सांसद्को प्रश्न- गभर्नरसा’प बैंकले व्याजदर बढाएर हैरान पारे, गुनासो गर्न कहाँ जाउँ ?




काठमाडौं । ‘सिद्धार्थ बैंकबाट ७ प्रतिशतमा लिएको कर्जाको ब्याजदर ९ प्रतिशत पुगेको छ । महिनामा बैंकले कति प्रतिशतसम्म ब्याजदर बढाउन पाउने हो ?’

माथिको प्रश्न कुनै आम नागरिकको होइन । नेपाली कांग्रेसकी सांसद् ओमदेवी मल्लले सांसद बैठकभित्र गरेको गुनासो हो ।

बैंकले ऋणको ब्याजदर अत्याधिक बढाएपछि मंगलवारको अर्थ समितिको बैठकमा सांसद मल्लले यस्तो गुनासो पोखिन् ।

बचत तथा ऋण सहकारी संस्थासमेत सञ्चालन गर्दै आएकी मल्लले भनिन्,- ‘बैंकका कर्मचारीले तपाई सांसद् भएको कारण ९ प्रतिशत ब्याजदर लिएको अन्यलाई भए त १२ प्रतिशत ब्याजदर लिन्थ्यौं भन्छन् ।’

उनले सहकारी संस्थाले यसरी ब्याजदर नबढाउने बरु घाटामा चल्ने भन्दै बैंकहरुले सर्वसाधारणलाई शोषण गरेर हरेक वर्ष नाफा बढाएको आरोप लगाईन् ।

एकीकृत नेकपा माओवादीका सांसद् शक्ति बस्नेतले बैंकहरुले ५ प्रतिशत ब्याजदर अन्तर कायम गर्न पाउने व्यवस्था भएपनि यस्तो अन्तर १० प्रतिशतभन्दा माथि रहेको बताए ।

‘औपचारिक वित्तीय प्रणालीमा पनि ब्याजदर बढी छ,’ बस्नेतले भने,- ‘अनौपचारिक माध्यममा ६० प्रतिशतसम्म ब्याजदर तिर्न व्यक्तिहरु बाध्य छन् ।’

बस्नेतपछि बोलेका नेपाली कांग्रेसका सांसद् तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले ब्याजदर बृद्धिले उत्पादनको लागत बढ्ने भन्दै अर्थतन्त्रमा यसबाट नकारात्मक असर पर्ने बताए । उनले बढी ब्याजदर लिनेलाई मुद्दा हाल्न सुझाव दिए ।

यस्तै गुनासो नेकपा एमालेका सांसद् केदार सन्जेलले पनि गरे ।

‘म बैंकको नाम भन्दिन एक महिनामा २ पटक गरेर लिएको भन्दा साढे २ प्रतिशत ब्याजदर बढाएको छ,’ सञ्जेलले भने,- ‘अघि पूर्वअर्थमन्त्री समेत रहनुभएका डा. रामशरण महतले मुद्दा हाल्ने सुझाव दिनुभयो । मैले मुद्दा हाले भने मेरा छोरानातीले पनि बैंकबाट ऋण पाउँदैनन् ।’

यस्तै एमालेका सांसद् रेवतीरमण भण्डारीले कुल निक्षेपमा ३० प्रतिशत हिस्सा रहने मुद्दती निक्षेपको अल्पकालिन ब्याजदर बढाएकै आधारमा बैंकले पुरानो ऋणको ब्याजदर बढाएको आरोप लगाए ।

‘नियमन गर्ने जिम्मा पाएको राष्ट्र बैंकको कन्ट्रोलमा बैकिङ क्षेत्र छ कि छैन भन्ने विषयमा अहिले प्रश्न उठेको छ,’ भण्डारीले भने,- ‘बैैंकहरुले सिन्डिकेट गरेर ब्याजदर तोकेका छन् ।’

एकीकृत माओवादीका सांसद् ल्यारकार लामाले बैंकले बैंकका कर्मचारीले बढी तलब तथा बोनस खानको लागि ब्याजदर बढाएको आरोप लगाए ।

पछिल्लो समय बैंकहरुले रातारात व्याजदर बढाएको गुनासो सांसदले मात्रै होइन, चोकचोकमा सर्वसाधारणले पनि गरिरहेका हुन्छन् । तर, संसदभित्रै बैंकको व्याज बढी भएको भन्ने बहस चलेपछि भने त्यसले केही न केही त गर्छ नै ।


पुष्प दुलाल