विश्व ब्यापारिक युद्धः १० बर्षमै प्रबिधिले पछार्यो पेट्रोलियम र बैंकलाई



बिश्को आर्थिक तथा राजनीतिक अवस्था हेर्दा हामी अहिले इतिहासकै उतारचढावपूर्ण स्थितमा छौं जस्तो लाग्छ । राजनीतिमा उदारवादी लोकतन्त्रलाई चुनैती दिन उग्र राष्ट्रबाद उदाउँदै छ भने आर्थिक केन्द्र पश्चिमबाट पूर्व सर्दै गएको छ ।

आर्थिक क्षेत्र भित्र पनि नयाँ नयाँ क्षेत्रको उदय हुदैं छ । नयाँ आबिष्कार गर्ने र प्रबिधि संम्बन्धि काम गर्ने कम्पनीहरु उदाउँदै छन भने परम्परागत खालका कम्पनी तल झर्दै छन् । जस्तो, बिगत एक दशकमा बिश्वको ठूला कम्पनीमा प्रबिधि संम्बन्धी कम्पनीको बर्चश्व शुरु भएको छ । यस आलेखमा बजार पूँजीकरणका हिसाबले बिश्वका ठूला दश कम्पनी र त्यसको बर्तमान बिश्वमा अर्थ बारे चर्चा गरिनेछ ।

हामी यस्तो कालखण्डमा बाँचीरहेका छौं, जहाँ बिश्वका १० प्रतिशत भन्दा थोरै सार्वजनिक कम्पनीले ८० प्रतिशत भन्दा बढी नाफा कुम्ल्याउँछन् । यी कम्पनीहरु बजार पूँजीकरणका हिसाबले श्रेणीबद्ध गरिएका हुन् ।

अहिले विश्वको सबैभन्दा ठूलो कम्पनीहरुको १०औं स्थानमा चाइना मोबाइल नामक कम्पनी छ । २० बर्ष पुरानो यो कम्पनीमा ४ लाख ५० हजार हाराहारी कर्मचारी कार्यरत छन् । यो कम्पनी संसारभरमै सबैभन्दा ठूलो मोबाइल नेटर्वक र ग्रहक रहेको कम्पनी हो ।

अमेरिकाको जनरल इलेक्ट्रिक नवौं स्थानमा छ । १३९ बर्ष पुरानो यो कम्पनीमा ३ लाख ३३ हजार कर्मचारी कार्यरत छन् । बिश्बबिख्यात बैज्ञानिक थोमस एडिसनले सन् १८७८ मा एडिसन इलेक्ट्रिक लाइट कम्पनीको नाममा यो कम्पनीको शुरुवात गरेका थिए ।

नेपालमा समेत निकै चर्चित उपभोग्य बस्तु बनाउने अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सन आठौं स्थानमा छ । १ लाख २८ हजार कर्मचारीलाई रोजगारी दिने यो कम्पनी १ सय ३१ बर्ष अघि खुलेको थियो । यो कम्पनीले औषधीजन्य पदार्थ उत्पादन गर्छ ।

१३ बर्ष अघिमात्र खुलेको र सन् २०१६ को अन्त्यसम्म करीब १ अर्ब ८० करोड प्रयोगकर्ता भएको अमेरिकी कम्पनी फेसबुक सातौं स्थानमा छ । फेसबुकमा करीब १६ हजार कर्मचारी कार्यरत छन् ।

अनलाइन ब्यापारको बादशाह अमेजोन २२ बर्ष अघि खुलेको अमेरिकी कम्पनी हो । हाल बजार पूँजीकरणका हिसाबले विश्वको छैठौं नम्बरमा रहेको यो कम्पनीमा करीब २ लाख २५ हजार कर्मचारी कार्यरत छन् । अनलाइनबाट किताब बेच्नका लागि शुरु गरिएको यो कम्पनीले अहिले छातादेखि जुत्तासम्म सबै सामान बेच्ने गर्छ । गत बर्ष ४९ मिनेटका लागि सेवा बन्द गर्दा अमेजोनले ५७ लाख डलरको कारोबार गुमाएको थियो ।

पाँचौ नम्बरमा तेल र ग्यास बेच्ने कम्पनी इक्सोन मोबिल छ । ७३ हजार ५ सय जना काम गर्ने यो अमेरिकी कम्पनी १३५ बर्ष अघि खुलेको हो । यो संसारकै सबैभन्दा ठूलो तेल तथा ग्यास प्रसोधन कम्पनी हो ।

सेयर बजारका बादशाह वारेन बफेटको कम्पनी र्वकसायर हाथवे चौथो स्थानमा छ । १२८ बर्ष अघि खुलेको यो कम्पनीमा ३ लाख ६० हजार कामदार कार्यरत छन् ।

बिश्वकै सबैभन्दा धनाड्य ब्यक्ति बिल गेट्सले ४२ बर्ष अघि खोलेको कम्पनी माइक्रोसफ्ट यस सूचीको तेस्रो स्थानमा छ । ग्यारेजबाट शुरु गरिएको यो प्रबिधि कम्पनी सन् १९७५ मा खुलेको हो ।

२ बर्ष अघि गुगलको सहायक कम्पनीको रुपमा खुलेको अल्फाबेट नाम गरेको कम्पनी दोस्रो स्थानमा छ । यो कम्पनीमा ७० हजार कामदार कार्यरत छन् । मेडिकल अनुसन्धान र वेरेबल प्रबिधिको क्षेत्रमा रुची राख्ने कम्पनीहरु मिलाएर यो कम्पनी खोलिएको हो ।

विश्वको पहिलो स्थानमा चर्चित कम्पनी एप्पल छ । ४१ बर्ष अघि स्टिभ जब्सले कार ग्यारेजमा शुरु गरेको यो कम्पनीमा अहिले ६६ हजार जना कार्यरत छन् । यो कम्पनीको कुल सम्पत्ति ६०५ अर्ब डलर हाराहारी छ । तर, सन् २०१६ देखि एप्पलको सबैभन्दा चर्चित उत्पादन आइफोनको बिक्री घट्दो क्रममा छ ।

विश्व ब्यापारिक युद्धमा प्रबिधिसँग सम्बन्धित कम्पनीको बाहुल्यता देखिएको छ । तर, दश बर्ष अघि, अर्थात २००६ मा भने स्थिति फरक थियो । त्यो सूचीमा प्रबिधिसँग सम्बन्धित जम्मा एउटा कम्पनी (माइक्रोसफ्ट) थियो ।

१० बर्ष अघि विश्व ब्यापारिक युद्धमा बैंक र पेट्रोलियम पदार्थ प्रसोधन कम्पनीको बाहुल्यता थियो । सन् २००६ सम्ममा बैंक अफ अमेरिका, सिटी ग्रुप र एचएसविसी बैंकको दबदबा विश्वभर देखिन्थ्यो ।

यस्तै पेट्रो चाइना, विपी र रोयल डचसेल कम्पनी विश्व बजारमा ठूला कम्पनीको सुचीमा थिए । सन् २०१६ को सूचीमा भने दश कम्पनी मध्ये पाँच कम्पनी प्रबिधिको क्षेत्रसँग सम्बन्धित छन् ।

दश बर्षको दौरान यस्तो सूचीमा आएको फरक समग्र बिश्व अर्थतन्त्रमा आएको परिर्वतनको ऐना हुन सक्छ । यी दुई सूचीले दिएको संदेश के हो भने अबको बिश्व धेरै प्रतिस्पर्धात्मक भैसकेको छ । र, यसमा खरो उत्रिनका लागि नयाँ नयाँ आबिष्कार अपरिहार्य भैसकेको छ ।

यहाँ दुवै सूचीले अमेरिकी कम्पनीका बाहुल्यता देखाउँछन । र, अमेरिका अझै बिश्व महाशक्ति भएको पुष्टि गर्छन् । तर, अहिले आर्थिक र राजनीतिक केन्द्र एसियातिर सर्दै गरेको अवस्थामा आगामी १० बर्षमा प्रकाशित हुने यस्तै सूचीमा चिनीयाँ र भारतीय कम्पनीका बाहुल्यता भएमा अचम्म मान्नुपर्ने छैन । एजेन्सीको सहयोगमा


क्लिकमान्डु