केबलबाट टिभी हेर्नु भएको छ ? अब बैशाखदेखि चल्दैन




काठमाडौं । तपाईले केबल लाइन (एनालग) बाट घरमा टेलिभिजन हेर्दै आउनु भएको छ भने बैशाखदेखि केबलबाट टेलिभिजन हेर्न अब पाइने छैन । सरकारले केबल टेलिभिजनलाई डिजिटल प्रणालीमा लैजानको कानुन पारित गरिसकेको छ ।

सूचना तथा संचार मन्त्रालयले जारी गरेको सूचना अनुसार काठमाडौं, ललितपुर, पोखरा, विरगन्ज र बिराटनगरमा बैशाख १५ देखि केबल लाइनबाट टेलिभिजन हेर्न पाइने छैन । सरकारले राष्ट्रिय प्रसारण नियमावली २०५२ मा गरेको संसोधन अनुसार टेलिभिनलाई डिजिटल प्रणालीमा लगेको हो ।

बैशाखदेखि काठमाडौंमा यो व्यवस्था लागू हुनेछ । यस्तै अन्य चार सहरमा कात्तिकदेखि र देशभर भने २०७५ सालबाट यो व्यवस्था लागू हुनेछ ।

यो व्यवस्था लागू भएपछि हरेक टेलिभिजन हेर्नको लागि छुट्टै सेटअप बक्स जोड्नुपर्छ । यसले केबल व्यवसायको आम्दानी पनि बढाउने छ भने सरकारलाई पनि राजस्व बढाउने छ ।

मन्त्रालयले एनालग प्रणालीमा रहेका केबल अपरेटरलाई डिजिटलमा लग्नको लागि थप कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ । यसको लागि आवश्यक गर्ने हेडइण्डलगायतका उपकरणहरुमा लाग्ने कर छुटका लागि मन्त्रालयले सिफारिस गर्ने छ ।

सरकारले विदेशी डीटीएचलाई विस्थापित गरी नेपाली टेलिभिजन सेवाप्रदायक कम्पनीलाई नियमन गर्न डिजिटल प्रणालीमा लगेको हो । अहिले नेपालका केही पहाडी भेग र तराईमा विदेशी डीटीएचका माध्यमबाट विदेशी च्यानल खुल्लमखुल्ला सञ्चालन भइरहेका छन् । विदेशी डीटीएच प्रणाली अवैधरुपमा नेपाल भित्रिने हुनाले यसको प्रत्यक्ष प्रभाव कर संकलन तथा नेपाली व्यवसायीहरूलाई पर्ने गरेको छ । त्यसमा पनि विदेशी डीटीएचमार्फत् नेपाली च्यानल हेर्न सकिँदैन । यसलाई नियन्त्रण गर्न र केबलमार्फत् च्यानल सेवा सञ्चालन गरिरहेकालाई नियमन गर्न पनि डिजिटलमा जानुपर्ने थियो ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संगठनले सन् २०२० सम्म विश्वका हरेक मुलुक डिजिटलाईजेशनमा गइसक्नुपर्ने तथा त्यस देशका प्रसारण संख्याहरूको सिग्नल पनि डिजिटल हुनुपर्ने समयावधि तोकेको छ । संगठनले अतिकम विकसित मुलुकहरूलाई उक्त समयावधिसम्म टेलिभिजन प्रसारण सिंग्नल डिजिटल हुनुपर्ने समय तोकेको छ । जसको आधारमा नेपाल पनि डिजिटल प्रविधिमा जानै पर्ने बाध्यता छ ।

सूचना तथा संचार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले केबलबाट टेलिभिजन हेरेका ग्राहकले सेटअप बक्स लगाउनुपर्ने जानकारी दिए ।

‘एनालग प्रणाली रहेका केबल प्रणालीलाई डिजिटलमा लग्नको लागि समय दिएका छौ, स्थानीय रुपमा केबल चलाएका अपरेटरले डिजिटलमा गएका केबल कम्पनीको फ्रेन्चाइज लिएर चलाउन सक्छन्,’ ढकालले क्लिकमाण्डूसँग भने ।

के हो डीटीएच
डाइरेक्ट टु होम प्रविधि अन्तर्गत फ्रिक्वेन्सी सिग्नललाई डिस एन्टेनार सेटअप बक्सका माध्यमबाट सिधै घरको टेलिभिजनसम्म पु¥याइन्छ । स्याटलाइटमार्फत् आएको रेडियो सिग्नललाई कुनै हब हुँदै सेटअप बक्समा डाउन लिङ्क गर्ने प्रविधि नै डीटीएच हो । यसका लागि एउटा एन्टीना घरको छतमा र घरभित्र रिसिभर राखेपछि आफूले पैसा तिरेर हेर्न चाहेको च्यानल टेलिभिजनमा हेर्न सकिन्छ ।

डीटीएचका माध्यमबाट ग्राहकको इच्छा अनुसारका कार्यक्रम छनोटका साथै इच्छा अनुरुपका फिल्म तथा खेलका कार्यक्रम तथा च्यानलहरू आफूले रोजेर हेर्न तथा खेल्न सकिन्छ । आपूmलाई मन नपर्ने वा आवश्यक नभएका टेलिभिजन च्यानलहरू हटाएर ग्राहकले मन लागेका च्यानलहरू मात्र डीटीएच सेवा प्रदायकहरूबाट लिन सक्छन् । यसका अतिरिक्त डीटीएचका माध्यमबाट पाँच सयभन्दा बढी च्यानल हेर्न सकिने सुविधाका साथै व्यक्तिगत रेकर्डिङ्ग सुविधासमेत उपलब्ध हुन्छ ।


क्लिकमान्डु