निगमले नयाँ एअरबस ल्याएपछि २९ वर्ष पुरानो वोईङ ७५७ बिक्रीमा



काठमाडौं । नेपाल वायुसेवा निगमले विस्थापन गर्न लागेको बोईङ–७५७ एसीए सिरिजको कर्णाली जहाजको न्युनतम मल्य १७ करोड रुपैयाँ तोक्ने भएको छ ।

अन्तर्राष्ट्रिय उडान भरिरहेको जहाज मर्मत गर्न नसक्ने गरि थन्किएपछि निगम व्यवस्थापनले गत जेठमा विस्थापन गर्ने निर्णय गरेको थियो । निर्णय गरेको ६ महिना सिंगापुरमा थन्काइएको थियो ।

गत मंसिरमा काठमाडौं ल्याइएको जहाजको न्यूनतम जहाज मुल्य गत शुक्रवार तोकिएको हो । निगमले केही अगामी साता ग्लोवल टेन्डर आव्हान गर्ने तयारी गरेको छ ।

निगमले तोकेको मुल्य मा सवैभन्दा बढी मुल्यमा किन्ने कम्पनीलाई निगमले जहाज बिक्री गर्ने छ । ‘जहाजले तेल तथा अन्य मर्मत खर्च बढाएपछि विस्थापनको निर्णय गरेका हौ, अव छिट्टै बिक्री हुने छ,’ निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसारकारले भने । उक्त सिरिजको जहाज अर्को थानले भने उडान भरिरहेको छ । अवको दुई वर्षमा अर्को पनि जहाज विस्थापन गर्नुपर्ने कंसाकारले बताए ।

विस्थापन गर्न लागिएको जहाजको इन्जिन पूर्णरुपमा फेर्नुपर्ने गरी समस्या देखिएपछि विस्थापन गर्ने निर्णय गरिएको हो । नयाँ इन्जिन फेर्नको लागि कम्तीमा १ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लाग्ने देखिएपछि निगमले विस्थापन गर्ने निर्णय गरेको थियो ।

१ सय ९० सिट क्षमताको बोइङ–७५७ एसिए जहाज निगमले २९ वर्ष अगाडी खरिद गरेको थियो । एक वर्ष पछाडी ७५७ एसीबी जहाज खरिद गरिएको जहाज भने मर्मतपछि अन्तरराष्ट्रिय उडान गरिरहेको छ ।

२०५० सालमा दुई बोइङ ९ एनवीएन विमानलाई कौडीको भाउमा जर्मनीमा बेचिएको थियो । उक्त समयमा युरोपमा उडिरहेका ति दुवै विमान मात्र १२ करोड रुपैयामा बेचिएका थिए । ‘निगमले चुस्त तवरले बोइङको विस्थापन गर्न लागेकोले विदेशी कन्सलट्यान्टनै राखेर मुल्यांकन गरेका हौ,’ कंसाकारले भने ।

बोइङ–७५७ प्रत्येक १८ महिना अथवा ५ हजार घण्टा उडान भरेपछि सी–चेकिङ र ओभरअल चेकिङ निगमले गराउँदै आएको छ । यसमा निगमको वार्षिक २ अर्ब रुपैयाँजति खर्च हुन्छ । २ जहाजले वार्षिक ४ अर्ब रुपैयाँ आम्दानी गरे पनि २ अर्ब मर्मतमै खर्च हुने गरेको छ । एउटा जहाजको इन्जिन ओभरअल चेकिङ गर्न ५५ करोड, सी–चेकिङ गर्न २५ करोड तथा स्पेयर्स पार्ट्सका लागि २० करोड रुपैयाँ हाराहारीमा खर्च हुने गरेको छ । जसका कारण पनि निगमले बोइङ विस्थापन गर्ने निर्णय गरेको थियो ।

१९८७ मा निगमले अन्तराष्ट्रिय उडानका लागि दुई जहाज (बोइङ–७५७) खरिद गरेको थियो । त्यसको २७ वर्षपछि दुईवटा एयरबस–३२०–२०० सिरिजका जहाज खरिद गरेर हाल अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । निगमले दुई ठुुला वाईडवडी जहाजव खरिद प्रक्रिया अगाडी बढाइसकेको छ । वाईडबडी ३३०–२०० सिरिजका दुई ठुला जहाज खरिदपश्चात निगमले लामो रुटमा उडान गर्ने तयारी थालेको छ । निगमले उक्त जहाजका लागि बैना रकम ११ करोड रुपैयाँ समेत पठाईसकेको छ ।


क्लिकमान्डु