै पुगेको छैन्, तपाईँले यो विषयमा सोध्नुभयो, आगामीे छलफलहरु र नीतिहरुमा यसलाई समेट्ने प्रयास गनेछौं,’ महानिर्देशक धितालले क्लिकमाण्डुसँग भने ।

त्यसैगरी गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पनि हालसम्म ध्यान जान नसकेको स्विकार गरे ।

‘अहिलेसम्म कसैको पनि ध्यान जान सकेको छैन्, नियमन गर्नुपर्ने चैँ हो तर अहिलेसम्म गरिएको छैन,’ पुडासैनीले भने ।

महानिर्देशक पुडासैनीकाअनुसार अहिलेका केहि रंगहरुमा अक्साइड तथा हेभी मेटलहरु पनि हुने गरेको छ । जसले क्यान्सर नै नभएपनि शरिरमा तन्तुहरुमा हानी पुर्याउँछ ।

उपभोक्ताकर्मी महर्जनकाअनुसार हालसम्म मानवलाई हानी गर्ने रंगहरुको प्रयोगलाई नियन्त्रण गर्ने कानून र निकायको नै अभाव छ । हाल यस्तो विषयमा जिल्ला प्रशासन कार्यालयले होलीलाई मर्यादित बनाएर खेल्न अनुरोध गर्ने र जथाभावी अरुलाई रंग नहाल्न सार्वजनिक सूचना गर्ने बाहेक अन्य नियमनको काम हुन सकेको छैन ।

यो विषयलाई विभागका महानिर्देशक धितालले पनि स्विकार गरे । ‘हाल यसलाई प्रहरी र प्रशासनले मात्र अनुगमन गर्ने गरेको छ, तर पनि रंगको प्रयोग उपभोक्तासँग सम्बन्धित छ,’ उनले भने ।

उता उपभोक्ताकर्मी तिमल्सिनाले भने उपभोक्ताहरु नै सजक हुनुपर्ने र रंगको प्रयोग गर्दा अर्गानिक रंगको प्रयोग गर्ने वा अनावश्यकरुपमा रंग दल्ने गतिबिधि रोक्नुपर्ने बताउँछन् ।

त्यस्तै उपभोक्ताकर्मी महर्जन पनि अवस्थकर रंगले प्रयोगकर्ताकै स्वास्थ्यमा गंभिर असर पर्ने दाबी गर्दछन् । ‘होलीमा एक दिन प्रयोग गरेको रंगले वर्षौसम्म स्वास्थ्य खराब हुनसक्दछ,’ उनले भने ।


क्लिकमान्डु