बैंकका कारण मूल्य आकाशिने भयोः ब्यवसायी, ५ प्रतिशत ब्याज हुदा किन नघटाएकोः बैंकर



काठमाडौं । बैंकिङ क्षेत्रमा देखिएको तरलता (लगानी योग्य पूँजीको) अभावको समस्याले उपभोग्य बस्तुको मुल्य बृद्धि हुन्छ कि हुदैन भन्ने बिषयमा ब्यवसायी र बैंकरहरुले फरक फरक बिचार ब्यक्त गरेका छन् ।

ग्लोबल आइएमई बैंक र प्यासिफिक डेभलपमेन्ट बैंकको मर्जर पछिको संयुक्त कारोबारको उट्घाटन कार्यक्रममा ब्यवसायी र बैंकरले परस्पर बिरोधी बिचार ब्यक्त गरेका हुन् ।

ब्यवसायी एवं उद्योग बाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले तरलता अभावका कारण सर्वसाधारण जनताले आगामी दिनमा १४/१५ प्रतिशतसम्म मुल्य बृद्धिको मार खेप्नु पर्ने दाबी गरे ।

‘तरलता अभावको यस्तो परिस्थितिमा बैंकहरुले आफ्नो नाफामा कमी आउन नदिन ब्याज बढाउदै लगेका छन्, ब्यवसायीले बढेको ब्याज अनुसारको सामानको भाउ बढाउने नै छन्, यस्तो अबस्थामा मुल्य बृद्धिको मार खेप्ने आम जनताले नै हो’ उनले भने ।

बैंकका प्रमुख कार्यकारी अधिकृतहरु र नियामक निकाय नेपाल राष्ट्र बैंकका अधिकारीहरुले परिस्थितिको सही आंकलन गरि उपयुक्त कदम चाल्न नसकेको ब्यवसायी गोल्छाको भनाइ छ ।

गोल्छा पछि लगत्तै बोलेका नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष एवं मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले छोटो समयको लागि बढेको ब्याजदरले दीर्घकालीन रुपमा मुल्य बृद्धि नहुने बताए ।

‘ब्याजदरमा उतारचढाब आएको यो पहिलो पटक होइन, केही बर्ष अगाडि १४ प्रतिशतसम्म ब्याजदर पुगेको थियो भने ५ प्रतिशतमा झरेको पनि थियो, ब्याजदर ५ प्रतिशतमा झर्दा मुल्य झरेन भने अहिले १२ प्रतिशत पुग्दा पनि मुल्य बढ्दैन’ शाहले ब्यग्य गरे । ब्याजदर कम हुदा पनि ब्यवसायीले उपभोग्य बस्तुको मूल्य नघटाएकोप्रति शाहको ब्याग्य थियो ।


क्लिकमान्डु