सडक पिच गर्न ललितपुर फस्ट, टेकु लास्ट



काठमाडौं । काडमाडौं उपत्यकाको सडक पिच गर्नमा ललितपुर सबैभन्दा अघि देखिएको छ । सडक विभागले उपत्यकाका सडक पिच गर्न ५ वटा कार्यालय स्थापना गरि उनीहरुलाई दिएको जिम्मेवारीमा सबैभन्दा धेरै प्रगति गर्न सफल कार्यालय हो, डिभिजन सडक कार्यालय ललितपुर ।

ललितपुर डिभिजनले कार्यालयले लक्ष्यको ७४.२७ प्रतिशत काम सम्पन्न गरेको सडक विभागले जनाएको छ । विभागले ललितपुर कार्यालयललाई ३६.५० किलोमिटर सडक पिच गर्न गर्ने जिम्मा दिएको थियो । जसमध्ये २७.११ किलोमिटर सडक पिच भइसकेको सडक विभागका लेखा अधिकृत विष्णुप्रसाद न्यौपानेले क्लिकमाण्डूलाई जानकारी दिए ।

सडक विभागले समयमै सडक पिच गर्न नसक्दा ६ वर्षदेखि उपत्यकाबासीले धुवाँ-धुलोको सास्ती खेप्दै आएका छन् ।

उपत्यकामा सबैभन्दा कम काम गर्ने कार्यालय हो, टेकु सडक डिभिजन कार्यालय । डिभिजन कार्यालय टेकुले लक्ष्यको २२.७३ प्रतिशत मात्रै प्रगति गरेको न्यौपानेले बताए । टेकु कार्यालयले ४५.०५ किलोमिटर सडक पिच गर्ने जिम्मेवारी पाएको थियो । जसमध्ये हालसम्म १०.२५ प्रतिशत मात्रै पिच गरेको छ ।

न्यौपानेका अनुसार काठमाडौं उपत्यकामा २ सय ७९ किलोमिटर सडक पिच हुनुपर्नेमा हालसम्म १ सय २५ किलोमिटर सडक पिच भइसकेको छ । ०६७/६८ मा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपत्यकाको सडक साँघुरा भएको भन्दै सडक विस्तार गर्न भत्काएका थिए ।

ती भत्काइएका सडकहरु चालू आर्थिक वर्षभित्रै पिच गरिसक्ने सडक विभागको लक्ष्य छ । तर, ६ वर्षको अवधिमा ४५ प्रतिशत मात्रै काम सकिएको तथ्यले यसै वर्ष पिच सक्ने सरकारी लक्ष्य पुरा हुन्छ भन्नेमा शंका गर्न सकिन्छ ।

सडक विभागले समयमै सडक पिच गर्न नसक्दा ६ वर्षदेखि उपत्यकाबासीले धुवाँ-धुलोको सास्ती खेप्दै आएका छन् ।

त्यसैगरी, डिभिजन सडक कार्यालय मिनभवन, काठमाडौंले ७८.८६ किलोमिटर सडक पिच गर्नुपर्नेमा ३७.१३ किलोमिटर सडक पिच गरिसकेको छ । जुन लक्ष्यको तुलनामा ४७ प्रतिशत प्रगति हो ।

त्यस्तै, डिभिजन सडक कार्यालय भक्तपुरले २७.०६ किलोमिटर सडक पिच गर्नुपर्ने ९.९८ किलोमिटर सडक पिच गरिसकेको छ । जुन लक्ष्यको तुलनामा ३७ प्रतिशत प्रगति हो ।

उपत्यकाका १४ मिटरभन्दा माथिका सडकहरु कालोपत्रे गर्ने जिम्मा काठमाडौं उपत्यका सडक विस्तार आयोजना हेर्ने न्यौपानेले जानकारी दिए । आयोजनाले जिम्मेवारी पाएको ९१.४४ किलोमिटर सडकमध्ये हालसम्म ४०.८२ किलोमिटर पिच गरिसकेको छ । यो लक्ष्यको ४५ प्रतिशत हो ।

सडक विस्तारका क्रममा मुअब्जाका लागि घरधनीहरुले अदालतमा मुद्दा दायर गरेकाले र मेलम्ची खानेपानी आयोजनाका कारण विस्तारको कार्य प्रभावित भएको न्यौपाने बताउँछन् । मुद्दाको फैसला हुने वित्तिकै सडक निर्माणको कामले गति लिने उनको भनाई थियो ।


पुष्प दुलाल