कुन बैंकका कर्मचारीको उत्पादकत्व कति ?



काठमाडौं । कुनैपनि कम्पनीमा कर्मचारीको उत्पादकत्व जति बढी हुन्छ, त्यो कम्पनीले त्यति बढी नाफा कमाउँछ । नाफाले कम्पनीलाई जिबन्तता दिन्छ । किनभने कुनैपनि कम्पनी लगातार घाटा व्यहोरेर सञ्चालन हुनै सक्दैन ।

त्यसैले, कर्मचारीको उत्पादकत्व बढी भएका कम्पनीहरु हमेसा असफल हुँदैनन् । जुन कम्पनीले पुँजी लगानीको अनुपातमा धेरै नाफा गर्न सक्दैन, त्यो कम्पनीमा सेयर लगानीकर्ताहरु आकर्षित हुन्दैनन् । किनभने, त्यस्तो कम्पनीले आकर्षक लाभांस दिन सक्दैन ।

कर्मचारीको उत्पादकत्वमा बृद्धि भएन भने त्यो कम्पनीका लागि कर्मचारीको संख्या नै भार भइदिन्छ ।

त्यसैले, ठूला र अनुभवी सेयर लगानीकर्ता कम्पनीका अन्य बित्तीय सूचकहरुका अलावा ब्यवस्थापन र कर्मचारीको क्षमता र उत्पादकत्वमा पनि बिशेष ध्यान दिने गर्छन् ।

जनशक्तिभन्दा पहिला कम्पनीकोे वृद्धिका लागि चाहिने आधारभुत वस्तु भनेको पूँजी हो । त्यसैले पुँजी र कर्मचारीको सन्तुलित व्यवस्थापन गर्न सके मात्रै कम्पनीले गति लिन्छ ।

पूँजी र कर्मचारी संख्याको सन्तुलन त मिल्यो । तर कर्मचारीको उत्पादकत्वमा बृद्धि भएन भने त्यो कम्पनीका लागि कर्मचारीको संख्या नै भार भइदिन्छ ।

कर्मचारीको उत्पादकत्व यति महत्वपूर्ण विषय भएकाले हामीले नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरुका कर्मचारीको उत्पादकत्व कस्तो छ ? भनेर सन्देश दिने उद्देश्यले यो रिपोर्ट तयार पारेका छौं ।

बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरणमा उल्लेखित खुद नाफालाई सोही अवधिको कर्मचारी खर्चले भाग गरेर कर्मचारीको उत्पादकत्व निकालिएको हो । अर्थात्, यहाँ प्रस्तुत गरिएको कर्मचारीको उत्पादकत्वले १ रुपैंयाँ कर्मचारी खर्च बराबर बैंकले कति नाफा कमाउँछ भन्ने तथ्य उजागर गर्छ ।

इन्भेष्टमेन्ट बैंक पहिलो

नेपालका बाणिज्य बैंकहरु मध्ये सबैभन्दा धरै उत्पादकत्व भएका कर्मचारी नेपाल इन्भेष्टमेन्ट बैंकसँग छन् । उनीहरु माथि १ रुपैंयाँ खर्च गरेर बैंकले ५ रुपैंयाँ ४६ पैसा आम्दानी गर्छ ।

एनसीसी बैंक अन्तिम

४ वटा विकास बैंकहरुलाई मर्ज गरेर भर्खरैमात्र संयुक्त कारोबार थालेको एनसिसि बैकका कर्मचारी सबैभन्दा अनुत्पादक देखिएका छन् । उनीहरु माथि १ रुपैंयाँ खर्च गरेर बैंकले ३० पैसा मात्र नाफा कमाउन सकेको छ । धेरै संस्था मर्ज गरेर ठूलो भएको बैंकको आगामी दिनको प्रमुख चुनौती नै कर्मचारी ब्यवस्थापन देखिएको छ ।

सरकारी बैंकको हालत उस्तै

सरकारी बैंकहरु राष्ट्रिय बाणिज्य बैंक र कृषि बिकास बैंकका कर्मचारी पनि उत्पादकत्वको सन्दर्भमा निकै कमजोर देखिएका छन् । यी बैंकहरुमा प्रबिधिको चुस्त प्रयोग र बलियो आन्तरिक ब्यवस्थापनको खाँचो देखिएको छ । नेपाल बैंकका कर्मचारी भने यी दुई बैंकको तुलनामा थोरै सबल देखिएका छन् । यद्यपि निजी क्षेत्रका प्रवद्र्धकहरुले सञ्चालन गरेको बैंकहरुको तुलनामा सरकारी बैंकका कर्मचारीको उत्पादकत्व निकै कमजोर छ । यो तथ्यले सरकारी कर्मचारीहरुमा ‘सरकारी काम, कहिले जाला घाम’ भन्ने मनोवृत्ति विद्यमान रहेको प्रष्ट पार्छ ।

काम लगाउने व्यक्तिले पनि कर्मचारीको तलब/भत्ता सन्तोसजनक छ कि छैन भनेर हेर्दैन मैले तलब दिएको छु उसले जे पनि गर्नपर्छ भन्ने धारणा राख्छ

इन्भेष्टमेन्ट बैंकपछि प्राइम कर्मसियल र नबिल बैंकका कर्मचारी चुस्त देखिएका छन् । उनीहरु आफूमाथि खर्च भएको १ रुपैंयाँ बराबर बैंकलाई क्रमशः ४.९८ र ४.१६ रुपैंयाँ नाफ दिन्छन् । यसै गरी प्रभु, सानिमा र सिद्धार्थका कर्मचारी पनि अब्बल देखिएका छन् ।

जनशक्ति व्यवस्थापनमा नेपालीहरु कमजोर

कर्मचारीको उत्पादकत्व बढीभन्दा बढी राख्नु त्यहाँ कार्यरत उच्च व्यवस्थापनको कुशल व्यवस्थापकीय कला भएको जनशक्ति व्यवस्थापनसम्बन्धी काम गर्दै आएका मोहन ओझा बताउँछन् । ओझाले ग्रोथ सेलर्स नामक संस्था स्थापना गरी जनशक्ति व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएका छन् ।

उनका अनुसार जनशक्ति व्यवस्थापनमा नेपालीहरु कमजोर भएको तर्क छ । जसकारण अन्य देशको तुलनामा नेपालका कम्पनीहरुमा कार्यरत कर्मचारीको उत्पादकत्व पनि कम छ ।

अन्य क्षेत्रभन्दा बैंकका कर्मचारीको उत्पादकत्व कम

त्यसमा पनि अन्य निजी क्षेत्रसँग तुलना गर्दा नेपालको बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरुको उत्पादकत्व कम भएको उनको ठम्याई छ ।

‘बैंकका कर्मचारीले पाउने तलब/भत्ता र सेवा/सुविधाको तुलनामा अन्य निजी क्षेत्रका कर्मचारीको तलब÷भत्ता र सेवा/सुविधा निकै कम छ, यस अर्थमा निजी क्षेत्रका कर्मचारीहरुको उत्पादकत्व बढी देखिन्छ,’ ओझाले क्लिकमाण्डूसँग भने ।

कुनै एक संस्थामा राम्रो उत्पादकत्व दिइरहेको कर्मचारी अर्काे संस्थामा गएपछि उत्पादकत्व दिनै नसकेका प्रसस्तै घटनाहरु पनि भेटिएको उनले सुनाए ।

‘कर्मचारीको उत्पादकत्वले त्यो संस्थाका उच्च व्यवस्थापन तहमा काम गर्ने व्यवस्थापनकहरुको क्षमता कस्तो छ भन्ने पनि प्रष्ट पार्छ,’ उनले भने ।

एटिच्यूड नै गलत

नेपालीहरुको एटिच्यूड नै समस्या भएकाले कर्मचारीको उत्पादकत्व कमजोर भएको उनको निष्कर्श छ ।

‘कर्मचारीहरुमा जागिरे मनोवृत्ति छ । त्यसैले उनीहरु कम काम गरेर धेरै तलब/भत्ता तथा सेवा सुविधाको अपेक्षा गर्छन्,’ ओझा भन्छन्, ‘उता काम लगाउने व्यक्तिले पनि कर्मचारीको तलब/भत्ता सन्तोसजनक छ कि छैन भनेर हेर्दैन मैले तलब दिएको छु उसले जे पनि गर्नपर्छ भन्ने धारणा राख्छ,’ ओझाले भने ।

यसरी बढाउन सकिन्छ उत्पादकत्व

ओझाका अनुसार कम्पनीको उच्च व्यवस्थापनले आफ्ना कर्मचारीहरुको उत्पादकत्व बढाउनका लागि पहिलो कुरा कर्मचारीहरुको मनोभाव बुझेर ‘राइट म्यान राइट पोस्ट’ दिनुपर्छ । त्यति गरेरमात्रै कर्मचारीको उत्पादकत्व बढ्दैन, उत्पादकत्व बढाउन कर्मचारीहरुमा लगानी पनि गर्न सक्नुपर्छ । जसको प्रयोग नेपालमा प्रभावकारीरुपमा हुन सकेको छ ।

कम्पनीले आफ्ना कर्मचारीको बारेमा सोचेर मात्रै पनि हुँदैन । कर्मचारीले पनि कम्पनीको बारेमा सोच्नु पर्छ । आफ्नो वृद्धि विकासको बारेमा सोच्नुपर्छ ।

‘यी दुबै कुरा मिले भने त्यो कम्पनीका कर्मचारीको उत्पादकत्व अत्यधिक हुन्छ, यही कुरा मिलाउने दायित्व उच्च व्यवस्थापनको क्षमता हो,’ उनले भने ।

यसका अलावा कम्पनीले प्रयोग गर्ने प्रविधि, कर्मचारीलाई प्रोत्साहन गर्न सक्ने क्षमता, चुस्त ब्यवस्थापकीय शैली, पुरस्कार र दण्डको उचित प्रयोगलगायतले पनि कर्मचारीको उत्पादकत्वमा धेरै फरक पार्छ ।

लगानीकर्ता र कर्मचारीको उत्पादकत्वबीच सम्बन्ध

लगानीकर्ताले कुनै पनि कम्पनीमा लगानी गर्दा ख्याल गर्नु पर्ने अन्य धेरै सूचकहरु मध्ये कम्पनीका कर्मचारीको उत्पादकत्वमा पनि बिशेष ध्यान दिनुपर्छ । खुसी र मिहेनती कर्मचारी भएको कम्पनीमा लगानी गरे लगानी डुब्ने जोखिम कम हुन्छ ।


पुष्प दुलाल